साप्ताहिक संवाददाता
सबैभन्दा पहिले नेपाली टिमका गोलरक्षक किरण चेम्जोङको भनाइ, चेम्जोङ भन्छन्, ‘हामी सबै उत्साहित छौं, अस्ट्रेलियाको सामना गर्दा इंग्लिस प्रिमियर लिग खेल्ने खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछौं । हामी उनीहरूको खेल नजिकबाट बुझ्ने प्रयास गर्नेछौं ।’ एसियाली फुटबलमा अस्ट्रेलिया निकै बलियो टिम हो र यसका प्रमुख खेलाडी युरोपेली लिगमा खेल्छन्, विशेषतः इंग्ल्यान्डतिर । अस्ट्रेलिया विश्वकपमा लगातार छनौट भैरहेको टिमसमेत हो ।
कस्तो हुन्छ त यस्तो टिमको प्रदर्शन ? सन् २०२० को मार्च ३१ मा यही टिम काठमाडौं आउनेछ र दशरथ रंगशालामा नेपालसँग प्रतिस्पर्धा गर्नेछ । यस्तोमा एकातर्फ नेपाली खेलाडीले ठूलो टिमसँग खेल्ने अवसर पाउनेछ, किनभने नेपालले सामना गरेका टिममध्ये अस्ट्रेलिया अहिलेसम्मकै सबैभन्दा उच्चस्तरको टिम हो । नेपाली दर्शकले पनि आफ्नै आँखाअगाडि अस्ट्रेलियाली टिमको प्रदर्शन हेर्न पाउनेछन् । नेपाली फुटबलका लागि यो ठूलै अवसर हुनेछ ।
नेपाली फुटबल खेलाडीको प्रायः गुनासो हुन्छ, हामीले माथिल्लो दर्जाको प्रतिद्वन्द्वीसँग खेल्न पाउँदैनौं, त्यसैले हाम्रो खेल स्तर उस्तै रहन्छ । हुन पनि नेपालले दोहोर्याएर खेल्ने भनेकै दक्षिण एसियाली टिमविरुद्ध हो । नेपालले दक्षिण एसियाली घेरा तोडेर अन्य ठूला टिमसँग विरलै खेल्न पाएको छ । त्यसैले सन् २०२२ को विश्वकप छनौट नेपाली फुटबलका लागि दुर्लभ अवसरका रूपमा आएको छ ।
भर्खरै विश्वकप छनौटको एसियाली ‘ड्र’ जारी भएको छ । नेपाल समावेश समूह ‘बी’ मा छन्— अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत । यसमध्ये नेपालनै सबैभन्दा तल्लो वरीयताको टिम हो । धेरैको पहिलो प्रतिक्रिया छ— यो नेपालका लागि निकै कठिन समूह हो । यद्यपि छनौटका आठवटै समूह कुनै न कुनै रूपमा कठिन छन् । प्रत्येक समूहमा कुनै न कुनै बलिया टिम छन् । यस्तोमा नेपालका लागि विश्वकप छनौट दुर्लभ अवसर बनेको छ । त्यसैले त नेपाली टिमका प्रशिक्षक योहान कालिन पनि उत्तिकै उत्साहित छन् ।
कालिन भन्छन्, ‘स्तरीय टिमविरुद्ध खेल्नु राम्रो हो । युरोपमा खेल्ने खेलाडीले भरिएको अस्ट्रेलियालाई लिएर हामी उत्साहित छौं । हो, अस्ट्रेलियाविरुद्ध खेल्न कठिन हुनेछ, तर यो हाम्रा लागि नयाँ चुनौती हुनेछ ।’ नेपालले यसपटक विश्वकप एसियाली छनौटमा सिधैं दोस्रो चरणमा प्रवेश पाएको हो, पहिलो चरण खेल्नै परेन् । नेपालले अब ‘होम एन्ड अवे’ का आधारमा छनौटका आठ खेल खेल्नेछ र आउने दुई वर्ष राष्ट्रिय टिम लगातार व्यस्त जस्तै रहनेछ ।
वरियताका आधारमा नेपाल समूहकै सबैभन्दा कमजोर टिम हो, तर जति बेला नेपालविरुद्ध यो समूहका टिम दर्शकले भरीभराउ दशरथ रंगशालाको मैदानमा
उत्रने छन्, त्यति बेला यो वरियताको अर्थ कम हुन सक्छ । समूहमा सबैभन्दा माथि ४३ औं स्थानमा अस्ट्रेलिया छ र उसले रुसमा भएको पछिल्लो विश्वकप पनि खेलेको थियो । यस्तै जोर्डन ९८ औं, चाइनिज ताइपेई १ सय २५ औं तथा कुवेत १ सय ५६ औं स्थानमा छन् ।
दोस्रो चरणको प्रत्येक समूह विजेता आठ टिमले छनौटको अन्तिम चरणमा प्रवेश पाउनेछन् । यस्तै दोस्रो स्थानमा रहने आठ टिममध्ये उत्कृष्ट चारले पनि छनौटको अन्तिम चरण खेल्नेछन् । यसरी अन्तिम छनौटमा पुग्ने १२ टिमले सिधै सन् २०२३ को एसियाकप खेल्नेछन् । एसियाकपमा खेल्ने बाँकी १२ टिमका लागि फेरि अर्को छनौट हुनेछ । त्यसैले यसपटकको विश्वकप छनौट एसियाकपको सुरुवाती छनौट पनि हो ।
छनौटमा नेपालको खेल कस्तो हुनेछ त ? फरवार्ड नवयुग श्रेष्ठले भनेका छन्, ‘हामीले राम्रो मेहनत गर्न सक्यौं भने कुवेत र चाइनिज ताइपेईलाई हराउन सक्छौं । अस्ट्रेलिया र जोर्डन माथिल्लो स्तरका टिम हुन्, यी दुई टिमविरुद्ध रोक्ने रणनीति लिएर खेल्नु पर्ने हुन्छ ।’ हुन पनि नेपालले आफ्ना समर्थकमाझ दशरथ रंगशालामा खेल्दा पक्कै पनि कुवेत र चाइनिज ताइपेईविरुद्ध राम्रो नतिजा निकाल्न सक्छ । त्यसैले यसपटकको छनौटमा नेपाली दर्शकको समर्थन पनि एउटा निर्णायक पक्ष हुनेछ ।