सामान्यत: कुनै चलचित्र रिलिज भएको अवस्थामा चलचित्र प्रदर्शन हुने वा नहुने भन्ने कुरा दर्शकमा भर पर्छ । कुनै चलचित्र रिलिज भएकै दिन हलबाट उत्रन्छ त कुनै चलचित्र साता दिनसम्म चलिरहन्छ । चलचित्र घरले हलको सिट संख्याका आधारमा २० देखि २५ प्रतिशत अकुपेन्सी रहे मात्र चलचित्र चलाउँछन् । त्यो भन्दा कम भयो भने चलचित्र प्रदर्शन हुने सम्भावना अत्यन्तै कम हुन्छ ।
यद्यपि नाटकको स्थिति भने फरक छ । नाटकघरलाई भने दर्शक नआउलान् भन्ने चिन्ता छैन । दर्शक संख्या ५ भए पनि वा सयभन्दा बढी भए पनि नाटक मञ्चन रोकिँदैन, निरन्तर चलिरहन्छ । काठमाडौंमा सञ्चालित प्रमुख नाटक घरमा दर्शकको अभाव छैन । नाटक घरका सञ्चालक तथा सदस्यहरूका अनुसार नाटक मञ्चनको दुई दिन जति दर्शक कम भए पनि तेस्रो दिनदेखि भने दर्शकको संख्या बढ्ने गरेको छ ।
कीर्तिपुरस्थित थिएटर मलका केदार श्रेष्ठ नाटकघरमा दर्शकको अभाव नरहने दाबी गर्छन् । ‘पाँच जना दर्शक भए पनि नाटक देखाइन्छ । किनभने नाटक पहिले नै यो मितिमा देखाइन्छ भनेर घोषणा गरिएको हुन्छ । त्यसमा फेरबदल हुँदैन’, केदार भन्छन्, ‘नाटक एउटै घरमा मञ्चन हुने भएकाले पनि दर्शक नआउलान् भन्ने चिन्ता रहँदैन । नाटक मञ्चन भएको एक दुईदिन कम दर्शक हुन्छन् भने तेस्रो दिनदेखि बढ्छन् । शनिबारको दिन हाउसफुल नै हुन्छ ।’
श्रेष्ठको बुझाइमा नाटक बनाउन जति गाह्रो कुरा हो, दर्शक जुटाउन अझ गाह्रो हुन्छ । ‘नाकाबन्दीको समयमा नाटक दर्शक निकै कम भएका थिए । त्यतिबेला अलिक तनाव पनि भयो’, केदार सम्झन्छन्, ‘कतिपय नाटकमा चाहिँ पहिलो शोदेखि नै दर्शकको भीड हुन्छ । त्यसकारण नाटक घरमा दर्शकको समस्या देख्दिनँ ।’
डिल्लीबजार, कालिकास्थानस्थित सर्वनाम थिएटरमा पनि दर्शकको अभाव छैन । थिएटरका राज शाह सर्वनाममा दर्शकको अभावले नाटक बन्द गर्नुपर्ने अवस्था नआएको बताउँछन् । ‘अहिलेसम्म दर्शकको अभाव खड्किएको छैन । नाटकमा ३० देखि ४० जनासम्म दर्शक त नियमित नै हुन्छन् । तीन चार जना भए पनि नाटक चलिरहन्छ । हाम्रा लागि एकजना दर्शक पनि महत्वपूर्ण छन्’, शाह भन्छन्, ‘हामी बिहीबार प्रिमियर गर्छौ । त्यसमा हाउसफुल हुन्छ । सर्वसाधारणका लागि शुक्रबारदेखि खुल्ला हुन्छ । सामाजिक सन्जालका कारण पनि थिएटर खाली चाहिँ हुँदैन् ।’ सर्वनाममा १ सय ८० सिट भए पनि दर्शकको चाप बढी भए सुकुल वा कार्पेटमा तीन सयसम्म दर्शक अटाउने क्षमता छ ।
थापागाउँस्थित कुञ्ज थिएटरका कमल ढकाल राज र केदारको भनाइसँग सहमत छन् । ‘नाटकमा दर्शकको अभाव छैन । सुरुवाती दुई दिनचाहिँ दर्शक संख्या पातलो नै हुन्छ । त्यसपछि दर्शक बढ्छन्’, कमल भन्छन्, ‘कुन्जामा मञ्चन भएको नाटक ‘बर्बरिक’ हेर्न झन्डै २० वर्षदेखि नाटक नै नहेरेका दर्शक पनि आए ।’ यो थिएटरमा झन्डै १ सय ५० दर्शक अटाउँछन् ।
अनामनगरस्थित मण्डला थिएटरका कलाकार बुद्धि तामाङ दर्शकको अभावका कारण नाटक नदेखाएको घटना मण्डलामा नभएको दाबी गर्छन् । ‘विविध कारणले दर्शक आएनन् भने पनि एक–दुईजना चाहिँ आइरहेकै हुन्छन् । कहिलेकाहीं त दर्शकभन्दा स्टेजका कलाकार बढी हुन्छन् । यस्तो अवस्थामा पनि नाटक देखाएकै छौं’, तामाङ भन्छन्, ‘शुक्रबारदेखि नाटक मञ्चन हुने हुँदा शुक्रबार, शनिबार र आइतबार थिएटर हाउसफूल नै हुन्छ । त्यसपछिका सोमबारदेखि बिहीबारसम्म अलिक कम दर्शक हुन्छन् । यद्यपि दर्शक नै नआएर शो अहिलेसम्म बन्द गर्नुपरेको छैन ।’ मण्डला थिएटरमा १ सय ५० सिट क्षमता छ ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा पनि दर्शकको अभावमा नाटक रोकिएको कुनै क्षण छैन । थिएटरका एक कर्मचारीका अनुसार नाटकमा दर्शकको संख्या राम्रो छ । अहिलेसम्म दर्शक नै नभएर नाटक रोक्नुपरेको कुनै रेकर्ड छैन । बरु चलचित्र छोडेर नाटक हेर्न आउने दर्शकको संख्या उल्लेख्य छ । शिल्पी थिएटरमा दर्शक क्षमता १ सय ४४ भए पनि भुइँमा कार्पेट ओछ्याएर बस्दा झन्डै १ सय ८० जना अट्छन् ।
नेपालमा पछिल्लो दशकमा चलचित्र भन्दा बढी नाटक रुचाउनेहरू प्रभावशाली छन् । नाटक र चलचित्रको टिकटको मूल्य करिब–करिब उस्तै हुने भएपनि समयावधिका कारण नाटक हेर्नेहरूको संख्या उल्लेख्य छ । एउटा चलचित्र औसत रूपमा १ घण्टा ३० मिनेटदेखि अधिकतम २ घण्टा ३० मिनेटको हुने भए पनि नाटकको समय अधिकतम् १ घण्टा ३० मिनेट मात्र हुन्छ ।