साप्ताहिक संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अर्को उपलब्धि हासिल गरेका छन् । गत बुधबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा टि–ट्वान्टीतर्फ पारस खड्काले २५ औं स्थान प्राप्त गरेका छन् । यसका लागि उनले ९० अंक प्राप्त गरेका थिए । यो वरीयताक्रम खड्काको करियरकै उच्चतम हो ।
आईसीसीको नयाँ वरीयतामा खड्का सहित नेपाली राष्ट्रिय क्रिकेट टिमका अन्य दुई खेलाडी सोमपाल कामी र वसन्त रेग्मी पनि छन् । अलराउण्डरतर्फ नेपालका सोमपाल कामी ४९ अंकसहित ६६ औं स्थानमा छन् । त्यसैगरी बलिङतर्फ वसन्त रेग्मी र सोमपाल कामी क्रमशः ७१ औं तथा ७८ औं स्थानमा छन् । आईसीसीको पछिल्लो वरीयताक्रम नेपालका लागि किन पनि महत्वपूर्ण छ भने अलराउण्डरतर्फ पारसले भारतका हार्दिक पाण्ड्या, अफगानिस्तानका राशिद खान, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेस्ट इन्डिजका आन्द्रे रसेल, इंग्ल्यान्डका बेन स्टोक्सलाई पछि पारेका छन् ।
यसैगरी ब्याटिङतर्फ पनि
खड्का भारतका महेन्द्र सिंह धोनी र वेस्ट इन्डिजका क्रिस गेलभन्दा अघि छन् । ब्याटिङतर्फ पारस वरीयताक्रमको ६६ औं स्थानमा छन् । यो उनको करियरकै उच्चतम उपलब्धि हो ।