साप्ताहिक संवाददाता
विश्वकप क्रिकेट–२०१९ सुरु हुनुअघि त्यसलाई लिएर धेरै प्रश्न गरिएका थिए । पहिलो प्रश्न इंग्ल्यान्डमा क्रिकेटको खस्कँदो लोकप्रियताका सन्दर्भमा थियो । जुन देशमा क्रिकेटको जन्म भएको छ, त्यही देशमा किन यो खेल युवाहरूको आकर्षणमा पर्न छाड्यो ? दोस्रो प्रश्न, एकदिवसीय क्रिकेटको भविष्यलाई लिएर नै थियो । ट्वान्टी–२० क्रिकेट तथा फ्रेन्चाइज क्रिकेटको लोकप्रियताका कारण एकदिवसीय क्रिकेट आफैं हराएर जाने डर पनि आफ्नै ठाउँमा थियो ।
तेस्रो प्रश्न यति लामो र यति कम देशले खेल्ने विश्वकप नै किन चाहियो भन्ने पनि थियो । कतै क्रिकेट आफैं कम रोमाञ्चक हुन थालेको त होइन ? जति बेला विश्वकप सम्पन्न भयो, इंग्ल्यान्डले जुन प्रकारले विश्वकप जित्यो, त्यससँगै विश्वकपअघि जति पनि प्रश्न उठेका थिए, ती सबैको उत्तर प्राप्त भएको छ । अब भन्नैपर्ने हुन्छ, यसपटकको विश्वकप पूरा क्रिकेटका लागि सञ्जीवनी सावित भएको छ ।
इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको फाइनल खेल पूरा बेलायतमा टेलिभिजन मार्फत निःशुल्क देखाइएको थियो । बेलायतमा कुनै पनि खेलकुदको प्रत्यक्ष प्रसारण हेर्न चर्को मूल्य तिर्नुपर्छ । यस्तोमा पैसा तिरेर क्रिकेट हेर्नेहरूको संख्या घट्दै थियो । त्यसैले जति बेला इंग्ल्यान्ड फाइनलमा पुग्यो, निर्णय गरियो, खेलको प्रत्यक्ष प्रसारणका लागि कुनै मूल्य तिर्नुपर्ने छैन । यसले बेलायतमै एक खालको माहौल तयार गर्यो । प्रतियोगिताको अन्त्य हुँदा सबैले माने— यसपटकको विश्वकपका कारण बेलायतमा क्रिकेटको लोकप्रियता फेरि बढेको छ ।
कप्तान इओन मोर्गनले केसम्म भनेका छन् भने यसपटकको विश्वकपपछि इंग्ल्यान्डमा क्रिकेट खेल्नेहरूको संख्या बढ्नेछ भने क्रिकेट हेर्नेहरूको संख्या पनि वृद्धि हुनेछ । त्यसैले इंग्ल्यान्डको लामो न लामो क्रिकेट इतिहासमै यसपटकको विश्वकप कोसेढुंगा सावित भएको छ । फाइनलका क्रममा पूरा बेलायतमा क्रिकेटको रोमाञ्चकता छाएको थियो । लर्डसमा भएको फाइनल हेर्न ठूलै संख्यामा समर्थकहरू पुगेका थिए भने पूरा देशका चोक, पबदेखि लिएर सार्वजनिक स्थलमा फाइनल हेर्नेहरूको घुइँचो लागेको थियो । इंग्ल्यान्डले उपाधि जितेपछि उसका समर्थकहरूले व्यक्त गरेको खुसी पनि उत्तिकै हेर्न लायक थियो ।
अब दोस्रो र तेस्रो प्रश्नको उत्तर एकैपटक । यो विश्वकपअघिसम्म एकदिवसीय क्रिकेटको लोकप्रियता घट्दो क्रममा थियो । एकातर्फ पारम्परिक टेस्ट क्रिकेट थियो, अर्कातर्फ कान्छो स्वरूफको टी–२० क्रिकेट । यसबीच एकदिवसीय त्रिकेट कहीं कतै थिएन, यसलाई मन पराउनेहरू कम हुँदै थिए । एकदिवसीय क्रिकेट मर्दैछ र अब यसलाई इतिहासले मात्र सम्झिनेछ भन्नेहरू पनि निस्किए ।
यद्यपि यसपटकको विश्वकपले एकदिवसीय क्रिकेटको आयु अझ लम्ब्याएको मात्र छैन, यसलाई दीर्घायु नै दिएको छ । अबको केही पुस्तासम्म धेरै पटक विश्वकप–२०१९ को फाइनलको चर्चा हुनेछ र त्यसले दिएको रोमाञ्चकता दोहोर्याएर भनिने–लेखिनेछ । फेरि मोर्गनकै शब्दमा— यो विश्वकपले एकदिवसीय क्रिकेटप्रतिको चासो फेरि बढाउनेछ । क्रिकेटलाई लिएर सबैले के भनेको पाइन्छ भने यो अनिश्चितताको खेल हो । यसमा कति बेला के हुन्छ भन्न सकिँदैन । फाइनलपछि सबैले माने, यो वास्तवमै घोर अनिश्चिताको खेल हो ।
फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड भिडेका थिए, त्यसमा नियमित ५० ओभरको खेल टाइ भयो । पछि एक–एक ओभरको सुपर ओभर पनि टाई भयो । दुवै अवसरमा स्कोर मात्र टाई भएन, पूरा खेलमा अनेकौं उतारचढाव देखिए । कुनै बेला न्युजिल्यान्ड निकै बलियो देखिन्थ्यो र भनियो, अब उपाधि जित्ने न्युजिल्यान्डले हो । फेरि कुनै बेला इंग्ल्यान्ड यति धेरै बलियो भयो कि भनियो, अब भने इंग्ल्यान्डले उपाधि जित्ने छ ।
जति बेला इंग्ल्यान्डले उपाधि जित्यो, त्यति बेला त्यसको कारण थियो, उसले न्युजिल्यान्डको तुलनामा बढी चौका प्रहार गर्नु । प्रतियोगितामा यो खेल मात्र होइन, अरु धेरै खेल उत्तिकै रोमाञ्चक रहे । पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले जसरी बलियो भारतलाई हरायो, त्यो पनि उत्तिकै रोमाञ्चक थियो । त्यस्तै लिग चरणका अधिकांश खेल सनसनीपूर्ण रहे जसमा खेलको अन्त्यसम्म पनि दर्शकको तिर्खा मेटिएको थिएन ।
यो सबै अर्थमा यसपटकको विश्वकप सफल सावित भएको छ । फाइनलको समाप्तिमा सबैभन्दा दुःखी रहने कोही थिए भने ती न्युजिल्यान्डका खेलाडी तथा तिनका प्रशंसक थिए, तर उनीहरूले पनि के माने भने क्रिकेट यस्तै–यस्तै कारणले लोकप्रिय छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सनकै पनि यस्तै आशय थियो, हामी हारेनौं, तर पनि हामीले उपाधि जित्न सकेनौं, तर खास विजेताको रह्यो भने त्यो क्रिकेट आफैं हो । हो, यो विश्वकपको वास्तविक विजेता कोही हो भने त्यो क्रिकेट आफैं हो ।