साप्ताहिक संवाददाता
मदनमणि दीक्षित
वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा जन्मिएका दीक्षितको गत बिहीबार मृत्यु भएको हो । २०१४ सालदेखि पत्रकारिता सुरु गरेका दीक्षितले ३९ वर्ष पत्रकारिता गरेका थिए । दीक्षितद्वारा लिखित ४६ वटा कृति प्रकाशित छन् । दीक्षितले २०३९ सालमा ‘माधवी’ उपन्यासबाट मदन पुरस्कार प्राप्त गरेका थिए ।
सुभद्रा अधिकारी
वरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा गत शनिबार निधन भयो । काठमाडौंको असनमा वि.सं. २००३ मा जन्मिएकी सुभद्राको निमोनियाँका कारणले निधन भएको बताइएको छ । अधिकारीले २२ वर्षको उमेरमा नेपाली चलचित्र ‘मनको बाँध’ बाट डेब्यु गरेकी थिइन् । त्यसअघि उनी नाटकमा सक्रिय थिइन् ।
किशोर राना
चलचित्र निर्देशक किशोर राना मगरको बुधबार निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित उनको ५४ वर्षको उमेरमा राजधानीको निदान अस्पतालमा निधन भएको हो । राना ‘सीमारेखा’, ‘करोडपति’, ‘राँको’, ‘एक नम्बरको पाखे’ जस्ता सफल चलचित्रका निर्देशक हुन् । चलचित्र ‘प्रतिबिम्ब’ निर्माणको क्रममा निर्देशक राना अस्वस्थ भएपछि स्वास्थ्य अवस्था जाँच गराउँदा उनमा मृगौलामा समस्या देखिएको थियो ।