साप्ताहिक संवाददाता
हरेक वर्ष नियमित रुपमा हुँदै आइरहेको चिनियाँ चलचित्र महोत्सव आगामी २०७६ भाद्र ३१ देखि असोज २ गते सम्म आयोजना हुने भएको छ । नेपालस्थित चिनियाँ साास्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा हुने महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहनेछ ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सवमा यसपालि ६ वटा चिनियाँ चलचित्र प्रदर्शन गरिने भएको वल्र्ड कल्चरल नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमालले जानकारी गराए । रिमालका अनुसार महोत्सवमा चर्चित निर्देशक वङ्गकार वाई निर्देशित ‘द ग्राण्डमास्टर’, दाँते लाम निर्देशित ‘अपरेसन मेकङ’, जा ज्याक्युज अनौद निर्देशित ‘वुल्फ टोटेम’, लेस्त चेन निर्देशित ‘ब्याटल अफ मेमोरिज’, हान यान निर्देशित ‘गो अवे मिस्टर ट्युमर’ र हाइ चोङ निर्देशित ‘रनिङ लाईक विन्ड’ प्रदर्शन गरिनेछ ।
महोत्सव अन्तर्गत नै यस वर्ष पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्यूटका प्रोफेसर चेन सुगुआङसँग एउटा विशेष अन्तरसंवादको कार्यक्रम पनि राखिएको वल्र्ड कल्चरल नेटका अध्यक्ष दिपक सरकारले बताए । भन्छन्– ‘यो अन्तरसंवादले नेपाली चलचित्रकर्मीहरुलाई चिनियाँ कला र चलचित्रको बारेमा बुझ्न सजिलो हुने र चलचित्रका माध्यमबाट दुई देशबीचको नागरिकहरुलाई एकआपसको संस्कृतिको बारेमा जानकार भई सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुग्ने छ ।’