साप्ताहिक संवाददाता
विश्वकप क्रिकेट–२०१९ को फाइनल नतिजाले भन्ने छ, न्युजिल्यान्डले यो खेल गुमाएन्, तर पराजित नहुँदा पनि न्युजिल्यान्डले उपाधि भने जित्न सकेन । यस पटकको विश्वकपलाई न्युजिल्यान्डको दृष्टिकोणबाट यसरी नै सम्झिइनेछ । कप्तान केन विलियम्सले प्रतियोगितालाई लिएर अन्त्यमा भनेको भनाइले नै धेरै कुरा प्रस्ट पार्छ । केनले भनेका छन्, ‘हामीले जे जति पायौं, त्यसमै खुसी रहौं । सबै कुरा हामीले चाहे जस्तो मात्र कहाँ हुन्छ र ?’
विश्वकपको समाप्तिमा धेरैको एउटै मत छ, न्युजिल्यान्ड वास्तवमै दुर्भाग्यशाली रह्यो, तर उसले प्रतिस्फर्धाका क्रममा सबैको मन जित्यो । अबका दिनमा अधिकांस त्रिकेट प्रेमीको मनको कुनै न कुनै कुनामा न्युजिल्यान्डप्रति समर्थन वा सहानुभूति रहनेछ । विश्वकप सुरु हुनुअघि धेरैको अनुमान थियो, प्रतियोगिताको सेमिफाइनलमा आयोजक इंग्ल्यान्ड, डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र बलियो भारत पुग्नेछन् । आखिर भयो पनि त्यस्तै ।
यसमा एउटा टिम अझै आउटथ्यो र त्यो कुन हुनेछ ? धेरैको अनुमान थियो, त्यो न्युजिल्यान्डनै हुनेछ । न्युजिल्यान्डलाई लिएर गरिएको अनुमान पनि सत्य सावित भयो । न्युजिल्यान्ड यो विश्वकपको अन्डर डग टिम थियो र उसको प्रदर्शन त्यस्तै रह्यो । विलियम्सकै शब्दमा भन्दा न्युजिल्यान्डले प्रतियोगितामा जसरी खेल्यो, जे जस्तो उपलब्धि हात पार्न सक्यो, त्यसमा गर्व नै गर्नुपर्छ । उसले उपाधि मात्र जित्न सकेन्, किनभने प्रतियोगितामा केही नियम निकै निर्दयी थिए ।
प्रतियोगितामा यसपटक सबैभन्दा राम्रो सुरुवात लिने कुनै टिम थियो भने त्यो न्युजिल्यान्ड नै थियो । न्युजिल्यान्डको सुरुवात सनसनीपूर्ण रह्यो । उसले सुरुमै श्रीलंका, बंगलादेश, अफगानिस्तान, दक्षिण अफ्रिका तथा वेस्ट इन्डिजलाई लगातार हराएर आफ्नो स्थिति मजबुत बनाएको थियो । त्यस्तो स्थितिमा न्युजिल्यान्ड सेमिफाइनल पुग्ने निश्चित देखिएको थियो, तर टिमका लागि त्यस्तै सजिलो स्थिति भने रहेन र आखिरमा टिम नेट रन रेटका आधारमा मात्र अन्तिम चारमा पुग्न सक्यो ।
न्युजिल्यान्ड पाकिस्तानको हातबाट पराजित भएपछि उसले लिग चरणमा कुनै पनि खेल जित्न सकेन् । त्यसयता उसले अस्ट्रेलिया र इंग्ल्यान्डविरुद्धको खेल पनि गुमायो । लिग चरणको अन्तिम तालिकामा न्युजिल्यान्ड र पाकिस्तान समान ११ अंकमा रहे, तर न्युजिल्यान्ड नेट रनरेटका आधारमा चौथो स्थानमा रहन सफल भयो । यस अर्थमा न्युजिल्यान्डका लागि सेमिफाइनल पुग्नु पनि भाग्यले साथ दिनु जस्तै रह्यो, जुन फाइनलको हकमा लागू भएन ।
चार वर्ष अघिको विश्वकप–२०१५ मा पनि फाइनल खेलेको न्युजिल्यान्डका लागि फेरि दोहोर्याएर उपाधि भिडन्तमा पुग्नु पनि आफैंमा ठूलो उपलब्धि थियो । यसपटकको सेमिफाइनलमा भारतमाथि न्युजिल्यान्डको जित आफैमा सम्झनालायक रह्यो । भारत लिग चरणको समाप्तिमा सबैभन्दा बलियो टिम सावित भएको थियो । त्यसमै टेकेर भारतले अंक तालिकाको शीर्ष स्थान हात पारेको थियो, तर भारत न्युजिल्यान्डको हातबाट माथ खान बाध्य भयो ।