साप्ताहिक संवाददाता
विश्व क्रिकेटमा यू–१९ स्तरको क्रिकेटलाई खुबै महत्त्व दिइन्छ, किनभने यसमै टिकेर कुनै पनि देशको राष्ट्रिय टिम बन्ने हो । अहिले चलिरहेको विश्वकपका अधिकांश स्टार खेलाडी यू–१९ स्तरमा चम्किएपछि यहाँसम्म आइपुगेका हुन् । विश्व क्रिकेटमा अहिलेका सबैभन्दा सफल र चर्चित खेलाडी विराट कोहली भारतीय टिमको यू–१९ का स्टार खेलाडी मानिन्थे । त्यसैले भनिन्छ, यू–१९ टिम नै भविष्यको क्रिकेटको आधार हो ।
नेपाल पनि यसको अपवाद होइन, अझ भन्ने हो भने अहिलेको नेपाली टिमका लगभग सबै खेलाडी उमेर समूहको क्रिकेटबाटै यहाँसम्म आइपुगेका हुन् । भारतीय क्रिकेटलाई लिएर जसरी कप्तान कोहलीको उदाहरण दिइन्छ, नेपाली टिमलाई लिएर पनि कप्तान पारस खड्काको उदाहरण पेस गर्न सकिन्छ । अझ नेपाली क्रिकेटले सुरुआती सफलता चाखेको भनेकै उमेर समूहको क्रिकेटबाट हो, अझ विशेष रूपमा यू–१९ बाट ।
नेपालले भर्खरै यू–१९ एर्स्टन रिजन क्रिकेटको उपाधि जितेको छ र भन्न सकिन्छ, आउने दिनमा नेपालका लागि स्तरीय खेलाडीको कमी हुनेछैन अर्थात् भविष्यको राष्ट्रिय क्रिकेट टिमलाई लिएर ढुक्क हुन सकिने स्थिति तयार हुँदैछ । यही टिमका अधिकांश खेलाडीले ठीक बाटो तय गर्ने हो भने अबको नेपाली टिम यसकै वरिपरि घुम्ने छ । नेपालले यो प्रतियोगिता निकै प्रभावशाली ढंगले जितेर के पनि सिद्ध गरेको छ भने टेस्ट नखेल्ने देशका टिममध्ये उमेर समूहमा नेपालको कुनै जवाफ छैन ।
नेपालले पूरा प्रतियोगिता जसरी खेल्यो त्यसको तुलनामा विपक्षी टिमको जस्तो प्रदर्शन रह्यो, त्यसले देखाउँछ, यो स्तरमा हामी धेरै अगाडि छौं, त्यसैले हाम्रो उद्देश्य भनेको योभन्दा माथिको स्तरमा खेल्ने हो । त्यो भनेको, नेपालले अब टेस्ट खेल्ने देशका यू–१९ टिमसँग राम्रो खेल्नुपर्ने हुन्छ र यसका लागि नेपालले अवसर पनि पाएको छ ।
नेपाल मलेसियामा च्याम्पियन भएका आधारमा टिम अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म श्रीलंकामा हुने एसीसी यू–१९ एसियाकपका लागि छनौट भएको छ । उक्त प्रतियोगितामा नेपालसँगै खेल्ने टिम हुन्, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई तथा कुवेत । अब नेपालको तत्कालको लक्ष्य त्यसकै तयारी हुनेछ । अहिलेको प्रतियोगितामा भने नेपालका लागि केही खास खास खेलाडी चम्किए र त्यसमा पनि अगाडि रहे, लेग स्पिनर सागर ढकाल । उनी प्रतियोगिताकै म्यान अफ द सिरिज रहे । फाइनलमा उनले हङकङविरुद्ध पाँच विकेट लिए र उनको पनि मत थियो, यो स्तरमा नेपालसामु कसैले बलियो चुनौती पेस गर्न सक्दैनन् ।
नेपाली टिमका प्रशिक्षक हुन्— विनोद दास । उनी आफैं यू–१९ क्रिकेटबाट पहिलोपल्ट चर्चामा आएका हुन् । दास भन्छन्— अहिले प्राप्त जित त नेपालका लागि यू–१९ विश्वकपमा छनौट हुन नसकेको पीडा भुलाउने अवसर मात्र हो । नेपाल वर्षाले प्रभावित खेलमा युएईसँग चुकेपछि मात्र युवा विश्वकपमा छनौट हुन असफल भएको थियो । भाग्यले हदैसम्म साथ नदिएपछि नेपाल युवा विश्वकपबाट बाहिरिएको थियो ।
यद्यपि प्रशिक्षक दास ती पुराना दिन बिर्सिंदै अघि बढ्न चाहन्छन् । दास भन्छन्, ‘यो स्तरको प्रतियोगिता जित्नेमा हामी सुरुदेखि आत्मविश्वासी छौं ।’ प्रतियोगितामा नेपालले फाइनलमा हङकङलाई सजिलै ६ विकेटले हराएको थियो । त्यसमा पहिले ब्याटिङ गरेको हङकङलाई नेपालले ९५ रनमा रोकेपछि नेपालको जित औपचारिकता मात्र भएको थियो । नेपालले सेमिफाइनलमा भने मलेसियालाई ७ विकेटले हराएको थियो । समूह चरणका दुवै खेलमा पनि नेपाल बलियो रह्यो ।