
साप्ताहिक संवाददाता

गत जेठमा ‘जात्रै जात्रा’ ले गज्जबको ब्यापार गरेपछि खासै चलचित्र चलेनन् । धेरै चलचित्र डुबे । निर्माता घरबार बिहिन भए । यहि शुक्रवारबाट प्रदर्शन भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले भने गज्जबको ब्यापार गरिरहेको छ । अधिकांश हल भरिभराउ छन् ।
दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको यो चलचित्रलाई कतिपय समिक्षकले खासै चित्त बुझाएनन् । तथापी, दर्शकलाई मन परेपछि कसको के लाग्छ र ?
प्रदर्शनको पहिलो दिन १ करोड ४७ लाख रुपैयाँको व्यापार गर्दै वर्षकै सबैभन्दा बढी ओपनिङ कमाई गरेको यो चलचित्रले दोस्रो दिन १ करोड ७८ लाखको ब्यापार गरेको वितरक कम्पनी स्टेशन फाइभले जनाएको छ । आज तेस्रो दिन यो चलचित्रको ब्यापार ४ करोडमाथी पुगेको छ । साँझसम्मको रिपोर्ट सार्वजनिक नभएपछि विहानसम्मको टिकट विक्री अनुसार यो चलचित्रको आजको कमाइ हिजोका दिनमा जस्तै रहेकाले यसको ब्यापार साढे चार करोडको हाराहारीमा पुग्न सक्ने निर्देशक रामबाबु गुरुङले बताए ।
आइतबार र शनिबार चलचित्र यूनिट राजधानीका विभिन्न हल पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेको थियो ।
अभिनेता दयाहाङ राई, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल तथा निर्देशक रामबाबु गुरुङ लगायतको टिम आजपनि विभिन्न हलमा पुग्ने जनाइएको छ ।
माउथ पब्लिसिटीका कारण यो चलचित्रले निकै राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।