साप्ताहिक संवाददाता
अबको केही दिन नेपाली खेलकुद क्रिकेटमय हुनेछ, किनभने नेपाली टिमले खेल्दैछ, आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया छनौट । नेपालले वर्ल्ड ट्वान्टी–२० मा प्रवेश पाउने दिशमा यो पहिलो खुड्किला हुनेछ । नेपालले त्यसक्रममा तय गर्ने यात्रा लामो छ, तर एउटा तथ्य के निश्चित छ भने नेपाल त्यसका लागि सक्षम पनि छ । नेपाली टिमका कप्तान पारस खड्काले भनेका पनि छन्, ‘अब हाम्रा लागि ट्वान्टी–२० विश्वकपको छनौट यात्रा सुरु भयो ।’
ट्वान्टी–२० एसियाली छनौट सिंगापुरमा हुँदैछ र त्यसअघि नेपाल मलेसिया पुगिसकेको छ र नेपालले त्यहाँ खेल्नेछ, दुई टिमबीचको ट्वान्टी–२० सिरिज । यसमा दुई खेल मात्र छन् । यी दुई खेल भोलि शनिबार र त्यसपछि आइतबार हुनेछन् । त्यसपछि मात्र नेपाल सिंगापुरका लागि उड्नेछ । एसिया छनौटमा भने नेपालसँगै आयोजक सिंगापुर, मलेसिया, कतार तथा कुवेत छन् । यसअघि यसमा छ टिम थिए जसमध्ये युएईले यो छनौट खेल्नु परेन ।
त्यसपछि हुने ग्लोबल छनौट युएईमा हुँदैछ, जसमा आयोजक देशका रूपमा उसले सिधै प्रवेश पाएको छ । एसिया छनौटमा रहेका पाँच टिममध्ये सुरुमा लिग चरणका खेल हुनेछन् । यसको अर्थ सबै टिम सबैसँग भिड्नेछन् । यो प्रतियोगिताको समाप्तिपछि शीर्ष स्थानमा रहने एकमात्र टिमले ग्लोबल छनौट खेल्न पाउनेछ । टिमको खेल स्तर अनुसार यो प्रतियोगिता नेपालले शीर्ष स्थानमा रहेर जित्ने अपेक्षा गर्न सकिन्छ । नेपाल सबै टिमको तुलनामा बलियो नै देखिन्छ, सँगै अनुभवी पनि ।
यद्यपि नेपाल सबै टिमसँग सजग भने रहनेछ । ‘हामीले शीर्ष स्थान हात पार्ने हो भने सबै खेल जित्नुपर्ने हुन्छ र त्यसका लागि हामी सक्षम पनि छौं । यसको अर्थ हामी कुनै पनि प्रतिद्वन्द्वीलाई सहज मान्ने पक्षमा छौं भन्ने होइन,’ मलेसिया जानुअघि कप्तान पारसले भनेका छन् । सन् २०१९ को सुरुमै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको नयाँ नियमअनुसार अबदेखि कुनै पनि दुई देशका राष्ट्रिय टिम आपसमा प्रतिस्पर्धा गर्छन् भने त्यसले अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको मान्यता पाउनेछ ।
यस आधारमा नेपालले अहिले खेल्न लागेका सबै प्रतिद्वन्द्वीसँग पहिलोपल्ट अन्तर्राष्ट्रिय मान्यताप्राप्त ट्वान्टी–२० प्रतिस्पर्धा गर्दैछ । नेपालले अहिलेसम्म मान्यता प्राप्त १५ वटा ट्वान्टी–२० खेलेको छ जसमध्ये तीन खेल टेस्ट मान्यता प्राप्त टिम बंगलादेश, अफगानिस्तान तथा आयरल्यान्डविरुद्ध थिए, बाँकी एसोसियट देशविरुद्ध । नेपालले अहिलेसम्म खेलेका एसोसियट देश हुन्— हङकङ, नेदरल्यान्ड्स, पपुवा न्युगिनी तथा युएई ।
एसियाली छनौटका खेलमध्ये नेपालले साउनको ७ मा कतारविरुद्ध, ८ मा मलेसियाविरुद्ध, ११ मा कुवेतविरुद्ध तथा १२ मा सिंगापुरविरुद्ध खेल्नेछ । ग्लोबल छनौट अक्टोबर ११ देखि नोभम्बर ३ सम्म हुनेछ । यसमा भने १४ टिम रहनेछन् र त्यसबाट ट्वान्टी–२० विश्वकपमा ६ टिमले प्रवेश पाउने छन् । उक्त छनौटमा जिम्बावेदेखि आयरल्यान्डसम्म सहभागी हुनेछन् । नेपालका लागि वास्तविक चुनौती यही छनौटमा हुनेछ । यद्यपि त्यसका लागि नेपालले पहिले एसियाली छनौट पार गर्नु पर्नेछ । अपेक्षा गर्न सकिन्छ, नेपाललाई यसमा खासै गाह्रो हुनेछैन ।