साप्ताहिक संवाददाता
अहिले नेपाली खेलकुदमा सबैभन्दा ठूलो विवाद केही छ भने त्यो हो, दक्षिण एशियाली खेलकुदका लागि महिला टिमको प्रारम्भिक छनोट । नेपाल भलिबल संघले हालै घोषणा गरेको प्रारम्भिक टिममा २५ खेलाडी छन्, तर त्यही टिममा यसअघिका कप्तान विनिता बुढाथोकी तथा उप–कप्तान मञ्जु गुरुङ अटाएका छैनन् ।
त्यति मात्र होइन, टिममा अनुभवी खेलाडी कोपिला उप्रेती, कृपा अधिकारी, मनीषा चौधरी तथा नेविका चौधरी पनि छैनन् । यस्तोमा विनिता र मञ्जुले टिम छनौटको खुल्ला विरोध जनाउन थालिसकेका छन् । दुवै खेलाडीले सामाजिक संजालको सहयोग लिंदै आफूहरूविरुद्ध अन्याय भएको समेत बताएका छन् । मन्जु भन्छिन्— यस्तो त हुनै नपर्ने हो ।
त्यति मात्र होइन, उनीहरूको दाबी छ— घोषित प्रारम्भिक टिममा नराखेर आफूहरूको बेइज्जती नै गरिएको छ । भलिबल संघले अघोषित रूपमा उमेरको कारण देखाएर पुराना खेलाडीलाई कम प्राथमिकता दिइएको बताएको छ, तर यसले कुनै पनि खेलाडीको चित्त बुझाउन सकेको छैन । यो घटनाले नेपाली महिला भलिबलमा भूकम्प नै गएको स्थिति छ अहिले ।