साप्ताहिक संवाददाता
अबका केही खेलले नेपालको फुटबलले कस्तो दिशा लिने हो भन्ने कुरा तय गर्नेछ । अहिले सारा विश्व फुटबल विश्वकपको छनोटमा अल्झिएको छ र चारैतिर यसको चर्चा छ । दक्षिण एसियाका लगभग सबै देशले विश्वकप छनोट खेलिरहेका छन् र तिनको प्रदर्शनमा पनि यस्तै अन्यौलता पाइन्छ । अहिलेसम्म भएका छनोटका दुई चरणका खेलमा यी दक्षिण एसियाली टिमको प्रदर्शन उतारचढावपूर्ण नै छ ।
आफ्नै घरमा ओमानसँग २–१ ले पराजित भएको भारतले एसियाली च्याम्पियन कतारलाई उसकै घरमा गोलरहित बराबरीमा रोक्यो । बंगलादेश पहिलो खेलमा अफगानिस्तानसँग १–० ले निराश भयो । दक्षिण एसियाली च्याम्पियन माल्दिभ्स चीनको हातबाट ५–० ले पराजित भयो । श्रीलंकाले भने तुर्कमेनिस्तानसँग २–० तथा उत्तर कोरियासँग १–० को झिनो अन्तरले माथ खायो ।
पछिल्लो साफ च्याम्पियनसिपमा सेमिफाइनल खेलेको नेपालको खेलमा पनि यस्तै उतारचढाव देखियो, टिमको प्रदर्शन थचारिएपछि सम्हालिएको जस्तै रह्यो । नेपालको प्रदर्शनको विश्लेषण सबैभन्दा पहिले सुखद पक्षबाटै, छनोटको आफ्नो दोस्रो खेलमा नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २–० ले हरायो जसमा दुवै गोल अञ्जन विष्टले गरेका थिए । यो जितको धेरै पक्ष ऐतिहासिक रह्यो । जस्तो, विश्वकप छनोटमा नेपालले दोस्रो चरणमा जित हात पारेको यो पहिलो पटक हो ।
विश्वकप छनोटमै नेपालको यो दुर्लभ पाँचौं जित हो । अझ सबैभन्दा ठूलो तथ्य त के भने होम एन्ड अवेका आधारमा भएको खेलमा नेपाल छनोट चरणमा घर बाहिर विजयी भएको यो पहिलो अवसर हो । त्यस्तै योहान कालिनले नेपाली टिम सम्हालेयताको पनि यो पहिलो जित हो, कालिनले यसअघिका चार खेलमा जितको मुख हेर्न पाएका थिएनन् । ताइपेईविरुद्धको पूरा खेल हेरेकाहरूले महसुस गरेको हुनु पर्छ, नेपालले लामो समयपछि राम्रो खेलेको थियो ।
नेपालको खेलमा गति थियो, पासमा सटीकपन देखिन्थ्यो । खेलाडीबीच आपसमा तालमेल देखिएको थियो । जितपछि निकै खुसी देखिएका प्रशिक्षक कालिनले पनि भने, ‘मैले चाहेको नेपालको खेल यस्तै हो ।’ तर यही टिमले कुवेतविरुद्ध गरेको प्रदर्शन भने कसैले चाहेको जस्तो थिएन् । नेपाल उक्त खेलमा नमज्जासँग ७–० ले पराजित भयो । नेपालले लामो समयपछि यति धेरै गोल अन्तरको हार बेहोरेको थियो । उक्त खेलमा भने नेपालको प्रदर्शनमा लाचार देखिन्थ्यो ।
कुवेतले बल अगाडि बढायो कि गोल हुने जस्तो स्थिति तयार हुन्थ्यो । उक्त खेल हेरेपछि भन्नै पर्ने हुन्छ, धन्न नेपालले सात गोल मात्र खायो, खेलको स्तरअनुसार नेपालले त्योभन्दा बढी गोल खान सक्थ्यो । यो खेललाई लिएर पनि कालिनको प्रतिक्रिया छ— ब्राजिलले पनि त ७ गोल खाएको थियो । त्यसैले निराश हुनु पर्ने कुनै स्थिति छैन । नेपालले चिनियाँ ताइपेईलाई हराएपछि अबको छनोटमा टिमले अझ राम्रो गर्ने छाँट देखाएको छ ।
नेपाल छनोटको समूह बीमा छ र यसमा बलियो न बलियो अस्ट्रेलियासँगै जोर्डन पनि छ । चिनियाँ ताइपेईले लगातार दोस्रो खेल गुमाएको छ । यसअघि उसलाई जोर्डनले हराएको थियो । अस्ट्ेरलियाले पनि छनोटमा आफ्नो पहिलो खेल खेलिसकेको छ र त्यसमा उसले कुवेतलाई ३–० ले हराएको छ । अबका छनोट खेल ठ्याक्कै एक महिनापछि हुनेछन् । अब नेपाल तेस्रो खेलका लागि अस्ट्रेलिया जानेछ भने त्यसपछि जोर्डनको भ्रमण गर्नेछ ।
अबको एक महिना प्रशिक्षक कालिनसामु नेपाली टिमलाई अस्ट्रेलिया जस्तो टिमको सामना गर्न कसरी तयार गर्ने हो, त्यसको ठूलो चिन्ता हुनेछ । त्यो भन्दा पनि महत्त्वपूर्ण तथ्य के हो भने टिमको प्रदर्शनमा एकरूपता चाहिन्छ, धेरै उतारचढाव ठीक होइन । कुनै खेलमा धेरै राम्रो खेल्ने, तर लगतै उत्तिकै खराव खेल्ने प्रवृत्तिले कुनै अर्थ राख्दैन । त्यसैले नेपालले यो तथ्यमा ध्यान दिन आवश्यक छ । कालिन यो कुरामा पक्कै सजग होलान् नै ।