गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भन्ने चाहनाका साथ एक वर्षभन्दा बढी यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितिमा परीक्षण गराउनु मनासिब हुन्छ । तपाईंहरूको सन्दर्भमा हामी समय नै नपुगेको भन्न सक्छौं । बच्चा जन्माउन नसक्नुमा केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छ । त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन् । करिब १० प्रतिशतजति घटनामा गर्भ नरहने कारण नै पत्ता लाग्दैन ।
म २६ वर्षको भएँ, मेरी श्रीमती २१ वर्षकी छिन् । हाम्रो विवाह भएको एक वर्ष भयो । विवाह गरेको ८ महिनाजतिमा पाँच पटक मेरी श्रीमतीले गर्भ निरोधक औषधी (इकोन) प्रयोग गरिन् । अहिले चार महिना भयो, उक्त औषधी प्रयोग गरेको छैन । हामी बच्चा जन्माउन चाहन्छौं तर गर्भ बसिरहेको छैन । केही समयअघि श्रीमतीमा सेतो पानी बग्ने समस्या थियो । चिकित्सकको सल्लाहमा औषधी प्रयोग गरेपछि पानी बग्ने समस्या हटेको छ तर बच्चा बसेको छैन । गर्भ निरोधक औषधीको सेवनले कि पानी बग्ने समस्याले, के कारणले गर्भ बस्न नसकेको हो ? कि समय नपुगेकाले हो कि ? दुई साताजति भयो मेरी श्रीमती यौन चाहना पनि छैन भन्छिन्, कारण के होला ?
-ए.एस.
गर्भाधानको कुरा
गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित डिम्बको मिलनबाट हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ । यौन सम्पर्कका क्रममा पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएका डिम्बका असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ । शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE) भनिन्छ र त्यही युग्मज नै पछि विकसित भएर शिशु बन्छ । तसर्थ बच्चा पाउन यी सबै प्रक्रिया पूरा हुन जरुरी छ ।
बच्चा जन्माउन नसक्नुको कारण के होला ?
बच्चा जन्माउन गर्भधारण हुनुपर्छ । गर्भधारणका लागि यौनसम्पर्क, वीर्यस्खलन, डिम्ब निष्कासन, डिम्ब निषेचन अनि डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । सफल गर्भधारणका लागि भ्रूण विकसित हुँदै बच्चाका रूपमा जन्मन्छ । सन्तान जन्माउने यी सबै कुराबीच तालमेल जरुरी छ । छोटो समयमा धेरै पटक वीर्य स्खलन गर्दा प्रतिमिलिलिटर वीर्यमा शुक्रकीटको संख्या तुलनात्मक रूपमा कम हुने भएकाले कहिलेकाहीं गर्भधारण गर्न केही गाह्रो हुने कुरा गरिन्छ, तर पर्याप्त मात्रामा स्वस्थ वीर्य भएको व्यक्तिमा यसलाई कारण मान्नु मनासिब नहोला ।
गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भन्ने चाहनाका साथ एक वर्षभन्दा बढी यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितिमा परीक्षण गराउनु मनासिब हुन्छ । तपाईंहरूको सन्दर्भमा हामी समय नै नपुगेको भन्न सक्छौं । बच्चा जन्माउन नसक्नुमा केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छ । त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन् । करिब १० प्रतिशतजति
घटनामा गर्भ नरहने कारण नै पत्ता लाग्दैन ।
शरीरमा कतिपय हार्मोनको गडबडी हुँदा पनि सन्तान उत्पादन गर्न सकिँदैन । केही परिस्थितिमा यसको कारण मानसिक पनि भएको पाइएको छ । महिलाको प्रजनन अङ्गसँग सम्बन्धित विकारहरूका कारणले सन्तान जन्माउन नसक्ने हुनु सबैभन्दा प्रमुख कारण हो ।
पाठेघरभित्र मासु बढ्ने, पाठेघरको भिक्री तहको खराबी वा संत्रमण (जस्तै टी.बी.) वा अन्य खराबी हुँदा पनि सन्तान जन्मन नसक्ने हुन्छ । विभिन्न कारणले डिम्बवाहिनी नलीको संक्रमण हुँदा उक्त नली बन्द हुन सक्छ । उक्त नली बन्द भए डिम्ब तथा शुक्रकीटको मिलन हुन सक्दैन । कतिपय यौनरोग डिम्बवाहिनी नली बन्द हुनुको प्रमुख कारक हुन् । निःसन्तान महिलाहरूमा हुने कारणहरूलाई केलाएर हेर्ने हो भने पाठेघरको मुखसँग सम्बन्धित खराबीहरू गर्भधारण हुन नसक्नुका प्रमुख कारण हुन्छन् । कतिपय जटिल दीर्घरोग वा कडा शारीरिक रोगका कारणले सन्तान जन्माउन सक्ने क्षमतामा नकारात्मक असर पार्छ ।
महिलामा जटिल परीक्षण सुरु गर्नुभन्दा पहिले पुरुषको वीर्यमा शुक्रकीटको परीक्षण गर्नुपर्छ । किनभने वीर्य परीक्षणमा पर्याप्त माक्रामा स्वस्थ शुत्रकीट नै नभएको स्थितिमा गर्भ रहने
कुरै हुँदैन ।
कतै गर्भनिरोधको औषधीका कारणले त होइन ?
तपाईंले प्रयोग गर्नुभएको गर्भनिरोधको औषधी इकोन, आकस्मिक गर्भ निरोधको साधन हो । यस्ता औषधीले असुरक्षित यौनसम्पर्क भएपछि त्यसबाट गर्भ रहन (१ सय २० घण्टासम्म) दिँदैन, तर यो चक्कीको सेवन गरेको २४ घण्टापछि भएको यौनसम्पर्कबाट भने गर्भ रहन सक्छ । यो औषधी सेवन गरे पनि गर्भ रहने क्षमतामा फर्कनमा कुनै ढिलाइ हुँदैन । त्यसैले तपाईंको सन्दर्भमा यसलाई कारण मान्नुपर्ने कारण म देख्दिनँ । विवाहित जोडीमा नियमित यौन सम्पर्क हुने स्थित भएकाले आकस्मिक गर्भनिरोधको साधनभन्दा आफूलाई उपयुक्त अन्य कुनै भरपर्दो गर्भनिरोधको साधन प्रयोग गर्नु बेस हुन्छ ।
यौनचाहना किन कम भएको ?
प्राकृतिक रूपमा सबै स्वस्थव्यक्तिमा यौनेच्छा हुन्छ । यौनेच्छाको सञ्चालनमा विभिन्न फ्रणाली सक्रिय हुन्छन् । एकातिर इन्डोत्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरस अर्थात् हार्मोनले तिनको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ । यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ । त्यसैगरी यौन क्रियाकलापका लागि हाम्रा इन्द्रियहरूले पनि महत्वपूर्ण भूमिका खेल्छन् ।
हामीलाई थाहै छ, यौनसम्पर्कलाई शारीरिक सम्बन्ध भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ । कतै मानसिक कारण जस्तै कि चिन्ता, तनाव वा भयजस्ता केही कुरा छन् कि विचार गर्नुपर्छ । कतिपय स्थितिमा यौनेच्छा भए पनि शारीरिक कारण जस्तै यौनसम्पर्क राख्दा पीडा हुने, कुनै रोगव्याधि लागेको वा थकानका कारणले यौन सम्पर्क राख्न अनिच्छा हुनसक्छ ।
यसका समाधानका लागि श्रीमतीसँग यौन उत्तेजना नआएको हो वा अन्य केही कारण छ, राम्रोसँग खुलेर कुराकानी गर्नुहोस् र त्यसैका आधारमा अघि बढ्नुहोस् । शारीरिक वा मानसिक कारण भए त्यसैअनुसार समाधान खोज्नुपर्छ ।