अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका बारेमा अब धेरै बोलिराख्नुपर्ने, लेखिराख्नुपर्ने कुरा रहेन । उनको नयाँ चलचित्र रातो टिका निधारमा आगामी असोज १० मा प्रदर्शन हुँदैछ, अहिले उनी सोहि चलचित्रको प्रमोशनमा व्यस्त छिन् । केहि समयअघि प्रदर्शन भएको चलचित्र मारुनीबाट राम्रो रिजल्ट पाएपछि मख्ख भएकी साम्राज्ञी रातो टिका निधारमाले पनि राम्रो रिजल्ट दिनेमा ढुक्क छिन् । यो चलचित्रको प्रमोशनको दौडामा व्यस्त साम्राज्ञीसँग रामजी ज्ञवालीले छोटो गफगाफ गरेका छन् ।
रातो टिका निधारमाका अभिनेता बिल्कुलै नयाँ हो, काम गर्दा कस्तो अनुभव भयो ?
राम्रो नै भयो । खासमा मैले मात्रै राम्रो गरेर कुनै पनि प्रोजेक्ट राम्रो हुने होइन । समग्र चलचित्रलाई राम्रो गराउन त्यो प्रोजेक्टको टिमले राम्रो गरेको हुनुपर्छ । यो चलचित्रमा मेरो अपोजिट क्यारेक्टर अंकितले धेरै राम्रो गरेको छ । उसँग काम गर्दा असहज भन्ने भएन । एज अ सिनियर कलाकारको हिसाबले अफ्ट्यारो त लागेको छैन नी ? कस्तो लागिरहेको छ ? नजिक भएर उसलाई सहज बनाउने प्रयास गर्थेँ । कति–कति बेला अंकित नबोलेको बेला खै बोलेर देखाउ त भन्थे । मैले उ नर्भस भयो भन्ने कुरा देखें भने सम्झाइहाल्थे ।
अंकितले तपाईँसँग काम गर्दा कत्तिको सहज मान्नुभयो ?
डर भन्ने जुन कुरा छ त्यो कुरा मैले उसको अनुहारमा देखिल्थे । उसको काममा निकै राम्रो लगाव देखेँ । उसलाई काममा डर थिएन । तर, सबै सिनियर कलाकार हुँदा केहि असहज भैरहेको हो कि जस्तो लाग्थ्यो ।
अघिल्लो बर्ष गाउँले रोलमा काम गर्दिनँ भनेर तपाईँका बारेमा निकै समाचार बने, अहिले गाउँले रोलमै काम गर्नुभएको छ । खासमा गाउँले रोलमै काम गर्न नचाहेको हो या गलत हल्ला फैलाइयो ?
अघिल्लो बर्ष मैले दिमागमा कहिल्यै नसोचेको कुरा आएको हो । अचम्म लागिरहेको छ । केहि छैन, अहिले मैले राम्रो स्क्रिप्टमा काम गर्न पाइरहेकी छु ।
गाउँले रोलमा काम गर्दा कस्तो लाग्यो ?
मैले हुर्किएको बच्चा बेलाको सम्झना दिलायो । निकै मज्जा आयो ।
यो चलचित्रमा तपाईँको भुमिका कत्तिको च्यालेन्जिङ छ ?
सधै एकै किसिमको स्क्रिप्ट आउथ्यो । यसपटक राम्रो स्क्रिप्टमा काम गर्ने अवसर पाएकी छु । स्क्रिप्ट सुन्ने बित्तिकै काम गर्न मन लागेको थियो । काम धेरै राम्रो भएको छ ।
तपाईँका बारेमा लिएर सामाजिक सन्जाल कहिलेकाहिँ उग्र बन्छ, किन ?
केहि पनि नभएको भन्दा त भएकै राम्रो हो जस्तो लाग्न थालेको छ । मैले ‘ड्रिम्स’ पछि सधैजसो एकै खाले चलचित्रमा काम गरिरहेकी थिएँ । यो बर्ष मात्रै दुई फरक विषयका चलचित्रमा काम गरेँ । नियमित चलचित्रका अफर आइरहेका छन्, राम्रै काम पाइरहेकी छु । बाहिर के–के हुन्छ, समाजिक सन्जाल कति र किन उग्र बन्छ भनेर मैले आजभोली टेन्सन लिनै छाडिसकेँ । अनि, यस विषयमा अभिव्यक्ती दिइराख्नुपर्छ जस्तो लाग्दैन । काम गरेर देखाउनेहो, बाँकी कामले बोल्छ ।
आगामी योजना ?
अब चाँडै एउटा चलचित्रको वर्कशपमा ब्यस्त हुनेवाला छु । केहि नयाँ कामको बारेमा पनि छलफल भैरहेको छ ।
कहिलेकाहिँ मिडियासँग असन्तुष्ट देखिनुहुन्छ, किन ?
एउटा युट्युब च्यानल खोल्यो उ रिपोर्टर भयो । ठुला मिडियाबाट आउने पनि रिपोर्टर भयो । मैले यस विषयमा कुनै बिबाद गर्न खोजेकी चै होइन । खासमा कतिपय रिपोर्टरहरु अति असावधानी अपनाएर रिपोर्ट तयार पार्नुहुन्छ, अचम्म लाग्छ । कतिसम्म भने अन्तरवार्ताका लागी आउनेले त्यो कलाकारले के गर्छ ? को हो ? कति चलचित्र खेल्यो जस्ता समान्य कुरा समेत पत्तो समेत नभएर कुरा गरेको देख्छु । आफुले के गर्न खोजेको हो त्यस बिषयमा अलिकति अध्ययन त गर्नुपर्छ होला, रिपार्ट तयार पार्ने बेला अलिकति अध्ययन गरेर के ठिक हो, के गलत हो बुझ्नुपर्छ होला नि । एक पटक बोलिसकेको कुरा फेरी उहि कुरा सोध्नुहुन्छ । कति ठाउँ उहि कुरा बोलिराख्नु ? नयाँ कुरा सोधे पो रमाइलो हुन्छ । अलिकति बुझेर सहि तरिकाले दर्शक र सुभचिन्तकलाई मिडिया मार्फत जानकारी गराइदिए हुन्थ्यो भन्ने लाग्छ । हामी कलाकारलाई राम्रो र नराम्रो देखाउने मिडियाकर्मीले अलिकति सावधानी अपनाउन नसक्नेहो भने हाम्रो करिअरनै ध्वस्त हुन सक्छ । अरु त सबै राम्रो छ । मिडियाकै कारण यो स्थानसम्म आएकी छु, धेरैले चिन्नुभएको छ । धन्यवाद् ।