साप्ताहिक संवाददाता
भाद्र ८, २०७६
भलै नेपाली खेलाडी सोमपाल कामीले कुनै गतिलो योगदान दिने मौका पाएनन्, तर उनको टिम विन्नीपेग हक्सले क्यानाडामा भएको ग्लोबल ट्वान्टी–२० लिगको उपाधि जितेको छ । फाइनलमा हक्सले भ्यानकुभर नाइट्सलाई हराएको थियो ।
सोमपालले फाइनल पनि खेल्न पाएनन्, तर टिमको सफलतामा उनी उत्तिकै खुसी देखिए । पहिलो पल्ट विदेशी लिगमा खेल्ने मौका पाएका सोमपालले प्रतियोगितामा एकपल्ट मात्र खेल्ने अवसर पाए, तर त्यसमा उनको प्रदर्शन राम्रो रहेन ।
प्रतियोगितामा नेपालका सन्दीप लामिछाने टोरन्टो नेसनल्ससँग आबद्ध थिए । प्रतियोगितामा यो टिमको प्रदर्शन भने खासै राम्रो रहेन, बरु खेलाडीहरूले तलब नदिएको आरोप लगाएपछि यो टिम गलत कारणले समाचारमा आयो ।