साप्ताहिक संवाददाता
शिक्षित भट्ट, सहसंस्थापक, टुटल
दुईपाङ्ग्रे राइडिङ एपलाई आम मानिसले बुझ्ने भाषामा परिभाषित गरिदिनुस् न ?
एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्र रूपमा सुरक्षित र सहज यात्रा गर्ने यात्रुको स्वतन्त्रताको एक साथी हो हामीले ल्याएको राइडिङ एप । हाम्रो देशमा त्यस्तो स्वतन्त्रता छैन । यात्रा गर्न कि त हामीले ट्याक्सीसँग झगडा गर्नुपर्छ कि बस या ट्याम्पोमा झुन्डिएर जानुपर्छ । व्यक्तिको त्यही आभारभूत आवश्यकता पूरा गर्न हामी आएका हौँ । बाहिरबाट हेर्दा यो एउटा एप हो । तर, यसले व्यक्तिको स्वतन्त्रताको रक्षा गर्ने काम गर्छ । हामीसँग यात्रा गर्नुस्, स्वतन्त्र रूपमा आफ्नो गन्तव्यमा पुग्नुस् । त्यसपछि धेरै कुरा आफै थाहा पाइनेछ ।
यातायात व्यवस्था ऐनमा निजी प्रयोगका लागि दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोक्न नपाउने भन्ने प्रस्ट लेखिएको छ । तर, तपाईंहरू कानुभन्दा बाहिर गएर यात्रु बोक्दै हुनुहुन्छ । किन ?
कसैसँग दुईपाङ्ग्रे सवारी छ भने त्यसलाई प्रयोग गरेर एउटा व्यक्तिले रोजगारी र अर्को व्यक्तिले यातायातको सेवा पाइरहेको छ । संविधानमा प्रत्येक व्यक्तिको रोजगारीप्रतिको अधिकार सुनिश्चित गरिएको छ । प्रत्येक व्यक्तिलाई स्वतन्त्र रूपमा एक ठाउँबाट अर्को ठाउँमा जाने अधिकार छ । हामीले त्यो संवैधानिक अधिकारको प्रयोग गरेको मात्र हो । अब यसलाई ऐन, कानुन र नियममार्फत कसरी व्यवस्थित र सुरक्षित गर्ने हो, त्यो सरकारको जिम्मेवारी हो । उसले कसैको अधिकार खोस्न मिल्दैन र मलाई जहाँसम्म लाग्छ केही समयपछि यो समस्या पनि समाधान हुन्छ ।
ट्याक्सी व्यवसायीहरूले त हाम्रो रोजगारी चौपट भयो भन्दै विरोध गरिरहनुभएको छ त ?
नयाँ काम गर्दा कुनै न कुनै पक्षबाट विरोध हुनु स्वाभाविक हो । उहाँहरूको समस्या आफ्नै छ । उहाँहरूको जुन मापदण्ड छ त्यसलाई परिमार्जन गर्न सरकारसँग पहल गर्नुपर्छ न कि हाम्रो विरोध । काठमाडौंको जनसंख्या हेर्नुहुन्छ भने अहिले पनि काठमाडौंमा मानिसहरू बस, ट्याम्पुमा झुन्डिएरै यात्रा गरिरहेका छन् । यहाँको बजार आफैंमा ठूलो छ । हामीले यात्रुलाई सुविधा दिनमात्र खोजेका हौँ । ट्याक्सी चालकका दाजु–भाइ, छोरा–छोरीलाई पनि त मोटरसाइकल चलाउन आउँछ भने रोजगारीको अवसर प्राप्त हुने भयो नि । उहाँहरूले यसरी पनि हेर्नुपर्छ । नाइटमा ट्याक्सी चलाउने चालकले दिउँसोमा राइडिङ गर्न पनि पाउँछ । हामीले रोजगारी सिर्जना गरेका छौँ, उहाँहरूको आम्दानी खोसेका छैनौँ ।
यात्रुको बिमाको कुरा पनि उठिरहेको छ । यसतर्फ तपाईंहरूले कुनै कदम चाल्दै हुनुहुन्छ ?
नीति आएपछि बल्ल बिमाको प्रक्रिया सुरु हुने हो । कानुनी अभावमा बिमा कस्तो हुने, के हुने भन्ने कुरा स्पष्ट भइसकेको छैन । त्यसैले हामी बिमामा जान नसकेका हौँ । हाम्रो सेवालाई नीतिगत रूपमा समेटेर कानुनी मान्यता दिनासाथ हामी बिमामा जान्छौँ ।
टुटल राइडरलाई शतप्रतिशत मुनाफा दिइरहनुभएको छ । तपाईंहरूलाई आम्दानीचाहिँ कसरी हुन्छ ?
अहिले हामी बजार विस्तारको क्रममै छौँ । यो भनेको हामीले अझ लगानी गर्नुपर्ने समय हो । हामी नेपालमा सबैभन्दा पहिला जन्मिएको कम्पनी भएको नाताले राइडरहरूप्रति हाम्रो उत्तरदायित्व बढी छ । उहाँहरूको सेवा–सुविधामा हामी केन्द्रित हुनैपर्छ । हजारौँ, लाखौँले आम्दानी गरेपछि त्यसबाट सानो भाग हामीले लिने हो । अहिले भने हामी आफ्नै गोजीबाट लगानी गरिरहेका छौँ । कुनै पनि उद्योग स्थापना गर्दा त्यसमा लगानी आवश्यक छ । अहिले हामीले त्यही गरिरहेका छौँ ।