सुन्दा अचम्म लाग्न सक्छ, कोही कसैले आफ्नै लिंग टुई टुक्रा बनाउन सक्छ भन्दा, तर मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले अघिल्लो बुधबार आफ्नै लिंग काटेर दुई टुक्रा बनाए ।
तरकारी काट्ने चक्कुले लिंग छिनाएपछि उनको अवस्था गम्भीर भयो । उनलाई तत्काल स्थानीय बासिन्दाले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याए । प्रहरीले यो घटनालाई अनौठो मानेर अनुसन्धान अघि बढायो । राईको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान पठाइएको छ ।
बुवा बुमा राईले प्रहरीलाई दिएको जानकारीअनुसार सुनिलले कहिलेकाहीं असामान्य व्यवहार देखाउने गरेका थिए । जन्डिससम्बन्धी पुरानो समस्याले ग्रस्त राईले मादक पादार्थ सेवन भने नियमित गर्ने जानकारी बुमाले प्रहरीलाई दिएका छन् । नियमित मापसेकै कारण जन्डिस निको नभएको र त्यसपछि सुनिलले असामान्य व्यवहार देखाउन थालेको बताइएको छ । बुमाले छोरा सुनिल केही समयदेखि एकोहोरो भएर टोलाइरहने र कहिले काहीं घर छाडेर हिंड्ने गरेको जानकारी दिएका छन् ।
बुमा राईका अनुसार उनका छोरा सुनिल सधैं एकोहोरो भैरहन्थ्यो । कहिलेकाहीं घर छाडेर हिंडेपछि फर्किएर आउँदैनथ्यो । परिवारका सदस्यहरूले खोजी गरेर ल्याउने गरेका थियौं, तर आज एक्कासि यो घटना आफैंले गराएको देखेर हामी पनि अचम्मित भयौं ।’ इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाले कहिलेकाहीं असामान्य व्यवहार देखाउने राईले अनौठो घटना गराएको साप्ताहिकलाई बताए । चार वर्षअघि विवाह गरेका सुनिलका ३ वर्षका छोरा पनि छन् । प्रहरीका अनुसार सुनिलको पारिवारिक सम्बन्ध भने राम्रो छ ।