
साप्ताहिक संवाददाता
- गोपाल ढकाल, छन्दे, हास्यकलाकार
पुस्तक : सेतो धरती
वर्तमान समयमा पनि विधवा नारीहरूले नेपाली रूढिवादी समाजको सोचका कारण आफ्ना इच्छा–आकांक्षा दबाउनुपरेको, पिल्सिनुपरेको, पीडित हुनुपरेको कुरालाई यो पुस्तकमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
चलचित्र : नाइँ नभन्नु ल–२
यो चलचित्रले बालमनोविज्ञानलाई सही ढंगले चित्रण गर्नुका साथै हरेक उमेरका दर्शकको मन जित्न सफलता प्राप्त गरेको छ ।
अभिनेता : राजेश हमाल
बौद्धिक एवं अनुभवी कलाकार राजेश हमाल नै हुन् । धेरै वर्षसम्म नेपाली चलचित्र क्षेत्रमा राज गर्न सफल हुनुका साथै प्रशंसायोग्य व्यक्ति पनि उनी नै हुन् ।
अभिनेत्री : झरना थापा
सरल स्वभावकी यी अभिनेत्री सबैसँग मीठो बोल्ने तथा कामको पक्का हुनुका साथै दु:खमा नआत्तिने र सुखमा नमात्तिने खालकी छिन् ।
गीत : मर्ने कसैलाई रहर हुँदैन
गीतकार डा. कृष्णहरि बरालको यो गीतमा हरेक व्यक्तिको वास्तविकता झल्कन्छ । यसको सांगीतिक पक्ष पनि उत्तिकै आकर्षक छ ।
गायक : नारायणगोपाल
समयको फड्कोसँगै स्वरसम्राट् स्व. नारायण गोपालका गीतहरू अझ सदावहार हुँदैछन् । शब्द चयन, सुमधुर संगीत तथा कर्णप्रिय स्वरका कारण उनका हरेक गीतमा मार्मिकता तथा सन्देश फेला
पार्न सकिन्छ ।
गायिका : अरुणा लामा
यी गायिकामा माधुर्यता, शब्दमा मार्मिकताका साथै गीतको भावलाई गहिराइमा डुबेर गाउन सक्ने क्षमता छ ।
हास्य कलाकार : मह जोडी
मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य एक–अर्काका परिपूरक हुन् । जातीय रूपले ब्राह्मण तथा नेवारको संयोजनका साथै हरेक समयअनुसार आफूलाई सँगसँगै लान सफल तथा कलाकारिताको हरेक विधामा पोख्त छ यो जोडी ।
मौसम : वसन्तु ऋतु
वसन्त ऋतुलाई मौसमहरूको राजा नै मानिन्छ । प्रकृति नै रमाइलो हुन्छ यो मौसममा । हरियालीको बाहुल्यता हुने यो मौसममा आनन्द महसुस हुन्छ ।
रंग : कालो
गहुँ गोरो अनुहारमा कालो रंग एक्स्ट्रा देखिन्छ भने मेरो शरीरमा कालै रंगको पहिरन सुहाउँछ ।
सवारी साधन : मोटरसाइकल
अन्य सवारी साधनभन्दा मोटरसाइकल नै सजिलो लाग्छ । समयको सदुपयोग, काम गर्न पनि छिटो ।
चाडपर्व : तिहार
हिन्दूहरूको महान् चाड हुनुका साथै दाजुभाइ, दिदीबहिनीको सम्बन्धमा विशेष भूमिका निर्वाह गर्ने चाड पनि तिहार नै हो ।
स्थान : पोखरा
सफा र सुग्घर, पर्यटकीय क्षेत्र, रमाइलो वातावरण, तालै तालको सहर, हिमालको काखमा अवस्थित, भीडभाड र फोहोर कम हुनुका साथै मनमोहक प्राकृतिक दृश्यले भरिएको सहर पोखराको अर्को विकल्प छैन ।
