नेपालको झन्डा बोकेर विदेशी भुमिमा दैडिरहेका हुन्छन् दिनानाथ बगाले । बाबा शिवप्रसाद र आमा मायादेबी बगालेको कोखबाट सन् १९७९ गोर्खामा जन्मेका दिनानाथ २००४ मा हङकङ आएपछि आजको दिनसम्म नेपालको प्रतिनिधित्व गर्दै निरन्तर दौडिरहेका छन् ।
नेपालमा रहदा ट्रेकिङ कम्पनीमा टुर गाईड गर्ने उनी प्राय नेपाली हिमश्रृखला र डाँडाकाँडाहरुमा पुगिसकेका छन् । नयाँ ठाउँ घुम्न र त्यहाँको संस्कृतिसँग नजिकिन मन पराउँने दिनानाथ हङकङ आएपछि के गर्ने भन्ने मै रनभुल्लमा थिए ।
संयोग भनौं या भाग्य उनले यस्तो कम्पनीमा काम गर्ने शुरु गरें, जसले उनको कर्मसँगै सपनासँग पनि नजिक बनायो । उनी नेपालजस्तै प्राकृतिक मनोरम स्थलको खोजीमा हङकङका विभिन्न स्थानमा गईरहन्थे । पहिलोपटक उनी काम गर्ने कम्पनीले अक्स्फाम ट्रेल रेशको आयोजना गऱ्यो । साथीहरुको हौसला र आफ्नो दृढ विश्वासकै कारण दिनानाथ सहभागी भए । पहिलोपटक सहभागी रेशमा कुशलतापूर्वक १०० किलोमिटर दौडिसकेपछि उनलाई आफ्नो क्षमता माथी विश्वास लाग्न थाल्यो ।
लगभग १०० भन्दा बढि ट्रेल रेशमा सहभागी भईसकेका छन् दिनानाथ । हरेक रेशमा नेपालको झन्डा बोकेर दौड्ने उनी संसारमा नेपाली भनेर आफ्नो परिचय दिदा गौरव महशुस हुने बताउँछन् । प्राय नेपालीहरु भेट्टिनु हुन्न, हाम्रो देशको बारेमा जिज्ञासा राख्नु हुन्छ म पनि गर्वका साथ हाम्रो सगरमाथा, बुद्ध अनि प्राकृतिक मनोरमता र सांस्कृतिक विविधताको बारेमा खुलेर भन्छु उनी भन्छन् ।
दिनानाथ सन् २०१७, १८ र २०१९ मा चाईनाको मेली माउन्टेनमा १०० किलोमिटरको दौड, जापानको फुजी माउन्टेनमा १६८ किलोमिटरको दौड, खम्मीङ कन्ट्रिपार्क चाईनामा ११० किलोमिटरको दौड लगायतमा सहभागी भईसकेका छन् । हरेक दौडमा दोश्रो, तेश्रो पोजिसनसँगै आफ्नो प्रर्दशनलाई उत्कृष्ट बनाएकै हुन्छन् ।
पछिल्लो समय फ्रान्समा आयोजित विश्वकै सवैभन्दा ठुलो अल्ट्रा रेश (युटिएमबी) अल्ट्रा ट्रेल माउन्टेन ब्लाङ्गमा सहभागी भएका थिए उनी । १७१ किलोमिटर लामो रेश ३६ घण्टा १० मिनेटमा पुरा गरे ।
‘अन्य रेश भन्दा साहसिक लाग्यो यो रेश, मैले आफुलाई सहभागी हुन पाउँनु नै भाग्यमानी ठानेको छु’ – हसिला दिनानाथ बताउँछन् ।
आफ्नै खर्चमा दौड्दै
बर्षमा ३ देखि ५ वटा सम्म अन्र्तराष्ट्रिय दौडमा सहभागिता हुने दिनानाथ सम्पुर्ण लागत खर्च आफैले बेहोरेको बताउँछन् । उनी भन्छन् मैले अहिलेसम्म कसैको प्रायोजनमा काम गरेको छैन, अन्य कम्पनीहरुको प्रायोजनमा प्रतियोगितामा सहभागी हुँदा सम्बन्धित कम्पनीको प्रचारको लागि काम गर्नुपर्ने हुन्छ तर म मेरो देशको लागि दौडिदैछु । मलाई मेरो देशको पहिचान हुने सामाग्रीहरुको प्रचार गर्नु छ ।
हरेक खेलकुदमा सहभागी हुदा २५० डलर देखि २२०० डलरसम्म तिर्नुे पर्ने बताउँछन् दिनानाथ । खेलकुदका लागि तयारी, यातायातका साथै अन्य बन्दोबस्तका लागि लाग्ने खर्च त हुने नै भयो ।
नेपालमा जिओग्राफी एक्स्पेडिसन एडभेन्चर ट्रेकिङ कम्पनी शुरुवात गरेका उनी कम्पनी मार्फत पर्यटकीय सम्भावनाहरुको खोजीसँगै पर्यटकहरुलाई नेपाल घुम्नका लागि अभिप्रेरित गरिरहेका हुन्छन् । नेपालमा पर्यटनको सम्भावना प्रचुर छ, मात्र धैर्यता र सीपको खाँचो छ । पर्यटकहरुलाई नेपाल घुमाउँदै यहाँको शुन्दर प्राकृतिक वातावरणको वर्णन गर्ने हो, भने संसारका पर्यटकहरुलाई नेपाल घुमाउन सकिन्छ आत्मविश्वासी दिनानाथ भन्छन ।
हङकङलाई कर्मथलो बनाएका उनको पर्यटकीय सपना र आफ्नो मातृभुमीप्रतिको अगाध आस्थाले जो कोहिलाई उत्साहित बनाउँछ ।