साप्ताहिक संवाददाता
छवि ढकालले बाइकमा क्यानाडा, मेक्सिको र अमेरिका गरी तीन देशका विभिन्न सडक पार गरेका छन् । उनले यसरी यात्रा गर्दा १३ हजार किलोमिटरको दूरी पार गरेका छन् । यसरी बाइकमै यी देशको यति धेरै दूरी पार गर्ने आफू पहिलो नेपाली भाषी भएको उनले दावी गरेका छन् । हाल क्यानाडाको एडमन्टनमा बसोवास गर्ने छविले सो यात्रा गत जुलाई ७ मा प्रारम्भ गरेका थिए । उनले आफ्नो ड्रिम बाइक बीएमडब्लू आर १२५० जीएसमा सो यात्रा गरेका थिए ।
उनको यात्रा उत्तरी क्यानाडादेखि दक्षिणी अमेरिका र वेस्ट कोस्टदेखि पिट्सवर्ग पेन्सिलभेनियासम्म थियो । सबै गरी उनले १३ हजार किलोमिटर पार गरे र यसका लागि २६ दिन यात्रा गरे । छविको जन्म भुटानको डगानामा भएको थियो । सन् १९९२ मा उनी ४ वर्षको हुँदा शरणार्थीका रूपमा नेपालको झापामा आएका थिए । उनी सन् १९९२ देखि २००९ सम्म झापामै बसे । त्यसैले उनी आफूलाई नेपाली नै भन्न रुचाउँछन् ।