साप्ताहिक संवाददाता
भाद्र २५, २०७६
कुनै पनि खेलाडीको सपना हुन्छ— आफ्नो देशको प्रतिनिधित्व गर्दै खेल्ने । त्यसरी खेल्न पाएपछि अझ ठूलो सपना हुन्छ, देशकै कप्तानी गर्ने । यस्तै सपना बुनेका खेलाडी हुन्, फुटबलका सुजल श्रेष्ठ । विश्वकप छनौट तयारीमा रहेको नेपालको राष्ट्रिय टिमले हालै मलेसियाको जोहार दारुम टाजिमविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो ।
मलेसियाली लिग च्याम्पियन क्लबविरुद्ध उत्रिएको टिमका कप्तान थिए, तिनै सुजल । टिमको नेतृत्व गर्न पाएकोमा सुजल जति खुसी थिए, उनी त्यत्तिकै भाग्यमानी पनि रहे । नियमित कप्तान विराज महर्जनदेखि वरिष्ठ खेलाडी किरण चेम्जोङ टिममा नरहेको स्थितिमा सुजलले नेतृत्वको उक्त मौका पाएका हुन् ।
सुजलकै शब्दमा कुनै दिन नेपालको कप्तान हुन्छु भनेर सोचेकै थिइन, तर जति बेला यो मौका आयो, मेरो खुसीको सीमा रहेन ।