साप्ताहिक संवाददाता
केही समय नै भयो, नेपाली क्रिकेटको आधार मानिएका ज्ञानेन्द्र मल्लले लय समात्न नसकेको, पछिल्ला केही खेलमा नेपालका लागि खेल्दा अधिकांश समय उनको प्रदर्शन कमजोर देखिएको छ । यस्तोमा आलोचना पनि सुरु भएको थियो, ज्ञानेन्द्रले खराव खेल्दा पनि किन नियमित अवसर पाइरहेका छन् ?
यिनै ज्ञानेन्द्रले अहिले नेपालले ओमानमा खेल्न लागेको एउटा प्रतियोगिताका लागि आफू उपलब्ध हुन नसक्ने बताएर सबैलाई चकित पारेका छन् । ओमानमा ५ टिमको टी–ट्वान्टी क्रिकेट हुँदैछ । उप–कप्तानको भूमिकामा समेत रहेका ज्ञानेन्द्रले उक्त प्रतियोगिताको पूर्वसन्ध्यामा किन यस्तो निर्णय लिए ?
यसका पछाडि विज्ञहरूको आ–आफ्नै धारणा छ । भन्न त ओमान नजानुका पछाडि ज्ञानेन्द्रको व्यक्तिगत कारण भएको पनि बताइन्छ । ज्ञानेन्द्र सम्भवत: केही समय आराम गर्न चाहन्छन् अथवा उनले आफ्नो ध्यान उत्कृष्ट लय समात्नेतर्फ केन्द्रित गर्न चाहेका हुन् कि ? यद्यपि यो अहिले कौतूहलकै विषय भएको छ ।