साप्ताहिक संवाददाता
अबको केही दिन नेपाली फुटबल निकै व्यस्त हुनेछ र यो नेपाली टिमका प्रशिक्षक योहान कालिनको पहिलो वास्तविक परीक्षा पनि हुनेछ । चार मैत्रीपूर्ण अभ्यास खेलपछि उनको नेतृत्वमा नेपालले विश्वकप छनौट खेल्दैछ । हिजो मात्र नेपालले कुवेतविरुद्ध यसपटकको छनौटको पहिलो खेल खेल्यो । अब मंगलबार चिनियाँ ताइपेयविरुद्ध खेल्नेछ । यो एसियाकपको छनौट खेल पनि हो ।
यो प्रतिस्पर्धाले अबको केही वर्ष नेपाली राष्ट्रिय टिमले कस्तो बाटो तय गर्नेछ भन्ने कुरा तय गर्नेछ । किन भन्दा नेपाली राष्ट्रिय टिममा फेरि एकपटक पुस्ता हस्तान्तरणको समय आएको छ । केही दिनअघि मात्र नेपालले मलेसियाको सुपर लिग च्याम्पियन जोहार दारुलविरुद्ध खेलेको थियो र त्यसमा विश्वकप छनौटका लागि घोषित टिमका अधिकांश पुराना खेलाडी थिएनन् । त्यसको एउटा कारण थियो, पुराना खास–खास खेलाडीलाई आराम दिइनु ।
अर्काे कारण हो, केही खेलाडी विदेशी व्यवसायिक लिगमा पनि व्यस्त थिए अनि केही खेलाडी वास्तवमै रोजाइमा परेनन् । त्यसमा सबैभन्दा अगाडि छन्, नेपाली टिमका लागि सर्वाधिक क्याप जितेका विराज महर्जन । त्यसमाथि उनी कप्तान पनि हुन् । उनले नेपालका तर्फबाट ७२ पटक खेलिसकेका छन् । त्यसो त उनी अहिले पूर्णत: फिट स्थितिमा छैनन्, तर मुख्य तथ्य के हो भने अब नेपाली टिममा यी डिफेन्डरको विकल्प दिन सक्ने खेलाडी तयार भैसकेका छन् ।
विराजको राइट ब्याक पोजिसनमा खेल्न सक्ने उनी जत्तिकै अथवा उनी भन्दा राम्रा खेलाडी अहिले उपलब्ध छन् । यस्तोमा प्रशिक्षक कालिनले धेरै हदसम्म जोमिख मोल्नु नै ठीक माने । उनले भनेका छन्, ‘प्रशिक्षकमा केही राम्रा खेलाडी अगाडि आएका छन् । टिममा स्थान बनाउने राम्रा खेलाडीले नै हो ।’ यसको सिधा–सिधा अर्थ हो, अब विराजको खेल जीवन लगभग अन्त्यतिर पुगेको छ । होइन, उनले आफ्नो खेल जीवनलाई अझ लम्ब्याउन चाहन्छन् भने नयाँ खेलाडीसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यसका लागि उनी आफैंले पनि कडा मेहनत गर्नुपर्नेछ । साँच्चै उनको अनुपस्थितिमा कसले नियमित रूपमा कप्तानी गर्नेछन् त ? यसको उत्तरका रूपमा प्रशिक्षक कालिनले गोलरक्षक किरण लिम्बूलाई अवसर दिएका छन् । किरणसँगै अर्का अनुभवी खेलाडी रोहित पनि अवसरको पर्खाइमा छन् । रोहित इन्डोनेसियाको लिगमा ब्यस्त रहनु र किरण जापानी लिगका लागि ट्रायल दिन जान लागेकाले यी दुवै खेलाडी मलेसिया गएनन् ।
मलेसियाली क्लबविरुद्धको खेल नयाँ र युवा खेलाडीका लागि अर्को परीक्षा रह्यो । अहिले सबैभन्दा बढी नयाँ अनुहारले भरिएको क्षेत्र हो, डिफेन्स । त्यसमा अनन्त तामाङलाई छाडेर लगभग सबै नयाँ छन्, सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, देवेन्द्र तामाङ तथा सुमन अर्याल । रजिन धिमाल पनि केही समयपछि नेपाली टिमका फर्किएका हुन् । अन्यथा नेपाली टिममा सबैभन्दा बढी अनुभवी खेलाडी रक्षापंंक्तिमै हुन्थ्यो ।
मिडफिल्डमा रोहतपछि सुजल श्रेष्ठ, अञ्जन विष्ट, विक्रम लामा र विशाल राई मात्र अनुभवी छन् । त्यसपछिका सुनिल बल, रवि पासवान, हेमन गुरुङ, तेज तामाङ तथा सन्तोष तामाङलाई नयाँ अनुहारनै मान्न सकिन्छ । अग्रपंक्तिमा कम उमेरका भए पनि विमल घर्तीमगरसँग नेपालबाट खेलेको राम्रै अनुभव छ । यस्तै स्थिति नवयुग श्रेष्ठको पनि छ । अहिले नेपाली टिममा नयाँ फरवार्डका रूपमा अभिषेक रिजालको पनि उदय भएको छ ।