साप्ताहिक संवाददाता
यसपटकको विश्वकपमा पुराना केही स्टारले आफ्नो प्रतिष्ठा अनुसार खेले । केहीले भने आफूप्रति गरिएको आशा–अपेक्षाअनुसार खेल्न सकेनन् । यसपल्टको विश्वकपबाट त्यस्ता केही नयाँ खेलाडी पनि देखिए, जसले अब आउने दिनमा विश्व क्रिकेटमा तहल्का मच्चाउन सक्छन् ।
निकोलस पुरन, वेस्ट इन्डिज
वेस्ट इन्डिजका लागि सर्वाधिक रन बनाउने खेलाडीमध्ये एक रहे– निकोलस पुरन । त्यसैले पनि उनलाई क्यारेबियन क्रिकेटको भविष्य मान्न पनि थालिएको छ । पुरन विश्वकपमा डेब्यु गर्ने क्रममा सुरुवाती खेलमा शून्यमा आउट भए तर उनले हरेस खाएनन र पूरा प्रतियोतिगामा ३ सय ६७ रन बनाए । पुरनले नौ खेलमा ५२ दशमलव ४२ को औसत पनि राखे । पुरन वेस्ट इन्डिजको यू–१९ टिमबाट माथि उक्लिएका खेलाडी हुन् र त्यति बेलादेखि नै उनीबाट ठूलो अपेक्षा सुरु भएको थियो ।
साहिन अफ्रिदी, पाकिस्तान
यसपल्टको विश्वकप पाकिस्तानी पेसम्यान साहिन साह अफ्रिदीका लागि गज्जब कै रह्यो । अफ्रिदीको खेलबाट पाकिस्तानका पूर्व स्टार वासिम अक्रम यति धेरै प्रभावित भए कि उनले घोषणा नै गरे— यिनै खेलाडीले अबको पाकिस्तानी क्रिकेटलाई अघि बढाउने छन् । बंगलादेशविरुद्ध लर्डसमा भएको खेलमा अफ्रिदीले ३५ रन दिएर ६ विकेट लिए र यो विश्वकपमा कुनै पनि बलरको व्यक्तिगत प्रदर्शनमध्ये उत्कृष्ट हो । अफ्रिदी विश्वकपमा पाँच विकेट लिने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन्, १९ वर्ष, ९० दिनमा ।
अभिस्का फर्नान्डो, श्रीलंका
सन् १९९६ को विश्वकप विजेता श्रीलंकाका लागि यसपल्टको विश्वकप खासै सम्झना लायक रहेन् । यद्यपि प्रतियोगिताका क्रममा यस्ता केही खेलाडी पनि देखिए, जसले श्रीलंकाली क्रिकेटको आशा जगाइराख्नेछन् । यस्तै खेलाडी हुन्, अभिस्का फर्नान्डो । २१ वर्षका अभिस्काले चार खेलमा २ सय ३ रन बनाए । त्यसमध्ये उनले वेस्ट इन्डिजविरुद्ध १ सय ४ रन बनाए । यस्तै इंग्ल्यान्डविरुद्ध प्राप्त जितमा पनि उनले ४९ रनको योगदान दिए ।
जोफ्रा आर्चर, इंग्ल्यान्ड
यो विश्वकपमा चम्कने युवा खेलाडीमध्ये सबैभन्दा ठूला स्टार हुन्— इंग्ल्यान्डका जोफ्रा आर्चर । उनले विश्वकपको फाइनलमा इंग्ल्यान्डका लागि सुपर ओभर पनि फ्याले । यसपल्टको विश्वकप आर्चरले खेलेको पहिलो ठूलो प्रतियोगिता पनि थियो । भर्खर २४ वर्ष पुगेका आर्चर यही विश्वकपबाट इंग्ल्यान्डका लागि खेल्न योग्य भएका थिए । उनको गति जति राम्रो छ, त्यसमा उत्तिकै सटिकता पाइन्छ । इंग्ल्यान्डले विश्वकप जित्नु पछाडिको ‘एक्स फ्याक्टर’ नै जोफ्रालाई मानिन्छ । आर्चरको जन्म भने बारबाडोसमा भएको थियो, तर बेलायती पिताका कारण उनले इंग्ल्यान्डबाट खेल्ने अवसर प्राप्त गरे ।