साप्ताहिक संवाददाता
सर्वाधिक रन
रोहित शर्माले नौ खेलमा ८१ को औसतले ६ सय ४८ रन बनाए । त्यसमा ६७ चौका तथा १४ छक्का सामेल छन् । डेविड वार्नर ६ सय ४७ रन बनाउँदै दोस्रो स्थानमा रहे ।
सर्वाधिक विकेट
अस्ट्रेलियाका बायाँ हाते पेसर माइकल स्टार्क २७ विकेट लिएर सर्वाधिक सफल बलर सावित भए । उनले १० खेल खेल्दै दुई अवसरमा एकै खेलमा चार विकेट तथा दुई अवसरमै एकै खेलमा पाँच विकेट लिए ।
उत्कृष्ट खेलाडी
केन विलियम्सले प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै ५ सय ७८ रन बनाए । यो प्रतियोतिगाका क्रममा उनको कप्तानीको उत्कृष्ट नमुना पनि देखियो ।
व्यक्तिगत स्कोर
अस्ट्रेलियाली प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले बंगलादेशवविरुद्ध बनाएको १ सय ६६ रन यो विश्वकपमा बनेको व्यक्तिगत उच्च स्कोर रह्यो । डेबिडले १ सय ४७ बलको सामना गरेर १४ चौका तथा ६ छक्का प्रहार गरे । त्यसलाई पछ्याउँदै इंग्ल्यान्डका जेसन रोय र अस्ट्रेलियाकै एरोन फिन्चले समान १ सय ५३ रन बनाएका थिए ।
सर्वाधिक छक्का
इंग्ल्यान्डका कप्तान इओन मोर्गनले सर्वाधिक २२ छक्का प्रहार गरे । अफगानिस्तानविरुद्धको खेलमा उनले एक्लै १७ छक्का प्रहार गरे । एउटै खेलमा कुनै पनि खेलाडीले यति धेरै छक्का प्रहार गरेको यो पहिलो अवसर थियो ।
सर्वाधिक चौका
भारतका रोहित शर्माले प्रतियोगिताका क्रममा सर्वाधिक ६७ चौका प्रहार गरे र त्यसका लागि उनले नौ खेल खेले । इंग्ल्यान्डकै जोनी बियरस्टोले ११ खेलमा त्यत्तिकै चौका प्रहार गरेका थिए ।
सर्वाधिक शतक
भारतका रोहित शर्माले नै यो विश्वकपमा सर्वाधिक शतकको कीर्तिमान बनाए । उनले एउटै संस्करणको विश्वकपमा पाँचवटा शतक बनाए । त्यसक्रममा शर्माले सन् २०१५ को विश्वकपमा कुमार संगकराले बनाएको चारवटा शतकको कीर्तिमानलाई उछिने ।