अभिनेता निखिल उप्रेती र पोस्टर ब्वाइ राजु भण्डारी दुवै चलचित्र क्षेत्रका प्रतिनिधि पात्र हुन् । चलचित्रका प्रतिनिधि पात्र भए पनि यी दुईबीच एउटा अर्को समानता छ । निखिलले सन् २००१ मा चलचित्र ‘पिँजडा’बाट नेपाली रजतपटमा ‘डेब्यू’ गर्दा राजुले सोही वर्ष शिवदर्शन हलबाट चलचित्र क्षेत्रसँग सम्बन्ध जोडे । अभिनेता निखिल अहिले होम प्रोडक्सनको चलचित्र ‘आयो भैरव’को प्रि–प्रोडक्सनमा गुपचुप सहभागी हुँदा राजु भने आफ्नो समूहमार्फत पोस्टरको वितरणदेखि त्यसलाई टाँस्ने काममै सक्रिय छन् ।
तरकारी व्यापारबाट चलचित्रतिर
सिन्धुपाल्चोक घर भै हाल नयाँ बानेश्वर बस्दै आएका राजु चलचित्र क्षेत्रमा आउनु अघि तरकारी व्यापार गर्थे । तरकारी व्यापारकै क्रममा उनी दाईमार्फत शिवदर्शन हलमा काम गर्न थाले । ‘चलचित्र क्षेत्रमा आउनु अघि तरकारी व्यापार गर्थें । गाउँकै चिनजानको दाई शिवदर्शन हलमा काम गर्ने भएकाले उहाँमार्फत नै म चलचित्र लाइनमा आएँ’, राजु भन्छन्, ‘शिवदर्शन हलमा मैले झन्डै पाँच वर्ष काम गरें । त्यहाँ टिकटको देखि सबै काम गर्नुपथ्र्यो । त्यस क्रममा मैले चलचित्र क्षेत्रलाई बुझ्ने मौका पनि पाएँ ।’ शिवदर्शन हलमा काम गर्दा उनको चिनजान चलचित्र निर्माता तथा वितरक सुनिल मानन्धरसँग भयो । सुनिलसँग राम्रै चिनजान भएपछि उनैमार्फत राजु पोस्टरको वितरणदेखि टाँस्नेसम्ममा संलग्न भए ।
दिदीभाइबाट पोस्टर यात्रा
राजुले २०६५ सालदेखि चलचित्र ‘दिदीभाइ’बाट पोस्टर संकलनदेखि वितरण एवं टाँस्नेसम्मको काम सुरु गरे । प्रारम्भमा राजुले उनका पार्टनर सुरज खड्कासँग पोस्टरको काममा सहकार्य गरेका थिए । ‘त्यो समयमा पोस्टरको काम गर्नु निकै गाह्रो र चुनौतिपूर्ण थियो । किनभने झन्डै ६० देखि ७० हजारसम्म पोस्टर छापिन्थ्यो । ती पोस्टरलाई उपत्यकामा टाँस्नेदेखि लिएर बाहिर पठाउनेसम्म काम गर्नुपथ्र्यो’, राजु सम्झन्छन््, ‘तर अहिले त्यस्तो अवस्था छैन । अहिले निकै कम संख्यामा पोस्टर छापिन्छन् । जसले गर्दा काममा केही असरसमेत परेको छ । अहिले फेसबुकसँगै डिजिटल प्रविधिको विकासले पोस्टरको सख्ंयामा निकै गिरावट आएको छ ।’ चलचित्र ‘दिदी भाइ’देखि ‘जाइरा’सम्म आइपुग्दा उनीहरूले दर्जनौं चलचित्रको पोस्टर वितरणदेखि टाँस्नेसम्म काम गरिसकेका छन् ।
भूकम्पपछि साउदी
२०७२ सालको भूकम्प अघिसम्म राजु र सुरजले पोस्टरको सबै काम राम्रैसँग गरिरहेका थिए, तर भूकम्पपछि सबै क्षेत्रजस्तै चलचित्र क्षेत्रमा पनि उथलपुथल आयो । निर्माण भैरहेका चलचित्रका काम रोकिए भने प्रदर्शनका लागि तयार भएका चलचित्रले पनि प्रदर्शन मिति सारे, जसको असर राजुसँगै चलचित्र क्षेत्रका प्राविधिक, कलाकार, निर्माता, निर्देशक एवं प्रदर्शक सबैमा पर्यो । ‘भूकम्पले गर्दा सबैतिर उथलपुथल नै ल्यायो । काम गर्ने वातावरण नभएपछि परिवारसँगको सल्लाहमा म साउदी अरब गएँ । त्यहाँ मैले दुई वर्ष बिताएँ’, राजु भन्छन्, ‘त्यहाँ जसोतसो काम गरेपछि नेपाल फर्किएर पुन: पोस्टरकै काम थालें ।’
नेपाल फर्किएपछि उनले रमेश लामालाई पार्टनर बनाए । कुनै समय रमेश हलमा चेकिङको काम गर्थे । चलचित्रको भाषामा चेकिङ भनेको चलचित्र प्रदर्शनमा आएपछि हलमा दर्शकको उपस्थिति कस्तो छ भनेर हल–हल पुगेर अनुगमन गर्नु हो । उनी चलचित्र वितरक रोहित–रत्नअन्तर्गत रहेर हल चेकिङको काम गर्थें । राजु र रमेशको समूहमा हाल बुद्ध तामाङ, निरज अधिकारी, राम तामाङ, महेश तामाङ, सुमन राई तथा सुवास छन् ।
कम छैन दु:ख
राजु र रमेशको बुझाइमा पोस्टर टाँस्ने काम सजिलो देखिए पनि यो निकै झन्झटिलो काम हो । ‘देख्दा पोस्टर टाँस्ने काम त हो नि भनिन्छ, तर यो काम निकै जोखिमपूर्ण छ । हाम्रो काम भित्तामा पोस्टर टाँस्ने मात्र होइन । हामीले उपत्यकाका हल–हलमा पोस्टर पुर्याउने, मोफसलका हलहरूका लागि पोस्टर पठाउने, सिटर राख्नेदेखि सबै काम गर्नुपर्छ’, रमेश भन्छन्, ‘राति पोस्टर टाँस्ने काम आफैंमा जोखिमपूर्ण हुन्छ ।’ मोफसलका लागि उनीहरू सार्वजनिक यातायातमार्फत आफैं पैसा तिरेर पोस्टर पठाउँछन् ।
राजुका अनुसार पहिले–पहिले होर्डिङ बोर्डदेखि विभिन्न ठाउँमा पोस्टर टाँस्न कसैले अवरोध गर्दैनथे । चलचित्र निर्माताले महानगरपालिका र नगरपालिकाको स्वीकृति लिएपछि होर्डिङ बोर्डदेखि स्वीकृति लिएको ठाउँमा पोस्टर टाँस्न छुट थियो । ‘तर अहिले त्यस्तो अवस्था छैन । राति पोस्टर टाँस्दा प्रहरीले पक्रने डर त छँदैछ, रातको समयमा बाटोमा भेटिने जँड्याहाहरूबाट जोगिन पनि गार्है हुन्छ । कति पटक त जँड्याहाहरूसँग झगडा नै परेको छ । प्रहरीले पनि पक्रेर लगेको छ’, राजु भन्छन्, ‘प्रहरीले पक्रँदा कोही पनि छुटाउन आउँदैनन् । आफै पैसा बुझाएर निस्कनुपर्छ । तलमाथि केही भयो भने हाम्रो पक्षमा आवाज उठाउने कोही छैन ।’
उनीहरूलाई वर्षात् र जाडो याममा काम गर्न निकै गाह्रो हुन्छ । वर्षातमा निरन्तर परिरहने पानी र अप्ठ्यारो बाटो त छँदैछ, जाडोयाममा चिसोले गर्दा काम गर्न कठिन हुन्छ । ‘एकपटक जाडो महिनामा हात कठ्याङग्रिएपछि मैले हातमा पिसाब फेरेरै पोस्टर टाँसेको छु’, राजु खुल्छन्, ‘बाँडिएर राति पोस्टर टाँस्छौं । बिहान ती पोस्टर च्यातिएको देख्दा रिस उठ्नुका साथै दु:ख पनि लाग्छ ।’ राजुको समूहले केही वर्षअघिसम्म बेलुकी आठ बजेदेखि बिहान पाँच बजेसम्म पोस्टर टाँस्ने काम गरे पनि अहिले भने उनीहरू बेलुकी नौ बजेदेखि बिहान एक बजेसम्म पोस्टर टाँस्छन् । ‘पोस्टरको मात्रा पनि कम भएकाले पहिलेको जस्तो लामो समय काम गर्नु पर्दैन’, राजु भन्छन् ।
पैसाको पीडा बेग्लै
एकसातामा कहिले एउटा त कहिले चारवटासम्म चलचित्र रिलिज हुन्छन् । राजु र रमेशको अनुभवमा मानिसहरूले चलचित्रको पोस्टर भित्तामा देख्दा पोस्टर टाँस्नेले राम्रै पैसा कमाउँदा होलान् भन्ने अनुमान लगाउँछन् । यद्यपि उनीहरूको पीडा अर्कै छ । ‘पहिले–पहिले पोस्टरको सबै काम गर्दा १ लाखसम्म पारिश्रमिक लिन्थ्यौं । अहिले अधिकतम भनेको ३५ हजारसम्म हो, तर त्यो पैसा उठाउन पनि सकस नै हुन्छ । केही राम्रा व्यानरले पुरै पैसा दिन्छन् । अधिकांशले आधा पैसा दिन्छन्, बाँकी पैसा त माया नै मार्नुपर्छ’, राजु भन्छन्, ‘बिहीबारसम्म निर्माताले चिन्छन्, शुक्रबारदेखि त चिन्नै छाड्छन् । यस्तो अवस्था कति आयो, कति डुब्यो सम्झना नै छैन । चलचित्र राम्रैसँग चलिदिए त हामीलाई पनि राम्रो हुन्थ्यो, तर लगानी गरे अनुसार चलचित्र नचलेपछि त्यसको असर हामीले पनि भोग्नुपर्छ ।’
राजु र उनको समूह अहिलेको कामबाट सन्तुष्टचाहिँ छ । पोस्टरका लागि प्राप्त पैसा राजु र रमेशले उनको समूहका सदस्यहरूलाई दिन्छन् । ती सदस्यले एक–आपसमा बाँडेको पैसाबाट उनीहरूले पनि भाग पाउँछन् । उनीहरू परिवारका कुनै पनि सदस्य चलचित्र क्षेत्रमा नआउन् भन्ने चाहना राख्छन् । ‘हामीले धेरै दु:ख पाइसक्यौं । यस्तो दु:ख अब हाम्रो परिवारका सदस्यले नपाऊन् भन्ने लाग्छ’, राजु गुनासो गर्छन्, ‘कोही आक्कलझुक्कल चलचित्र बनाउने विषयमा सल्लाह माग्न आउँदा यस्तो झन्झटिलो काम नगर भनेर फर्काइदिन्छौं ।’ चलचित्रका निर्माता, निर्देशक तथा कलाकारले आफूहरूलाई सम्मानको भावले हेरेको देख्दा भने उनीहरू खुसीले गद्गद हुन्छन् ।
सबै पोस्टर राम्रा लाग्छन्
राजु भण्डारी, पोस्टर ब्वाइ
अहिलेसम्म सबैभन्दा बढी पोस्टर कुन चलचित्रको टाँस्नुभयो ?
हामीले दिदीभाइ, होस्टल, सायद, रोमियो एन्ड मुना आदि चलचित्रको पोस्टर धेरै संख्यामा टाँसेका छौं ।
तपाईंलाई मन परेको पोस्टर कुन हो ?
चलचित्रको पोस्टर राम्रो वा नराम्रो भन्ने हुँदैन । सबै पोस्टर राम्रा लाग्छन् ।
आफूले टाँसेका पोस्टरमध्ये सबै चलचित्र हेर्नुभएको छ ?
सबै चलचित्र त हेरिँदैन । योचाहिँ हेर्नुपर्छ भन्ने लागेको मात्र हेरिन्छ ।
तपाईंलाई माया गर्ने कलाकार को हो ?
मलाई निर्माता तथा कलाकार सुनिल रावल, सुवास मेचे, आर्यन सिग्देल, अर्जुन कुमार, हेमराज बिसी आदिले माया गर्नुहुन्छ ।
अहिलेसम्म कुनै कलाकारबाट काम गरेबापत कुनै उपहार पाउनुभएको छ ?
पाएका छौं । निर्माता सुनिल रावलले हामीलाई मोबाइल उपहार दिनुभएको छ । चलचित्र चपली हाइटको प्रदर्शनको ५२ औं दिनको कार्यक्रममा हामीले अवार्ड पनि पाएका थियौं ।
तपाईंलाई मन पर्ने अभिनेता तथा अभिनेत्री ?
को राम्रा र को नराम्रा भन्नेमा त्यति चासो हुँदैन । हाम्रो ध्यान काममै बढी हुन्छ ।
कुनै साता काम नपाएर बस्नुपरेको छ ?
धेरै छ । हालसालै मात्र दुई महिना खाली नै बस्नुपर्यो । धेरै चलचित्र चलेनन् । हामी खाली बसे पनि हामीसँगै काम गर्ने साथीहरूलाई काम खोजिदियौं ।
पोस्टर टाँस्दा चलचित्रकर्मीको गाली कत्तिको खाइएको छ ?
गाली गरेको खासै घटना छैन ।
चलचित्रमा काम गर्ने पनि रहर होला नि ?
पटक्कै छैन । आफ्नो पेसा जे हो, त्यसमै सन्तुष्ट छु ।