बुधबार इरफान खानको निधनले दिएको चोट निको नहुँदै बिहिबार बलिउडले अर्को चोट सहनुपर्यो– ऋषि कपुरको निधन । अर्थात् २४ घन्टाको अन्तरमा अभिनयका दुई हस्ती गुमाएर बलिउड अहिले ठूलो शोकमा परेको छ ।
बुधबार खानको निधन विश्व सिनेमा र थिएटरका लागि ठूलो क्षति भन्दै ट्विट गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि सायद बिहिबार यस्तो लेख्न मन थिएन– ‘बहुआयमिक, प्रिय र जीवन्त...यि थिए ऋषि कपुर । उनी प्रतिभाका पावरहाउस थिए । म सधैँ उनीसँग सोसियल मिडियामार्फत गरेका बातचितहरु सम्झन्छु । उनी फिल्म र भारतको प्रगतिलाई लिएर सधैँ उत्साही थिए । आज उनको निधनले दुःखी छु ।’
संयोग, बलिउडका यि दुई फरक पहिचानसहित हिडिरहेका अभिनेताको अन्त्येष्टी २०–२५ जनाको मलामीमै सिमित रह्यो । कोरानाको महामारी र लकडाउनका कारण प्रत्यक्ष रूपमा उनीहरूप्रति प्रेम र शोक प्रकट गर्न नपाउँदा लाखौं प्रशंसक दुःखी भए ।
पत्रकार मिना ऐरसँग मिलेर ऋषि कपुरले निकालेको संस्मरण ‘खुलमखुल्ला’मार्फत आफ्नो जीवनका सुःखदुःख, कमी–कमजोरी, आरोह–अवरोह, प्रेम, गल्ती सबै कुरालाई खुलेर सार्वजनिक गरिसकेका छन् । त्यसैले उनलाई नजिकबाट चिहाउन चाहनेलाई यो पुस्तक उपयुक्त हुनसक्छ ।
बलिउडमा ऋषि ‘रोमान्सका बादशाह’ भनेर चिनिन्थे । फिल्ममा संगीत र नृत्यका कारण पनि उनी प्रख्यात थिए । सन् १९७० देखि ९०को दशकसम्म बनेका थुप्रै बलिउड फिल्मका सुपरहिट गीतमा उनकै अनुहार छ । यसकारण पनि उनी थुप्रै दर्शकको स्मृतिमा ति सदाबहार गीतसँगै प्रिय बनेर बसेका छन् । ‘मै साहिर तो नही’, ‘ये वादा रहा’, ‘चल कही दुर निकल जाए’, ‘डफली वाले डफली बजा’ देखि ‘हमने तुमको देखा’ भन्दा पछि पनि ।
कपुर खान्दान भारतमा बलिउडकै लागि प्रतिबद्ध भनेर स्थापित छ । ऋषिका हजुरबुबा पृथ्वीराज कपुर भारतीय थिएटरका पायोनियर मानिन्छन् जसले ट्राभलिङ थिएटर कम्पनी स्थापना गरेका थिए । ऋषिका बुबा राज कपुर बलिउडका चर्चित निर्देशक तथा अभिनेता थिए । उनलाई भारतीय सिनेमाको ‘शोम्यान’ पनि भनिन्थ्यो ।
राज कपुर र कृष्णा राज कपुरको दोस्रो सन्तानका रूपमा सन् १९५२ मा जन्मिएका ऋषिका दुई भाइ रन्धिर र राजिव, अंकलहरू शमी र शशी कपुर, प्रेमनाथ र प्रेम चोपडा सबै परिचित कलाकार नै हुन् ।
सन् १९८० मा आफ्नै को–स्टार नितु सिंहसँग बिहे गरेका ऋषिका पुत्र रणविर कपुरले पनि अहिले बलिउडमा स्टार अभिनेताको परिचय बनाइसकेका छन् ।
परिवारमाझ ‘चिन्टु’को सम्बोधनबाट प्रिय ऋषि पहिलोपल्ट सिनेमामा देखिएको भने आफ्नै पिताले निर्देशन गरेको ‘श्री ४२०’बाट हो । उनी तीन वर्षको छँदा उनका पिताले उनलाई ‘पासिङ सर्ट’मा देखाएका थिए ।
तर, सन् १९७० मा उनकै पिताको निर्देशनमा बनेको ‘मेरा नाम जोकर’लाई बलिउडमा ऋषिको डेब्यू फिल्म मानिन्छ । जोकरको कथामाथि बनेको यो फिल्ममा उनी बालकलाकारको भूमिकामा देखिएका थिए ।
जतिबेला उनले यो फिल्ममा अभिनय गरे, त्यतिबेला स्कुल पढ्दै थिए । त्यसैले उनका पिताले फिल्ममा लिनुअघि पत्नीको अनुमति मागेका थिए । उनले छोरालाई पढाइ नबिगार्ने सर्तमाअभिनय गराउन अनुमति दिएकी थिइन् । यो थाहा पाएपछि ऋषिले अटोग्राफ दिनका लागि हस्ताक्षर अभ्यास सुरु गरेको उनले आफ्नै पुस्तकमा उल्लेख गरेका छन् ।
ऋषिको पहिलो फिल्म ‘मेरा नाम जोकर’ बक्सअफिसमा नराम्रोसँग चिप्लियो तर यही फिल्मबाट उनले बालकलाकारका रूपमा नेसनल अवार्ड पाए । ‘कलाकारको जीवनमा नेसनल अवार्डको कस्तो महत्व हुन्छ, त्यो मलाई थाहा थिएन । तैपनि म त्यतिबेला खुशीले गदगद् थिए,’ ऋषिले ‘खुलमखुल्ला’मा लेखेका छन् ।
फिल्म रिलिज भएको तीन वर्षपछि ऋषिले पिताकै अर्को फिल्म ‘बोबी’बाट पहिलोपल्ट लिड रोलमा अभिनय गर्ने मौका पाए । फिल्ममा धनाढ्य व्यापारीका छोरासँग विपन्न परिवारकी बोबी (डिम्पल कपाडिया)को सम्बन्ध–कथा थियो । ऋषिले फिल्ममा त्यसबेला बोबीलाई पछाडि राखेर रोयल इन्फिल्ड मोटरबाइकमा कुदाएको दृश्यको चर्चा बलिउडमा आज पनि हुने गर्छ ।
यो म्यूजिक लभस्टोरी फिल्म बक्सअफिसमा हिटमात्रै भएन, ऋषिको करिअरलाई नै अर्को उचाइमा पुर्याइदियो । जतिबेला भारतीय अभिनेताहरु ‘एंग्री योङ म्यान’ र ‘ट्रयाजिक हिरो’को भूमिकामा पर्दामा छाइरहेका थिए, त्यतिबेला ऋषिको रोमान्टिक इन्ट्री दर्शकले खुब रुचाए ।
आफ्नो आत्मकथामा ऋषि स्वयम्ले स्वीकारेका छन्, ‘सन् १९७० देखि १९९० को दशकसम्म दर्शकमाझ मेरो रोमान्टिक स्टारको छवि थियो जो जर्सी पहिरनमा हातमा गीतार बोक्दै छेउमा युवती राखेर धून गुनगुनाउँछ ।’
एक्सन फिल्मको जमानामा आफू रोमान्टिक हिरोका रूपमा स्थापित भएकोमा उनले आफूलाई सधैँ गौरवान्वित महसुस गरे ।
‘बोबी’पछि लगातार सन् १९९० को दशकसम्म ऋषि रोमान्टिक हिरोका रूपमा निरन्तर छाए । ऋषिका आलोचकहरू उनलाई सधैँ आरोप लगाउँथे– फिल्म परिवारबाट आएका कारण यसलाई सजिलो भयो ।
यसमा उनको विमति छैन् तर पुरा सहमति पनि होइन । पुस्तकमा उनले यसको जवाफ दिएका छन्, ‘यो सत्य हो कि फिल्म इन्डष्ट्रीमा मैले सहज प्रवेश पाएँ । यो पनि सत्य हो, मैले प्रसिद्धि र भाग्यका लागि संघर्ष गर्नुपरेन । तर, मेरो असाधारण पारिवारिक विरासतले पनि मलाई मेरो जीवनको वास्तविकतासँग बचाउन सकेन । लिड क्यारेक्टरका रुपमा मेरो सफलतापूर्ण डेब्यू भइसकेपछि पनि मसँग त्यस्तो कुनै जादुको छडी थिएन, जसकारण मैले ब्लकबस्टर हुने फिल्म पाइरहुँ । त्यसपछि पनि कडा निराशा र हारले मेरो प्रतीक्षा गरिरह्यो र मैले केही गर्न सकिनँ ।’
उनको यो अभिव्यक्ति ‘बोबी’पछि रिलिज भएको फ्लप सिनेमा ‘जहरिला इन्सान’प्रति इंगित थियो । जसले उनलाई त्यतिबेला निराश बनाएको थियो । त्यसपछि रिलिज भएको ‘रफू चक्कर’ पनि खासै हिट भएको थिएन ।
ऋषिबारे बलिउडमा अर्को एउटा प्रश्न उठ्ने गथ्र्यो– फिल्ममा अभिनय गरेवापत अरू एक्टरले जसरी तपाईका बुबाबाट पारिश्रमिक किन लिनुहुन्न ? ‘मेरो पापासँग काम गर्न पाउनु नै मेरोलागि सबैभन्दा ठूलो पारिश्रमिक हो, जेजति उहाँले मेरो लागि गर्नुभयो र जेजति सिकाउनुभयो त्यसको कुनै मूल्य छैन,’ त्यसरी प्रश्न गर्नेहरुप्रति उनको जवाफ सधैँ यही हुन्थ्यो ।
ऋषिले आफ्नो पुस्तकमा खुलासा गरेअनुसार उनको बुबा छोरा पनि आफूजस्तै अभिनेतासँगै निर्देशक भएको हेर्न चाहन्थे । ‘पापा मैले प्रेमरोग निर्देशन गरेको हेर्न चाहनु हुन्थ्यो,’ उनले पुस्तकमा लेखेका छन्, ‘तर, म त्यतिबेला कलाकारका रूपमा यति धेरै व्यस्त थिए कि निर्देशनको तयारी गर्न कहिल्यै फुर्सद मिलेन ।’
ऋषि अभिनय करिअर सुरु गरेको तीन दशकपछिको समयलाई आफ्नो दोस्रो विनिङ मान्थे । कारण, त्यसपछि उनको रोमान्टिक हिरोको छवि परिवर्तन भयो ।
त्यसपछि उनी पर्दामा रोमान्टिक हिरो होइन, क्यारेक्टर आर्टिस्टका रूपमा देखापर्न थाले । सन् २००४ को ‘हम तुम’मा विरक्त पति, सन् २०१२ को ‘स्टुडेन्ट अफ दि इयर’मा गे डिन, ‘अग्निपथ’मा दलाल, सन् २०१३ को ‘डि–डे’मा डन दाउद इब्राहिम, सन् २०१६ को ‘कपुर एन्ड सन्स’मा ‘नट्टी नाइन्टी इयर’ वृद्धको भूमिका आदि यसका उदाहरण हुन् ।
फिल्म समीक्षक एवम् निर्देशक दीपेन्द्र लामालाई जीवनको उतराद्र्धमा आएपछि ऋषिले निर्वाह गरेका भूमिका झन् सम्झन लायक लाग्छ । लामा भन्छन्, ‘ऋषि कपुर आफ्नो करियरको उत्तराद्धमा दर्शकमाझ लोकप्रिय रहन सफल अभिनेता हुन् । सन् २००० पछिका फिल्महरू जस्तै फना, दिल्ली ६, लभ आजकल, दो दुनी चार, अग्निपथ, शुद्ध देशी रोमान्स, कपुर एन्ड सन्स लगायतमा उनले आफ्नो अभिनयको जादू अझ खारिलो रूपमा पस्केका छन् ।’
खेलखेल मै (१९७५), कभी कभी (१९७६), लैला मजनु (१९७६), अमर अकबर एन्थोनी (१९७७), कज (१९८०), चाँदनी (१९८९) आदि उनले हिरोको भूमिका निर्वाह गर्दा रुचाइएका फिल्म हुन् । सन् २००० पछि उनले क्यारेक्टर आर्टिस्टका रूपमा काम गरेका लभ आजकल (२००९), अग्निपथ (२०१२) र मुल्क (२०१८)को भूमिकालाई समीक्षकले समेत तारिफ गरे । सन् २०१० मा ‘दो दुनी चार’को अभिनयबाट त उनले बेस्ट एक्टरको फिल्मफेयर क्रिटिक्स अवार्ड नै जिते । त्यस्तै ‘कपुर एन्ड सन्स’बाट पनि बेस्ट सपोर्टिङ एक्टर फिल्मफेयर अवार्ड हात पारेका थिए । ‘दामिनी’मा उनले निर्वाह गरेको भूमिकाको समेत प्रशंसा नै भएको थियो । र, यसरी लामो समय बलिउडमा उपस्थिति जनाएका ऋषिको सन् २०१९ मा रिलिज भएको ‘द बडी’ रिलिजका हिसाबले अन्तिम फिल्म बन्यो । अमेरिकामा उपचार गरेर फर्किएपछि उनले अभिनय गरेको ‘शर्माजी नमकिन’ सुटिङ सकिएको थिएन । त्यसपछि उनले दीपिका पादुकोणसँग स्क्रिन सेयर गरेर हलिउड फिल्म ‘दि इन्टर्न’को बलिउड रिमेकमा खेल्ने घोषणा गरेका थिए । तर, दुवै फिल्म खेल्ने सपना उनको अधुरै भयो ।
ट्विटरमा साढे तीन मिलियनभन्दा बढी फलोअर्स रहेका ऋषि सामाजिक संजालमा गर्ने टिप्पणीका कारण निकै विवादमा तानिने अभिनेता समेत थिए । एकपल्ट उनले कांग्रेसको नेतृत्व गरिरहेका गान्धी परिवारको आलोचना गर्दै वंशाणु राजनीतिको अन्त्य हुनुपर्छ भन्दा उनको निकै विरोध भएको थियो ।
अभिनेता रणवीर कपुरले ऋषिको पुस्तकमा लेखेका छन्, ‘उहाँको ट्विटर व्यक्तित्वलाई लिएर मेरो कुनै धारणा छैन, यद्यपि मलाई प्रायःले मेरो पापाबारे सोध्ने पहिलो प्रश्न नै यही हुन्छ । त्यतिबेला मैले भन्ने भनेकै जबसम्म उहाँ इमान्दार र रमाइलो हुनुहुन्छ, तबसम्म त्यो उहाँको विशेषाधिकार हो ।’
फ्र्यांक लेख्ने हुँदा विवादमा तानिए पनि उनको ट्विटको कुनै एजेन्डा नहुने रणवीरको धारणा थियो । ‘मेरो पापा सीधा तीर हुन्,’ उनले पुस्तकमा लेखेका छन् ।
आफू टुटेको भन्दै सबैभन्दा पहिले ट्विटरमार्फत ऋषिको निधनको जानकारी अभिनेता अमिताभ बच्चनले दिएका थिए । तर, पछि उनले यो ट्विट हटाएका छन् ।
अमिताभ र ऋषि पछिल्लो समयका निकै मिल्ने साथी हुन्, एक समय अभिनय यात्राका सारथी पनि । यद्यपि उनीहरुबीच केही मनमुटाव भने थिए । ऋषिले अमिताभको अभिनयको व्यापक प्रशंसा गर्दै उनको एक स्वभावप्रति आफ्नो पुस्तकमा खुलेरै गुनासो गरेका छन् ।
अमिताभले आफ्नो सफलताको जस सधैँ आफ्ना फिल्मका लेखक र निर्देशकलाई दिए तर उनीसँगै काम गरेका कलाकारलाई दिएनन् । ‘तर, उनको सफलताको पछाडि उनका को–एक्टरहरूको पनि उत्तिकै हात थियो,’ ऋषिले लेखेका छन्, ‘दिवारमा शशी कपुर, अमर अकबर एन्थोनीमा ऋषि कपुर र विनोद खन्ना, शत्रुधन सिन्हा र धर्मेन्द्र सबैले उनको फिल्मको सफलतामा योगदानमा पु¥याएका थिए, उनीसँगै क्रेडिट सेयर गरेका थिए, चाहे फिल्ममा उनीहरूले निर्वाह गरेको भूमिका दोस्रो नै किन नहोस् ।’
ऋषिका अनुसार अमिताभले यो यथार्थ महसुस नगरे पनि त्यसलाई सबै एक्टरले त्यतिबेला सहर्ष स्वीकारे । कारण, त्यो समय त्यसैगरी चलिरहेको थियो अर्थात् त्यतिबेला सिक्का टेढै हिँडिरहेको थियो । उनले लेखका छन्, ‘तर, आज यदि शाहरुख खानले राज गरिरहेको छ भने सलमान, आमिर र ऋतिकलाई दोस्रो भूमिका स्वीकार्य हुँदैन । विनोद खन्नाले खुन पसिना, शत्रुधन सिन्हाले काला पत्थर, शशी अंकलले कभी कभीमा गज्जब काम गरेका थिए । नोक्सानमा काम गरिरहेका थियौं तैपनि हामीले सौहार्दपूर्ण वातावरणमा काम गर्यौं ।’
ऋषिका रोमान्टिक फिल्मलाई समीक्षकहरू कलाको दर्जा दिन रुचाउँदैनथे । र, ऋषिलाई यो फिटिक्कै मन पर्दैनथ्यो । ‘म कट्टर कमर्सियल एक्टर हुँ र हामी जे गर्छौं त्यसलाई मान्छेहरूले कला होइन भनेर टिप्पणी गरेको मलाई मनपर्दैन । के फाइट गर्नु र नाच्नु आर्ट होइन ? मजस्तो कति कलाकार कवाली गाएर अभिनय गर्न सक्छन् ? कतिले अमिताभजस्तै ‘खाइके पान बनारसवाला’ गाउँदै अभिनय गर्न सक्छन् ? हामीलाई आलोचना गर्न सजिलो छ त्यही भएर त ‘सिरियस’ सिनेमा हामीले जे गर्छौं त्यो भन्दा धेरै माथि छ भनेर सहजै भनिदिन्छौं ।’
‘म जन्मजात एक्टर हो/होइन, मलाई थाहा छैन तर म नेचुरल एक्टरचाहिँ हो,’ ऋषिले आफ्नो पुस्तकमा लेखेका छन्, ‘म सहज छु, भावनाहरूलाई गहिराइमा महसुस गर्न सक्छु र त्यसलाई क्यामेरामार्फत प्रसार गर्न पनि । म क्यामेरा रोल बन्द हुनासाथ चाँडै आफूलाई स्वीच अफ गरेर ती इमोसन्सहरूलाई प्याकअप गर्न पनि सक्छु ।’
ऋषिको अन्तिम लक्ष्य थियो भारतको प्रतिष्ठित दादासाहेब फाल्के अवार्ड प्राप्त गर्ने । ‘जब म यो अवार्ड पाउँछु त्यसपछि मात्रै आफूलाई सही मानेमा पुरष्कृत भएको महसुस गर्छु,’ उनले आफ्नो पुस्तकमा भनेका छन्, ‘मेरो हजुरबुबा र बुबापछि यो पुरस्कार पाउने तेस्रो पिंढीका रूपमा दरिन चाहन्छु । आशा छ, यो सपना पूरा होस् ।’
तर, यो सपना पूरा नहुँदै उनको निधन भयो । पुस्तकमा उनले लेखेको छन्, ‘यदि रणवीर यसको लायक छ भने उसले यो विरासतलाई जीवित राख्नेछ ।’
फिल्म ‘बेवकुफिया’मा ऋषिले बोल्ने डायलग थियो, ‘लाइफ एट सिक्स्टी, इन्ड नहीँ होती...स्टार्ट होती है ।’ तर, ६७ वर्षको उमेरमा उनको आफ्नै डायलग गलत सावित भयो ।