
साप्ताहिक संवाददाता

अभिनेत्री दीपशिखा खड्का बेला–बेलामा चर्चामा आइरहने नाम हो । सोसल साइटमा समेत उत्तिकै सक्रिय दीपशिखा यतिबेला एउटा नयाँ कामका कारण चर्चामा छिन् ।
आफ्नै लगानीमा निर्माण भैरहेको चलचित्र ‘प्रेमलीला’ का लागि दीपशिखाले आफ्नो केश मुण्डन गरेकी छिन् । उनको यो कदमलाई उनका सहकर्मी कलाकारहरूले साहसको काम भन्दै प्रशंसा गरेका छन् ।
अघिल्लो साता मात्र चलचित्रका लागि ‘जाने क्या हुवा’ शीर्षकको हिन्दी गीतको छायांकनमा सहभागि भएकी दीपशिखाले केश मुण्डन गर्ने कारण भने खुलाएकी छैनन् । चलचित्रकै लागि केश मुण्डन गरेकी हुँ भन्ने त बुझिसक्नु भयो होला, दीपशिखाको भनाइ छ– चलचित्र प्रदर्शन भएपछि मैले केश मुण्डन गरेको कारण सबैले बुझ्नुहुनेछ ।