संयुक्त अरब इमिरेट्स (युएई) तुलनात्मक रूपमा अन्य खाडी मुलुकभन्दा सुरक्षित र शान्त छ । रोजगारीका लागि युएई पुगेका हजारौं नेपाली विभिन्न पेसा र तहमा कार्यरत छन् । युएईमा कार्यरत नेपालीहरूको अनुभव उनीहरूकै शब्दमा :
जनयुद्धका हस्तीहरू युएईका गल्लीहरूमा भौंतारिँदै छन्
म चार वर्ष संयुक्त अरब इमिरेट्स (युएई) बसें । देशको बदलिँदो अवस्थाका कारण निराशा बढ्दै गएपछि मैले राहदानी बनाएको थिएँ । काठमाडौंमै बसेर केही गर्छु भन्ने लागेको थियो । भौंतारिने क्रममा गोर्खा घर भएका एक जना पुराना मित्र भेटिए । उनकै सहयोगमा विदेस पुगें ।
युएई पुगेपछि मलाई धेरै पछुतो लाग्यो । भर्खरै छोरी जन्मिएकी थिइन् । उनी मेरो काखमा खेल्दै थिइन् । मैले एक हप्ताजति स्याहार गर्न पाएँ । छोडेर आएपछि कैयौं रात निदाउन सकिनँ । म युएई उड्न लागेको खबर घरका सदस्य, साथीभाइ कसैलाई जानकारी थिएन । युएईबाट मैले टेलिफोन गरेर जानकारी दिएपछि सबै जना छक्क परे । घरमा म सुत्ने खाटमुनि एक बोरा पुस्तक थिए । पुस्तकको त्यो बोरा म मिस गरें । नेपाल रहँदा चौबीसै घण्टाको फुर्सदिलो समयलाई मिस हुन्थ्यो ।
केही सपना बोकेर म पनि जनयुद्ध सामेल भएको थिएँ । तत्कालीन जनयुद्धको पक्षपाती भए पनि पार्टीले इमान्दार कार्यकर्ताहरूप्रति अन्याय गरेको छ । हिजोका हस्तीहरू अहिले अरबका गल्लीहरूमा भौंतारिन बाध्य छन् । माओवादी आन्दोलनमा पुँजीपति वर्गको हालिमुहाली भित्रिएको छ भने गरिबहरू बाहिरिएका छन् ।
युएईमा राजनीति चल्दैन । मानवअधिकार सीमित गरिएको भए पनि प्रत्येक प्रान्तका राजाहरूले आफ्ना नागरिकलाई पर्याप्त सेवा–सुविधा उपलब्ध गराएका छन् । त्यहाँ स्कुल, सडक, खानेपानी, बिजुली र अस्पतालको सहजता देखेर म चकित बनें । युएईमा राजसंस्था चल्छ, राजनीति चल्दैन । हामी दक्षिण एसियालीहरूलाई त्यहाँ अलिक घृणाको दृष्टिले हेरिन्छ । तर प्रत्येक मानिसले आफूलाई सुरक्षित महसुस भने गर्न सक्छन् । यो पक्ष भने राम्रो छ ।
युएई कामदारका लागि सम्भावना बोकेको मुलुक हो । यहाँ थोरै लगानीमा धेरै आम्दानी गर्न सकिन्छ, अवसरहरू पनि उत्तिकै छन् । यहाँ आउँदा युएईको कानुन सामान्य रूपमा अध्ययन गर्ने हो भने अनाहकमा फसिने सम्भावना कम हुन्छ ।
दिल निसानी मगर, बाग्लुङ
मद्यपान त्यागेर आउँदा राम्रो
युएईको कानुन एकदमै बलियो छ । यहाँ आउन चाहनेहरूले अरेबिक भाषा बुझ्नु एकदमै जरुरी छ । आफूमा सीप, दक्षता नभै युएई नआउँदा हुन्छ । युएई आउन चाहनेहरूले धुम्रपान, मद्यपान त्यागेर आउँदा उपयुक्त हुन्छ । सपिङ मल, एयरपोर्ट, डयुटी फ्री, ट्याक्सी ड्राइभर, मर्चेन्डाइजर, पाँचतारे होटल, सेक्युरिटी गार्डमा काम पाउन सजिलो हुन्छ । वर्षमा एक महिनाजति बिदा मिल्छ । घर परिवार, इस्टमित्र साथीभाइ तथा चाडपर्वहरू भने खुब मिस हुन्छन् । यहाँका ओभिल आयल, खजुर, खबुस (एक प्रकारको सुख्खा रोटी) मलाई एकदमै मन पर्छन् ।
राजु दाहाल, दुधौली, सिन्धुली
दुबई मेरो दोस्रो घर
युएईको दुबई आएको ७ वर्ष भयो । दुबई मलाई आफ्नो दोस्रो घरझैं लाग्छ । मलाई युएईको मन पर्ने पक्ष भनेकै यहाँका मानिसहरूको सोच, सरकारको उदार नीति, विकास र कानुन हो । देशमा स्थायीत्व र कडा कानुन हुने हो भने मान्छे आफैं अनुशासित हुने रहेछन् ।
दुबई अरू अरब देशहरूको दाँजोमा उदार छ । बस्न राम्रो वातावरण छ । त्यही भएर होला, विश्वभरिका मानिसहरू काम गर्न यहाँ आइपुग्छन् । यहाँ विश्वका ठूला कम्पनीहरू पनि कार्यरत छन् । अवसरसँगै चुनौती पनि उत्तिकै छन् । यहाँ बोटमा पैसा फल्दैन, मेहनत गर्दा राम्रै कमाइ हुन्छ । राम्रोसँग बुझेर आए अनि सीप–दक्षता भए युएईमा अवसरको कमी छैन ।
प्लस टुसम्म पढेकाहरूका लागि सजिलो र पैसा धेरै हुने भनेको सेक्युरिटी गार्डमा हो । ब्युटी पार्लर, हाउस किपिङ, होटल, ट्याक्सी ड्राइभरमा धेरै आइरहेका छन् । आईटी र स्वास्थ्य क्षेत्रमा पनि राम्रो सम्भावना छ । युएईको कानुनअनुसार हप्तामा एक दिन सबैलाई अनिवार्य बिदा मिल्छ । प्राय: धेरैको १२ घण्टे ड्युटी भएकाले बिदाको दिन मात्र भेटघाट गर्न पाइन्छ । मेरो हकमा हप्तामा दुई दिन बिदा र ८ घण्टा ड्युटी भएका कारण प्रशस्त समय हुन्छ । भेटघाट सजिलो छ ।
दुई वर्षमा दुई महिना बिदा हुन्छ । कुनै–कुनै कम्पनीले आउने–जाने टिकट तथा भ्याकेसन सेलरी पनि दिन्छन् । मैले पनि यो सुविधा पाइरहेको छु । यहाँ बस्दा सबैभन्दा बढी परिवारलाई नै मिस गरिन्छ । चाडपर्व र घरका कुनै पनि महत्वपूर्ण कुरामा सहभागी हुन नपाउँदा खल्लो लाग्छ ।
रोमन भट्टराई, बयरवन, मोरङ
फुटेर होइन, जुटेर मात्र विकास सम्भव छ
कामदार भिसामा मैले दुबई पाइला टेकेको पाँच वर्ष नाघ्यो । एक जना आफन्तबाट दुबईका सम्बन्धमा थाहा भयो ।
म्याक्स फेसन भन्ने कम्पनीबाट काम दिने भनेर मलाई अफर लेटर आयो र यता आइपुगे । कमर्स पढेको व्यक्ति पैसासँग खेल्ने काम गर्दैछु । फुटेर होइन जुटेर मात्र विकास सम्भव छ भन्ने कुरा १९७२ मा सात राज्य एक भएर दुबईसहित युएई बनेपछि राम्रैसँग देखिएको छ । ४० वर्षमा यहाँको प्रगति र विकास सबै देशका निम्ति नमुना सावित भएको छ ।
दुबई बस्दा धेरै राम्रा कुरा देखें । यहाँका सबै मानिस व्यस्त छ । युएईमा प्रेस स्वतन्त्रता भने छैन । यहाँ हुने कुनै गैरकानुनी घटना, चोरीडकैती आदिका सम्बन्धमा मिडियामा केही जानकारी आउँदैन । यहाँ आएर मैले सबैभन्दा पहिले आफूलाई चिनें । फुर्सदमा रमाइलो गर्ने, मनका कुरा लेख्ने, पढ्ने, बुझ्ने तथा सामाजिक सञ्जालमा रमाउने बानी बस्यो । चौबीसै घण्टा बत्ती भएकाले इन्टरनेटमा समय बिताउन, पढ्न पाइन्छ । साहित्यमा रुचि राख्ने हुनाले ब्लगिङ र छुटफुट लेख लेख्छु । विश्वका सबै देशका मनिससँग परिचित हुने मौका पाइयो । अरु केही भाषाजस्तै अरेबिक, फर्सियन, तगालो, उर्दू आदि सिक्ने अवसर प्राप्त भयो ।
दुबई आउन खोज्दै हुनुहुन्छ भने दक्ष बनेर आउनुहोस् । यहाँ सेक्युरिटी गार्डले पनि राम्रोसँग कम्प्युटर चलाउन जानुपर्छ । यहाँ आउनुअघि अंग्रेजी बोल्न र बुझ्न सक्ने हुनुपर्छ । नेपालमा त्यसका लागि कोर्स गर्दा राम्रो हुन्छ । अझ अरेबिक भाषा सिक्नसके धेरै सजिलो हुनेछ ।
यहाँ नेपाली कामदार सुरक्षित र सुखमा छन् । कामदारका लागि यहाँको सरकारले सन् २०१६ देखि नियम परिवर्तन गरेको छ । युएई काम र अध्ययनका लागि सुरक्षित गन्तव्य हो ।
प्रल्हाद दाहाल, धरान
युएई आएर पछुताएको छैन
संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीमा बसेको ९ वर्ष पुग्यो । म अहिले नेसनल क्याटरिङ कम्पनीमा काम गरिरहेको छु ।
युएई आएपछि मलाई रत्तिभर पछुतो लागेन । यद्यपि आफ्नो बाल्यकाल र मेरी आमाको सम्झना भने आइ नै रहन्छ ।
यहाँको सुरक्षा प्रणाली, सांस्कृतिक विविधता, सरकार र संगठनहरूको तरल व्यवस्थापन प्रणाली, अनुशासन एवं व्यक्ति विकासको अवसर मलाई मन पर्ने पक्ष हुन् । मलाई मन पर्ने ठाउँ मिरेकल गार्डेन, जुमेरा बीचपार्क, बर्ज खलिफा तथा दुबई डाउन टाउन हुन् । सानैदेखि लागेको बानी होला म त खोजीखोजी भात खान्छु तर अरबी स्वीट्सचाहिँ निकै मन पर्छ । धेरैजसो महिना गर्मीमै बित्ने हुनाले डिसेम्बर र जनवरीको समयचाहिँ निकै रमाइलो लाग्छ ।
एउटा अमेरिकन दुबई आउँदा अवसरका रूपमा लिन्छ तर हामी त्यसलाई ‘भाग्य’ मान्छौं । यहाँ भात पकाउन जान्नेलाई ‘कुक’ भनिँदैन, कुचो लगाउन जान्ने ‘क्लिनर’ भनिँदैन, नत्र मेरी आमाभन्दा राम्रो कुक यो दुनियाँमा कोही छैन । यहाँ रूखमा सुन फल्दैन, जरामा हुन्छ । यहाँ आउनुभन्दा अघि जरासम्म पुग्ने ज्ञान, सीप लिएर आउनुपर्छ । यति भएपछि सफल हुन कसैले रोक्न सक्दैन ।
नरेश सेन, तुलसीपुर, दाङ
कामदारको सुरक्षामा युएई सरकार संवेदनशील छ
विगत ९ वर्षदेखि म युएईको सारजाहमा छु । युएई छोटो समयमै आर्थिक रूपमा ठूलो फड्को मार्न सफल देश हो । यहाँको सरकार आफ्ना जनताप्रति उत्तरदायी र इमानदार छ भने बाहिरी देशबाट आउने कामदारहरूको हकहित एवं सुरक्षामा पनि उत्तिकै संवेदनशील छ । सुरु गरिएको कुनै पनि प्रोजेक्ट समयमै सकिन्छ । नेपालमा जस्तो बीचैमा रोकिँदैन ।
नेपालीहरू यहाँ मिलेर कोठा लिएर बस्ने गरेका छन् । साप्ताहिक बिदाका दिन साथीभाइहरूसँग भेटघाट, भलाकुुसारी गरिन्छ । म यहाँ बैंकमा काम गर्छु । वर्षमा ३५ दिन बिदा मिल्छ । नेपालीहरू यहाँ तल्लो तहदेखि विशिष्ट तहसम्म कार्यरत छन् । युएई रोजगारीका लागि अथाह सम्भावना बोकेको देश हो ।
एकराज घिमिरे, सुनसरी