म ३० वर्षीय युवक हुँ । मेरो एक जना महिलासँग यौनसम्पर्क हुँदै आएको छ । उनी विवाहित हुन् । के मैले उनीसँग मुखमैथुन गर्न मिल्छ ? सुगरको बिरामीसँग मुखमैथुन गर्न हुन्छ कि हुँदैन ? सुगर भएको मानिससँग बिनाकन्डम शारीरिक सम्बन्ध राख्दा कुनै असर पर्छ ? मलाई गुदा मैथुन गर्न मन छ, के यो सुरक्षित हुन्छ ?
- भु.दे.
तपाईंले किन विवाहित महिलासँग सम्बन्ध स्थापित गर्नुभयो, केही लेख्नुभएको छैन । तपाईंको उहाँसँगको सम्बन्ध कस्तो प्रकारको हो भन्ने कुरा पनि पत्रमा उल्लेख छैन । यो सिर्फ यौनेच्छा शान्त पार्ने मौका मात्र हो वा यसमा प्रेमसम्बन्ध पनि छ र यो सम्बन्धमा निरन्तरता खोजिएको छ भन्ने कुरा पनि स्पष्ट छैन । विचार गर्नुपर्ने कुरा के हो भने तपाईंहरूबीचको सम्बन्ध विवाहेत्तर भएकाले तपाईंले सजिलै यसलाई अघि बढाउन सजिलो भने छैन ।
उहाँको श्रीमान्सँगको सम्बन्ध के–कस्तो छ र तपाईंकी ती महिला मित्रको सोच के छ, भन्ने कुरा पनि स्पष्ट छैन । हाम्रो सामाजिक अनि कानुनी दृष्टिले पनि यस्तो सम्बन्धलाई जायज मान्न सकिने स्थिति छैन । यस्ता विवाहेत्तर सम्बन्धको असर तपाईंको यौनसाथी र तपाईंका साथै दुवै परिवारमा पर्न सक्छ भन्ने कुरा त सम्झाइरहनु नपर्ला ।
जहाँसम्म मुखमैथुनको कुरा छ, यो अविवाहितसँग गर्न हुने र विवाहितसँग गर्न नहुने भन्ने कुरा होइन । यदि दुवै यौनजोडी यसमा सहमत छन् भने आफूले चाहेअनुरूपको यौनसम्पर्क गर्न सक्छन्, चाहे त्यो योनि–लिङ्ग होस् वा गुदा–मैथुन होस् वा मुख–मैथुन होस् ।
चिनीरोग र यौनसम्पर्क
यो प्रश्न किन गर्नुभएको हो भन्ने कुरा स्पष्ट छैन । तफाईंलाई थाहै होला, चिनीरोग अर्थात् मधुमेह नसर्ने रोग हो, त्यसैले यो एक व्यक्तिबाट अर्को व्यत्तिमा सर्दैन । चिनीरोग भएका व्यक्तिले पनि यौनसम्पर्क राख्छन् र यौन सुख लिइरहेका हुन्छन् । विशेष गरी चिनीरोग भएका व्यक्तिमा जीवाणु तथा फङ्स (इस्ट) को संक्रमण केही बढी देखिने भएकाले केही आशंका गरिएको हुन सक्छ । चिनीरोग नियन्त्रण गरिएको छैन भने त्यसको असर यौन सक्षमता, लिङ्ग उत्तेजना तथा यौनेच्छामा नकारात्मक रूपले पर्छ, जुन अर्कै विषय हो ।
के गुदा मैथुन सुरक्षित छ ?
आफ्नो यौन साथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौनसम्पर्कलाई गुदामैथुन भनिन्छ । यो सुरक्षित छ कि छैन भन्ने सन्दर्भमा पहिले के कुरा बुझ्नुपर्छ भने योनिको तुलनामा गुदद्वारको संरचना निकै फरक हुन्छ । गुदद्वार यौन सम्पर्कका लागि प्राकृतिक रुपमा बनेको अङ्ग होइन । योनिमा यौन उत्तेजना भएपछि यौन सम्पर्कलाई सजिलो बनाउन योनिरस आएजस्तो गुदद्वारबाट कुनै रस आउँदैन । गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ । वाहिरी मांसपेशीलाई हामीले चाहेअनुरुप संकुचित गर्न वा खोल्न (खुकुलो पार्ने) सक्छौं भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सक्दैनौं । लामो अभ्यासपछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो गर्न सकिन्छ । गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे यो मांसपेशी वेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ अनि चोटसमेत लाग्न सक्छ । योनिमा जस्तो योनि रस पनि नहुने अनि गुदद्वार खुकुलो नभएको स्थितिले यौन सम्पर्कका दौरानमा चोटपटक लाग्ने र पीडा हुने समस्या हुन्छ ।
अर्को महत्वपूर्ण पक्ष संक्रमणको जोखिम हो । यदि आफ्नो यौन साथीमा कुनै संक्रमण छ भने कुनै पनि यौनसम्पर्कमा जस्तै त्यो सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुन गर्दा पनि सर्छन् । एच.आई.भी. तथा अन्य यौनरोग सर्ने मामिलामा योनि–लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमयुक्त मानिन्छ । यसो हुनुको कारण गुदानलीमा योनिमा जस्तो रस निस्कँदैन र त्यसको भित्री छाला पनि पातलो र कमलो हुने भएकाले यौन सम्पर्कले चोट पुर्याऊँछ र सजिलै रोगको संक्रमण हुनसक्छ । यौन रोगका अतिरित्त मलाशयमा अन्य रोग उत्पन्न गराउने जीवाणु पनि हुन्छन् । यदि दुवै जनामा कुनै यौन रोग छैन भने पनि गुदामैथुन पछि लिङ्ग–योनि मैथुन गरे योनिमा वा मूत्र प्रणालीको संक्रमण हुनसक्छ ।
गुदा–मैथुनलाई स्वास्थ्यका लागि हानिकारक भन्न मिल्दैन, तर यसलाई थप सुरक्षित बनाउन विभिन्न किसिमका सावधानी अपनाउनुपर्ने हुन्छ । गुदामैथुनलाई सहज बनाउन गुदद्वारमा लिङ्ग, औंला वा अन्य केही वस्तु ग्रहण गर्ने व्यक्ति र उसको गुदद्वारको मांसपेशी तनाव रहित स्थितिमा हुनु आवश्यक हुन्छ । योनिमा जस्तो रस नआउने हुनाले पर्याप्त मात्रामा थप चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ ।
गुदद्वारमा बढी हानीकारक कीटाणु हुने भएकाले यस्ता यौनसम्पर्कवाट यौनरोग वा अन्य संक्रमण नसरोस् भनेर कन्डमको नियमित तथा सही प्रयोगको उत्तिकै आवश्यकता पर्छ । योनिमा जस्तो प्राकृतिक चिप्लोपन नहुने भएकाले कन्डमलाई बिगार नगर्ने किसिमको चिप्लो पदार्थ प्रयोग गर्नुपर्ने हुन्छ । गुदद्वारमा प्रवेश गराएको लिङ्ग कन्डम नफेरी त्यसै योनिमा प्रवेश गराउनु हुँदैन, किनभने योनिमा ती जीवाणुको संक्रमण हुनसक्छ । जीवाणु कम गर्न गुदद्वार वरिपरि मात्र सफा गरेर पुग्दैन, भित्रतिर सफा गर्न डुसकै आवश्यकता पर्छ ।