साप्ताहिक संवाददाता
अभिनेत्री नम्रता श्रेष्ठलाई प्रायशः दर्शकले चलचित्रमा रोमान्टिक फ्लेभरको भूमिकामा देखिइरहेका छन् । ‘सानो संसार’देखि ‘क्लासिक’ सम्म आइपुग्दा रोमान्टिक छविलाई नै निरन्तरता दिइरहेकी नम्र्रता यही साता एक्सन चलचित्र ‘जाइरा’ लिएर दर्शकमाझ पुग्दैछिन् । चलचित्रमा उनी मार्सल आर्ट्स खेलाडीको चरित्रमा प्रस्तुत हुँदैछिन् ।
चलचित्रमा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सुजिता श्रेष्ठ, सम्राट मगर, सिर्जना रेग्मी आदि कलाकारको अभिनय छ । यो चलचित्रका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् ।
नम्रता श्रेष्ठ : जाइरामा म मार्सल आर्टस् खेलाडीको चरित्रमा देखिँदैछु । मिक्स मार्सल आर्ट फाइटसँग नेपालीहरू त्यति धेरै परिचित नभएकाले यो चलचित्र केही अनौठो लाग्न सक्छ । मैले यो चलचित्रका लागि तालिम लिँदा मार्सल आर्ट्सका कोचबाट साँच्चिको मुक्कासमेत खाएँ । त्यो मुक्काले मेरो गाला निकै सुन्निएको थियो । स्पोर्ट्स ड्रामामा आधारित यो चलचित्रको एक्सन दर्शकहरूले मन पराउनु हुनेछ भन्नेमा आशावादी छु ।
आशुतोष राज श्रेष्ठ : मैले झन्डै तीन वर्षको मेहनतमा यो चलचित्रको कथा तयार पारेको हुँ । यो चलचित्रमा भरपुर एक्सनसँगै रोमान्स र ग्ल्यामर पनि छ । ‘जाइरा’मा अलिक फरक किसिमको एक्सन छ ।
प्रमोद अग्रहरि : ‘जाइरा’ मा मेरो भूमिका खलनायककै भए पनि अन्य चलचित्रभन्दा फरक छ । यो चलचित्रमा भिलेनको जुन बुझाई, मनोविज्ञान र विचार छ, त्यो आफैंमा घिनलाग्दो र डरलाग्दो छ । आफूले यो चलचित्रमा निर्वाह गरेको भूमिकाबाट म निकै आनन्दित महसुस गरिरहेको छु ।
कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन तथा ट्रेन्डसेटर्सको व्यानरमा निर्माण भएको चलचित्र जाइरामा प्रसन्न गोपाली कार्यकारी निर्माता छन् । यो चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत, सम्राट बस्नेतको द्वन्द्व, केशव थापाको नृत्य एवं बाबु श्रेष्ठको छायांकन हेर्न पाइनेछ ।