उभिएर हिँड्ने बेलादेखि नै हो, उनीहरूले बललाई लात्ती हान्न थालेको । बिस्तारै उनीहरू आफ्नो घर–वरिपरिका साथीहरू जम्मा पारेर खेल्न थाले । उनीहरूको मनमा रहर पनि पलायो, फुटबल खेलाडी बन्ने तर कसरी बन्ने थाहा थिएन । फुटबल खेलाडी बन्न त्यति सहज छैन ।
कडा परिश्रम गर्नुपर्छ भन्ने कुरा बुझेका अभिभावकमा आफ्नो बाबुनानीमा खेल कौशलका बारेमा जानकारी दिने इच्छा पलायो, त्यसपछि फुटबल सिकाउने ठाउँको खोजी गरियो । यसै क्रममा पोखराको संगम क्लबले ग्रासरुटदेखि नै फुटबल प्रशिक्षण गराई खेलाडी उत्पादन गर्ने हेतुले संगम फुटबल एकेडेमी सञ्चालनमा ल्यायो । हालै सञ्चालनमा आएको यो एकेडेमीमा ६० जना बालबालिका भर्ना भैसकका छन् ।
यहाँ फुटबल सिक्न महिनाको ७ सय रुपैयाँ तिर्नुपर्छ । एकेडेमीमा ७ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई बल टच गर्न, पास खेल्न, रनिङ गर्न, सुटिङ, पावर, ओभर ल्याप, टेक्निक, स्किलसहित बेसिक ड्रिल सिकाइन्छ । फुटबलको विकासका लागि क्लबले एकेडेमी सञ्चालनमा ल्याएको संगम क्लबका अध्यक्ष शिव गुरुङ मायाले बताए । संगम क्लब ए डिभिजन लिग खेलिसकेको क्लब समेत हो ।
त्यहाँ पुग्ने बालबालिकालाई शिव गुरुङ, अनिष तामाङ तथा रिम गुरुङले प्रशिक्षण गराइरहेका छन् भने अतिथि प्रशिक्षकका रूपमा राजेन्द्र तामाङले सघाउँदैछन् । यहाँ ७ देखि १२ र १२ देखि १४ वर्षका गरी दुई समूहमा राखेर प्रशिक्षण दिइने गरेको छ । बिहान ६ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि साढे ६ बजेसम्म फुटबल खेल्न सिकाइन्छ । संगम क्लबले अहिले पोखरा महानगरपालिका वडा नम्बर–१३ तथा भद्रकाली गुठीसँगको समन्वयमा खेल मैदानको प्रयोग गरिरहेको छ । ग्रासरुटबाटै सुरु गरियो भने मात्र फुटबलमा नयाँ खेलाडी उत्पादन हुनसक्छन् भन्ने सोचले देशभर नै यसरी ग्रासरुट लेभलमा प्रशिक्षण प्रदान गर्न थालिएको छ ।