शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र पासवर्डको अघिल्लो दिन बिहीबार नै काठमाडौंमा भव्य प्रिमियर शोको आयोजना गरियो ।
पासवर्डको प्रिमियर शोलाई अझ आकर्षक बनाउने काम गरिन् बलिउड अभिनेत्री सन्नी लियोनीले । उनी दिउँसै काठमाडौंमा अवतरण गरे पनि प्रिमियर शोमा भने निकै ढिलो उपस्थित भइन् ।
शोमा उनी आउने जानकारी पाएपछि नेपालका सानादेखि ठूला मिडियाका संचारकर्मीहरूबीच उनी बिहानैदेखि समाचार बनिरहिन् । मुम्बईबाट उडिन्, काठमाडौंमा ओर्लिइन् । सन्नी आउने बेला नेपालका दर्जनौं युट्युबर एयरपोर्ट पुगिसकेका थिए । २ घन्टा एयरपोर्टबाहिर कुरेर बसेका युट्युबरहरू सन्नीलाई क्यामेरामा कैद गर्न पाउने आशाका साथ तयारी अवस्थामा थिए । सन्नीको प्रतीक्षामा घन्टौं कुरेर बसिरहेका युट्युबरहरू त्यतिबेला हिस्स परे, जतिबेला सन्नीले मुखसमेत नदेखाई गाडीमा पसिन् । निर्माण टिमका सदस्यले कुमारी हलमै आउनुहोस् भन्दै सन्नीलाई लिएर हायाततर्फ लागे । ठीक त्यतिबेला एयरपोर्टबाहिर एक युट्युबर भन्दै थिए, ‘अब सन्नीलाई बहिष्कार गर्नुपर्छ ।’
नेपाली युट्युबरहरूले बुझ्नुपर्ने कुरा के हो भने बलिउड स्टारहरूको फ्यान भ्यालु यति धेरै छ कि, नेपालको त के भारतकै कुनै मिडियाले बहिष्कार गर्दैमा केही हुनेवाला छैन, अझ युट्युबरको कुरा त टाढाकै विषय हुन्छ । अझ सन्नीलाई नेपालको एउटा त के सबै युट्युबरले बहिष्कार गरे पनि सन्नीको क्रेजमा कुनै किसिमको अन्तर पर्ने वाला पनि छैन ।
नेपाली कलाकारहरूलाई जिस्काएझैं युट्युबरले सन्नीलाई धम्काएर के हुन्छ ? केहि हुन्न ।
साँझ ६ बजे प्रिमियर भनिए पनि हलमा भने दिउँसो साढे ४ वजेदेखि नै युट्युबरहरूको बाक्लै भीड लागिसकेको थियो कुमारी हलमा । सन्नी साँझ साढे ८ बजेतिर मात्रै प्रिमियर स्थल आइपुगिन् । सन्नी आउनुभन्दा अघि युट्युबरहरूको जति भीड थियो, उनी आउँदा दोब्बर भैसकेको थियो । सन्नीलाई हेर्न पुगेका धेरैले उनको मुखसमेत देख्न पाएनन् ।
विमानस्थलमा युट्युबरहरूले जस्तो हर्कत देखाएका थिए, त्यसभन्दा बढी हर्कत कुमारी हलमा देखाए । बाउन्सर, हलमा नियमित सुरक्षार्थ खटिएका कर्मचारी र नेपाल प्रहरीका दर्जनौं जवानलाई समेत धकेल्दै सन्नीलाई कैद गर्न उनीहरू अघि–अघि सरे । धकेला–धकेल र हल्ला धेरै भयो ।
कार्यक्रम स्थलमा दर्शक तथा मिडियाका लागि जुन स्थान छुट्याइएको थियो त्यो सीमासमेत युट्युबरले नाघे । सन्नीको सुरक्षा दिन खटिएका बडीगार्डलाई पनि सन्नीलाई जोगाउन हम्मे–हम्मे भयो ।
युट्युबरहरूले मोवाइलबाटै युट्युबमा लाइभ समेत गरे । युट्युबरहरूको भीडभाडकै कारण पत्रकारसँग छोटो कुराकानी गर्ने तालिका समेत रद्द भयो । युट्युबर भन्दै थिए खिच्न त खिचियोे तर के खिचियो के खिचियो ।
आयोजकले प्रिमियरलाई भव्य बनाउन धेरै कोशिस गरेको थियो । सन्नीलाई नै देखाउनका लागि आयोजकले लाखे नाचको व्यवस्था गरेका थिए । विवाहमा जस्तै गेटदेखि भित्रसम्म भव्य सजावटका साथ उत्कृष्ट सेट निर्माण गरिएको थियो । पञ्चकन्याहरूबाट सन्नीलाई स्वागत गराउने आयोजकको तयारी थियो । तर, आयोजकले सन्नीलाई आकर्षित गर्न जे–जति तयारी गरेका थिए त्यो सफल हुन सकेन । सन्नी न त रेड कार्पेटमा हिँड्न सकिन् । न त उनले नेवारी लाखे नाच हेर्न नै पाइन् । नत, पन्चकन्याले उनको स्वागत नै गर्न पाए ।
सन्नीलाई हल भित्र पसेपछि युट्युबरबाट बच्न नै गाह्रो भो । सन्नीलाई खिच्न घेरिरहेका क्यामेराम्यानहरूले कुमारी हलका गमला समेत बाँकी राखेनन् । सन्नीलाई विशेष सुरक्षाका साथ स्टेजमा चढाइयो । एक्कासि युट्युबरहरू स्टेजमा चढेपछि माहौल अर्कै भयो । हुलदंगा सुरु भयो । धेरै युट्युबरहरू त स्टेजबाट भुइँमा पछारिए । यससँगै प्रहरीले युट्युबरलाई लखेट्यो । युट्युबरहरुको भागाभाग भयो ।
युट्युबरहरूको यस्तो किसिमको हर्कतसँगै सन्नीले स्टेजबाट आफू डराएको संकेत गरिन् । उनले संकेत गरेपछि सुरक्षागार्ड, बडीगार्डले विशेष सतर्कता अपनाए । उनले दुई शब्द बोलेपछि भनिन्, ‘मलाई तपाईंहरूसँग निकै डर लागिरहेको छ ।’ कोही विदेशी पाहुनाले नेपाल आउँदा खुसी लागिरहेको छ भनेर भन्नु त कहाँ हो कहाँ, तपाईंहरूसँग डर लागिरहेको छ भन्नु चानचुने कुरा होइन ।
व्यवस्थापन फितलो
यी अरु केही होइन, आयोजकले होसियारी अपनाउन नसक्नु पछाडिका कारणहरू हुन् । सन्नी लियोनीजस्ती चर्चित कलाकारलाई ल्याउँदा अलिकति पूर्वतयारी गर्नुपर्ने थियो । प्रिमियर भनिसकेपछि अतिथिहरूलाई मात्रै छिर्न दिनुपथ्र्यो होला । अर्को कुरा मिडियाकर्मीलाई बोलाइएको हो भने खास मिडियाका संचारकर्मीलाई मात्र भित्र पस्न दिनुपर्ने थियो । तर, त्यहाँ त कसलाई भित्र छिर्न दिने कसलाई नदिने विषयमा आयोजकको पक्षबाट सोच्ने कोही जिम्मेवार व्यक्ति नै भएनन् । सडकमा हिंडेका सामान्य मानिससमेत भित्र पसे । कार्यक्रम कति व्यवस्थित भयो र कस्तो प्रभाव प¥यो त्यो ठूलो कुरा हो । भीडभाड बढ्यो र धेरै क्यामेरा ठडिए भन्दै आत्मरतिमा रमाउनु राम्रो कुरा होइन । व्यवस्थापन राम्रो हुन नसक्दा आफूले अतिथिहरू कतिपय भित्र पसे । दर्जनौं अतिथि आयोजकको निमन्त्रणा कार्ड हातमा बोकेर बाहिरै सडकमा गफिए । त्यति सानो स्थलमा सयौं क्यामेरासहित सबैलाई खुल्ला छोडिएपछि यो स्वाभाविकै हुने भयो । बास्तबमा आयोजकको लापरबाही र कमजोरीका कारण यी सबै भए ।
२ मिनेट बोलेकी सन्नीले के भनिन् ?
सन्नीले नेपाल विश्वकै सुन्दर देश भन्दै प्रशंसा गरिन् । यसअघि दुईपटक नेपाल आइसकेकी सन्नीले हरेक पटक नेपाल आउँदा मनले छुट्टै आनन्द मान्ने बताइन् । चलचित्रको एक गीत ‘सन्नी हो मेरो नाम’ मा उनले आइटम नृत्य गरेकी छिन् । उक्त गीतमा नृत्य गर्न पाउँदा निकै खुसी लागेको सन्नीले बताइन् ।
आज फर्किइन्
सन्नी आज भारत फर्किएकी छिन् । आयोजकले पूर्ण जानकारी नदिए पनि सन्नीको पूर्व सेड्युअलअनुसार सन्नी आज भारत फर्किनुपर्ने छ ।