साप्ताहिक संवाददाता
विवाहमा सबैले आफूलाई मनपरेका व्यक्तिहरूलाई नै सरिक गराउने चलन फरक संस्कृति भएका सबैजसो मुलुकमा समान रूपमा चल्दै आएको छ । यस क्रममा इंग्ल्यान्डमा हालै सम्पन्न एक विवाह समारोहमा दुलहा र दुलहीले आफ्ना निम्तालुमा कुकुर र घोडालाई विशेष रूपमा निमन्त्रणा गरेका थिए ।
दुलही केलीले सिटिङब्रोनीमा सञ्चालनमा ल्याएको कारेबेर केनल क्लबमा भएका आफ्ना १२ वटा प्रिय कुकुरलाई आफ्नो उक्त विवाह समारोहमा सहभागी गराएकी थिइन् ।
पश्चिमी चलन अनुसार दुलहीले विवाह समारोहमा आफ्ना साथीहरूलाई पनि साथै लानुपर्ने हुनाले उनले साथीका रूपमा ती कुकुरको साथ लिएकी थिइन् जसमा उनले प्रमुख साथी अलस्का मालामुत जातिको जिउस कुकुरलाई बनाइन् ।
विवाह समारोहमा सरिक भएको घोडामा दुलहा र दुलही बसेका थिए । निकै नौलो किसिमले सम्पन्न उक्त विवाह समारोहले जनवार मानिसको साथी मात्र नभएर परिवारको सदस्य पनि हो भन्ने कुरा पुष्टि गर्थ्यो ।