साप्ताहिक संवाददाता
हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला) कलाकारितासँगै समाज सेवामा पनि सक्रिय छन् । उनले गत मंगलबार आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।
बरहथवा नगरपालिकास्थित सरस्वती उमाविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन् ।
महिनावारी हुँदा अधिकांश छात्रा विद्यालय नआउने गरेको थाहा पाएँ । तर, उनीहरुले अध्ययन गर्न पाउनुपर्छ, रिजाल भन्छन् ‘एक दातृसंस्थाबाट पाएको स्यानेटरी प्याडसँगै मैले केहि सहयोग समेत गरेको छु ।’
सोही विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार दुई छात्र र छात्रालाई छात्रवृत्तिका लागी आर्थिक सहयोग समेत गरेका छन् । कार्यक्रममा कलाकार रिजालले आफ्ना बुबाआमाको नाममा रहेको जगत कृष्णमाया रिजाल फाउन्डेसनको तर्फबाट एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाका लागि विद्यालयका प्रधानाध्यापक भरत महतोलाई चेक समेत प्रदान गरे ।
त्यसक्रममा उनले विद्यार्थीहरुलाई ४० हजार रुपैयाँबराबरका कापीकलमसमेत वितरण गरे ।
त्यस्तै कक्षा ५ सम्म उनले अध्ययन गरेको पिपरभित्तास्थित जनता आधारभूत विद्यालयलाई समेत विपन्न एवं जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न फाउन्डेसनकै नामबाट ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । रिजालले सो विद्यालयका विद्यार्थीहरुलाई पनि कापीकलम प्रदान गरेका थिए ।