एक वर्षीया छोरी तथा पत्नीलाई घरमै छाडेर श्रीमान् परिवार पाल्ने उद्देश्यले भारतको गोवामा छन्। यता पत्नीलाई अपरिचित व्यक्तिको बारम्बार फोन आउन थाल्छ। पहिले अनजान व्यक्तिले मोबाइलमा फोन गर्दा ती महिलालाई अनौठो लाग्थ्यो रे, तर दुई सातासम्म लगातार कुराकानी भएपछि बिस्तारै अपरिचत व्यक्तिसँग मायाप्रेम बस्यो। ती महिला छोरीलाई सुर्खेतस्थित माइतीमा छोडेर अपरिचत व्यक्तिलाई भेट्न बुधबार नेपालगन्ज आइन्। एक रात नेपालगन्ज बसेपछि मोबाइलमा चिनजान भएका व्यक्तिसँग भारत हिँडिन्। नेपालगन्ज सीमामा जाँचका क्रममा सोधपुछ गर्दा मोबाइलमार्फत गाँसिएकोे उनीहरूको मायाप्रेमको रहस्य खुलेको हो। महिलालाई भारत लान खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। एक छोरीकी आमालाई माइती नेपाल, नेपालगन्जले आफ्नो जिम्मामा लिएको छ।सामाजिक सञ्जाल (फेसबुक) बाट चिनजान भएकै आधारमा भक्तपुरकी २२ वषर्ीया युवती अपरिचित व्यक्तिलाई भेट्न नेपालगन्ज आइन्। एक दिन लगाएर उनले अपरिचत व्यक्तिलाई भेटिन्। उनीहरू भारत जाने क्रममा सीमास्थित माइती नेपालका कर्मचारीले उद्धार गरेका छन्। पछिल्लो समयमा मोबाइल तथा सामाजिक सञ्जालमार्फत मायाप्रेम गर्ने अनि महिलालाई भारत लान खोज्ने प्रवृत्ति बढेको छ।
पछिल्ला दुई वर्षयता अपरिचित पुरुषसँग मोबाइल र फेसबुकमार्फत प्रेममा परेर भारत जान लागेका ५० जना महिलालाई सीमाबाट उद्धार गरिएको माइती नेपालको तथ्यांक छ। मोबाइलमा अपरिचित पुरुषसँग प्रेम बसेर भारत जान तयार हुनेहरूमध्ये अधिकांश मध्यपश्चिमका पहाडी जिल्लाका महिला छन्।