बलिउड, साउथ तथा भोजपुरी फिल्मी इण्डस्ट्रिजका सुपरस्टार रवि किसन भाजपाका सांसद समेत हुन् । गोरखपुरबाट सांसदमा भारी मतले जित हासिल गरेका उनी धेरैजसो समय दिल्लीमा भेटिन्छन् । मुम्बईमा उनको घर छ । बेला–बेला त्यहाँ पुग्छन् । परिवारलाई भेट्छन् र तुरुन्तै गोरखपुर फर्किन्छन् ।
कामको धपेडी धेरै छ, फुर्सद मिलाएर परिवारलाई समय दिने गरेको छु, लामो हाँसोका बिच रवि किसनले भने, ‘म जतिसुकै व्यस्त भएपनि समय मिलाएर परिवारलाई समय दिने कोसिस गरिरहेको छु ।’
भर्खरै प्रदर्शन भएको चलचित्र बाटला हाउसमा समेत महत्वपुर्ण भुमिकामा देखिएका उनी आफैलाई पनि कति चलचित्रमा काम गरें भन्ने एकिन छैन । यद्यपी, ३ सयका हाराहारीमा चलचित्रमा काम गरेको उनको अनुमान छ ।
अभिनेता रवि किसन सांसदमा चुनिएपछि चलचित्रलाई भरपुर मात्रामा समय दिन सकिरहेका छैनन् । भन्छन्, ‘पहिले म अभिनेता मात्रै थिएँ । चलचित्रको काम नभएको खण्डमा समाजसेवामा समय दिन्थें । तर, अहिले सांसदमा चुनिएपछि अभिनयलाई पुर्ण रुपमा समय दिन सकिरहेको छैन ।’ अहिले् ७५ प्रतिशत राजनिती र अरु बाँकी काम चलचित्रलाई दिने गरेको उनले बताए ।
बलिउड शहर स्थित मुम्बईको आफ्नै घरमा भेटिएका रवि किसनले छिट्टै आफुले साइन गरेका चलचित्रको काम सकाउने योजना गराएका छन् । केहि पेण्डिङ काम सम्पन्न गरिसकेपछि मात्रै नयाँ चलचित्रमा साइन गर्ने उनले बताए ।
रवि किसन निकै सफल कलाकार मानिन्छन् । चलचित्र क्षेत्रबाट मनग्ये नाम, दाम कमाए । उनै रवि किसन सफलता र असफलतालाई कसरी मापन गर्छन् ? धेरैका लागि चासोको विषय हुन सक्छ । भन्छन्, ‘जीवनमा सफलता र असफलता भन्ने कुरा त्यो व्यक्तिले सोच्ने धरातलमा भर पर्छ । आफुभन्दा तलको धरातल हेर्ने हो भने जो व्यक्ति पनि आफुलाई सफल ठान्न सक्छ ।’
‘मलाई पनि समय लाग्यो, सुपरस्टार बन्नका लागी । मलाई सांसद बन्नका लागी समय लाग्यो’, उनले थपे, ‘हरेकको समय आउँछ । हार मान्नु हुँदैन । संसारमा कसैलाई पनि उसले सोचेको काम गर्नका लागि ढोका खुल्ला छ । प्रयास गरे सबै कुरा सम्भव छ ।’
रवि किसनका बारेमा गुगल र सामाजिक सन्जालबाट धेरै कुरा थाहा हुन्छ । तर, बाल्यकाल कस्तो थियो ? शुभचिन्तकहरुले यसको जवाफ जान्न चाहेका छन्, बताइदिनोस् न ! उनले आनाकानी गरेनन् । भने, ‘बचपन रमाइलो थियो । तर, अहिलेका बच्चाबच्चीले त्यो बाल्यकाल देख्न सक्दैनन्, अब देख्न पाउने छैनन् ।’
बिहान उठेपछि साँझ सम्म माटोमै खेलिन्थ्यो । कपडा फोहोर हुन्थे । कुनै चिन्ता थिएन । मन लागेको खाइन्थ्यो । थप्छन्, ‘आजकालका बच्चाबच्चीहरु कन्ट्रोलमा छैनन् । दिनरात मोवाइल र टिभीमा भुल्छन् । जंकफुड खाने बानी छ । अस्वस्थ छन् ।’
पछिल्लो पुस्ताको स्वास्थ्य अवस्था सानै उमेरदेखि बिग्रने गरेको उनको भनाई छ ।
म भेजिटेरियन हुँ । मेरो शरीर स्वस्थ छ । उनी भन्छन्, ‘आजकाल खान पाए हुन्छ । प्रधानमन्त्री नरेन्द्र मोदी भन्नुहुन्छ स्वस्थ हुनेहो भने डिप्रेसनमा गईदैन । बिमारी भईदैन ।’ अस्वस्थ जीवनशैली सबैभन्दा धेरै दुःखदायी हुने भन्दै रवि किसन भन्छन्, ‘सानो उमेरदेखिनै आफ्नो स्वास्थ्यको ख्याल गर्नेहो भने पछि कुनै रोग लाग्दैन ।’
विहानै उठ्ने । पार्टि र भोजभतेरमा कम सहभागीता जनाउने । पार्टिमा गए समयमै फर्किनुपर्छ, –उनले भने ।
रवि किसनको लाइफस्टायल रोचक छ । विहान ५ वजे उठिसक्छन् । आधा देखि १ घण्टा योगा गर्छन् । एकछिन भगवानको प्रार्थना गर्छन् । त्यसपछि मनतातो पानी खान्छन् । दिनभरको कामको योजना गराउँछन् । विहान केहि खाजा खाएपछि अलिकति ढिला खाना खान्छन् । उनी भन्छन्, ‘मैले जस्तोपायो त्यस्तै खानपान गर्दिनँ । खानपानमा हेलचेक्र्याई गर्ने व्यक्ति सबैभन्दा धेरै रोगी बन्छन् ।’
पहिलो कुरा आफुले आफैलाई समय दिनुपर्छ । भन्छन्, ‘आफुले आफैलाई माया गर्न नजान्ने हो भने अर्काले आफुलाई कसरी माया गर्छ ?’