साप्ताहिक संवाददाता
भाद्र १९, २०७६
नेपाली भलिबलको पहिलो स्टारडम चुम्ने खेलाडी हुन्— सिपोरा गुरुङ । उनी खेलाडी मात्र थिइनन्, मोडल थिइन्, चलचित्र अभिनेत्री पनि थिइन् । त्यसैले गर्दा उनले भलिबल सुन्दरीको उपमा समेत पाइन् ।
यिनै पोखरेली खेलाडी सिपोरा पुनरागमनको प्रयासमा छिन् । दुई वर्ष सक्रिय खेल जीवनबाट टाढिएकी गुरुङ कमब्याकका लागि पूरा मेहनत पनि गरिरहेकी छिन् । सानो उमेरमै भलिबलमा छाएकी सिपोरालाई केही समययता घुँडाको चोटले सताइरहेको थियो । उनी अहिले त्यो चोटबाट लगभग मुक्त भएकी छिन् ।
अहिले उनको खास बसाइ अमेरिकामा छ । उनी त्यहाँ अध्ययन पनि गरिरहेकी छिन्, अनि भलिबलको अभ्यास पनि । अबको उनको लक्ष्य हो— दक्षिण एसियाली खेलकुदमा सहभागी हुने महिला भलिबल टिममा पर्नु ।