साप्ताहिक संवाददाता
पूजा शर्मा, अभिनेत्री
चलचित्रमा आउन हतार गर्नु
सुरुवाती दिनमा मैले केही चलचित्र हतारमा गरें जस्तो लाग्छ । यदि मैले ती चलचित्रमा काम गर्नुभन्दा पहिले अभिनय सिकेर मात्र गरेको भए अझ राम्रो गर्न सक्थें कि ?
जसलाई पनि सहजै विश्वास गर्नु
मैले धेरै मानिसहरूसँग संगत गरें तर, केही मानिसप्रति भने उनीहरूको व्यवहार नै नबुझी विश्वास गरें जसले गर्दा अहिले पछुताउनुपरेको छ ।
आमाको कुरा नमान्नु
म बच्चै थिएँ । दसैंका बेला गाउँमा पिङ हालिएको थियो । आमाले पिङ खेल्न नजा’ भन्दाभन्दै गएँ । आखिर पिङबाट खसेर टाउकोमा ठूलो चोट लाग्यो । त्यो चोट लागेको ठाउँमा अहिले कपाल पलाउँदैन । त्यसैले त्यतिबेला आमाले भनेको नमानेर ठूलै गल्ती गरेछु, जस्तो लाग्छ ।
नेपालमै चलचित्र छायांकन नगर्नु
केहि समय अघि चलचित्र ‘समालिन्छ कहिले मन’को छायांकन विदेशमा गरियो, जसले गर्दा धेरै दु:खसमेत पाइयो । यदि नेपालमै छायांकन गरिएको भए धेरै राम्रो र स्तरीय काम हुन सक्थ्यो अनि दु:ख पनि कम हुन्थ्यो ।
‘प्रेमगीत’ आफ्नै ब्यानरमा नबनाउनु
चलचित्र प्रेमगीतले मलाई सिने नगरीमा चिनायो । यद्यपि यो चलचित्रलाई आफ्नै ब्यानरमा निर्माण गर्न पाएको भए धेरै राम्रो हुन्थ्यो भन्ने अहिले आएर लाग्न थालेको छ । त्यतिबेला यो कुरामा वास्ता नगरेर ठूलै भूल गरिएछ भन्ने लागेको छ ।