साप्ताहिक संवाददाता
दस वर्ष दुःख, सुख, हाँसीखुसी गरेर पाएको फल अथवा बिहे गरेको दस वर्षपछि छोरो जन्माएको जस्तो ।
बाबुश्री
०७२ सालको भूकम्पको भन्दा बढी पराकम्पन आएको थियो यो मुटुमा त्यो दिन ।
रोहित धामी
मलाई त रातभर निन्द्रा लागेन, जब रिजल्ट आयो म सेकेन्ड डिभिजनमा पास भएको रहेछु । धेरै नै रमाइलो लागेको थियो, २०६३ सालको कुरा हो यो ।
विनोद खड्का
०५८–५९ सालतिर गाउँमा इन्टरनेट तथा पत्रपत्रिकाको सुविधा थिएन । भाग्यवश भैरहवा गएका बेला रिजल्ट आयो अनि तत्कालै रिजल्ट हेर्न पुस्तक पसल पुगेँ । एक सय रुपैयाँ तिरेर गोरखापत्र किनेर हेरें, प्रथम श्रेणीमा उत्तीर्ण भएको रहेछु ।
एक राना मगर
म कोदोको बीउ उखेल्दै थिएँ । पोखराबाट काकाले फोन गरेर म पास भएको जानकारी दिनुभयो । दिनभर खुसी भएँ । कोदो रोप्ने मेलो पनि उफ्री–उफ्री पूरा गरें । घर पुगेर दुई पोका ल्याक्टो चकलेट किनेर गाउँभरि बाँडे ।
दलबहादुर
एक सय रुपैयाँ तिरेर गोरखापत्र किनिन्थ्यो । बल्लबल्ल पत्रिकाको एउटा कुनामा आफ्नो सिम्बोल नम्बर भेटिँदा खुसीले सिमा नाघेको थियो । आखिर खाडीमा आएर जोतिन रै’छ ।
लोकेन्द्रबहादुर कोइराला
६१ सालको कुरा हो । रिजल्ट आउने दिन मुटुमा ९ रेक्टर स्केलको भूकम्प गएजस्तो भएको थियो ।
अर्जुन
खासै वास्ता लागेको थिएन मलाई त ।
दिपक पौडेल
२०६२ सालमा नोकियाको १६०० मोडलको मोबाइलमा एसएमएसमार्फत एसएलसीको आफ्नो रिजल्ट हेरेको थिएँ ।
संविधान मगर
आफ्नो त २०६५ को एसएलसी । रिजल्ट आयो तर आफ्नो सिम्बल नम्बर आएन । कता अड्किएछ भनेर खोज्दै जाँदा त अंग्रेजी बाबाले समातेर बसिरा’को रहेछ । अब भएन त बर्बाद, सबै साथी क्याम्पसतिर आफू फेरि ट्युसनतिर ।
सन्तोष ढकाल
खराब दिन । एसएलसीको रिजल्ट नै नआएको भए आज मेरा साथीहरूसँगै हुन्थे ।
अनुज थापा
कसरी याद गर्नु र खै, चारचोटी भैसक्यो अझै पास गर्न सकेको छैन, तनाव छ हजुर तनाव ।
मदेन लिम्बू
आम्मामा ! कति तनाव थियो भने नि, त्यति तनाव त बरु दुईवटी केटी बिहे गर्नेलाई नि हुँदैन ।
सन्दीप सुवाल
ब्राजिल भर्सेस नेदरल्यान्डको म्याच थियो । ब्राजिलले एक शून्यले हारेको थियो । म त यसरी नै याद गर्छु त्यो दिनलाई ।
राज तिमिल्सिना
डम्म कुइरो लागेको थियो । झमझम पानी परेको थियो । म छाता ओढेर भैंसी चराउँदै थिएँ, गोठालो न परियो । पारि पाखाँ बजेको रेडियोले समाचारमा एसएलसीको रिजल्ट आएको सूचना दियो । त्यस दिन भैंसी चराउन छोडेर फोन गर्न तीन घण्टा पर भएको टेलिफोनलाई लक्ष्य बनाएर हतार–हतार त्यतै लम्किएँ म ।
नवराज आचार्य
२०६० सालमा एसएलसी दिएको थिएँ । त्यति बेला राति १२ बजे रिजल्ट आउँथ्यो अनि बिहान रेडियोले फुकेपछि मात्र थाहा हुन्थ्यो । हाम्रो पालामा रिजल्ट थाहा पाउन सदरमुकाम नै पुग्नुपर्थ्यो । १६०० मा फोन गर्न बल्ल–बल्ल पालो आउँथ्यो । फस्ट डिभिजनमा पास भन्दा खुसीले गद्गद् भएको थिएँ ।
दिपक तामाङ
डरले मुटुमा ढ्याङरो बजेको थियो । रिजल्ट हेर्दा फस्ट डिभिजन आयो अनि मात्र शान्त भइयो ।
मनोज तामाङ
वि.सं. ०६९/७० मा २० रुपैयाँ तिरेर साइबरमा हेरेको थिएँ ।
अभि तामाङ
दही–चिउरा खाएर मनमा लड्डु फुटाउँदै थिए, पूरै खानै नपाई रिजल्ट आएको थियो ।
बेद प्रकाश
आहा ! त्यो दिनको खुसी तथा ममी–बाबालाई सुनाको त्यो पल, कसरी भनम र खै ?
बिनु रिजाल