साप्ताहिक संवाददाता
सामाजिक संजालमा अहिले ब्युटी टिप्स दिने धेरै गुरु देखा पर्न थालेका छन् । छोटो समयमै सेलिब्रेटी बन्ने मोहकै कारण यस्ता किसिमका भिडियो अनेकन च्यानलमार्फत प्रसारण भैरहेका छन् । यसमा पनि कतिपय कार्यक्रम त ब्युटी एक्सपर्टहरूले आफैं लाइभ प्रस्तुत भएर ब्युटी प्रोडक्टको अभ्यास गरी देखाएर दर्शकको चित्त बुझाउने प्रयास गर्दै आएका छन् ।
यस क्रममा न्युयोर्ककी १८ वर्षीया लोरी फेथले पछिल्लो ३ वर्षदेखि युट्युबमा सौन्दर्यसम्बन्धी धेरै किसिमका कार्यक्रम चलाइरहेकी छिन् । भ्लगर लोरीले चलाउने कपाललाई ब्लिचिङ गरेर रंगाउने लाइभ कार्यक्रम धेरैले चाखपूर्वक हेर्ने गरेका छन् ।
नयाँ–नयाँ किसिमको रंग प्रयोग गरेर कपाल रंगाइएको भिडियो देखाउनु भन्ने जस्ता अनुरोध आएपछि लोरी पनि उत्साहित हुँदै गएकी थिइन्, जसका कारण उनले ब्लिचिङका लाइभ एपिसोड थप्दै लगिन् । यस क्रममा उनले लाइभ ब्लिचिङ कार्यक्रम चलाउँदा–चलाउँदै कपाल रंगिनुको सट्टा भएकै कपाल झर्न थाल्यो । उनले उक्त अवस्थामा आउनुमा ब्लिचिङमा प्रयोग भएको रसायन कडा किसिमको भएको तथा छोटो समयको अन्तरालमा धेरै पटक ब्लिचिङ गर्नु जिम्मेवार भएको बताएकी छिन् ।