अभिनेत्री श्वेता खड्का अहिले अत्यन्त व्यस्त छिन् । झन्डै तीन वर्षपछि नयाँ चलचित्र कान्छीमार्फत दर्शकमाझ आएकी खड्का गत साता अन्नपूर्ण होटलमा आफैंले आयोजना गरेको च्यारिटी कन्सर्टमा प्रस्तुत भइन् । चलचित्र कोहिनूरको प्रदर्शनलगत्तै श्रीमान् तथा अभिनेता श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी श्वेता यतिबेला सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । गत सोमबार चलचित्रको डबिङ कक्षमा व्यस्त रहे पनि साप्ताहिकका लागि समय निकाल्दै श्वेताले आफूले प्रेम गर्ने व्यक्ति तथा वस्तुहरूका बारेमा जानकारी गराएकी छिन् ।
साथीजस्ती ममी
मैले जीवनमा सबैभन्दा बढी प्रेम गर्ने व्यक्ति नै मेरी ममी (गोमा खड्का) हुनुहुन्छ । खुसी बाँड्ने, घुक्र्याउने, झगडा गर्ने, तनाव साटासाट गर्ने, मनको सबै कुरा भन्ने एक मात्र साथी नै मेरी ममी हुनुहुन्छ । उहाँसँग मैले कुनै पनि कुरा लुकाएकी छैन, खुसी होस् अथवा दु:ख उहाँसँगै साटेकी छु । उहाँकै प्रेरणाले जीवनका दु:खद क्षणहरूबाट माथि उठेर आजको अवस्थासम्म आइपुग्न सफल भएकी छु ।
परिवारका सदस्य
मेरो परिवारका सबै सदस्यलाई म उत्तिकै प्रेम गर्छु । बुवा कृष्णबहादुर खड्का, भाइहरू शैलेश र शिवु तथा बहिनी आरतीलाई म आफूलाई भन्दा बढी प्रेम गर्छु । उनीहरूको सुख–दु:खमा साथ दिन पाउँदा म आफूलाई भाग्यमानी मान्छु । मेरो सहज तथा असहज परिस्थितिमा उहाँहरूको साथ मेरा लागि कति महत्वपूर्ण हुन्छ भन्ने कुरा म शब्दमा वर्णन गर्न सक्दिनँ ।
फूल
हरेक प्रकारका फूलसँग मेरो प्रेम छ । फूललाई मैले मन बहलाउने माध्यमसमेत बनाएकी छु । मेरो घरमा फूलको बगैंचा नै छ । प्रत्येक बिहान म त्यही बगैंचामा फूलहरूबीच रमाउँछु । फूलको सौन्दर्यले मनलाई आनन्द प्रदान गर्छ । मैले गर्ने प्रत्येक सजावटमा फूलको उपस्थिति अनिवार्य हुन्छ ।
दर्शक
नेपाली चलचित्रका दर्शकहरूलाई म भगवान्जत्तिकै श्रद्धा गर्छु । उहाँहरूकै कारण हामी कलाकारका रूपमा बाँच्न सकेका छौं । हामी कलाकारलाई औधी माया गर्ने दर्शकहरूलाई म धेरै भन्दा धेरै प्रेम गर्छु ।
साथीभाइ
जीवनमा धेरै कुरा कमाउन नसके पनि मैले साथीभाइ भने कमाएकी छु । मेरा जति पनि साथीभाइ छन्, उनीहरू सबै मेरा बेस्ट फ्रेन्ड हुन् भने ती सबै स्पेसल साथीसमेत हुन् ।
चलचित्र क्षेत्र
आफूले काम गरिरहेको क्षेत्रलाई प्रेम नगरी बस्नै सकिँदैन । म नेपाली चलचित्रलाई औधी प्रेम गर्छु । यही क्षेत्रले हामीलाई नामदेखि दामसम्म दिने भएकाले हामी सबै कलाकारले चलचित्र क्षेत्रलाई प्रेम गर्नुपर्छ ।
पोखरा
स्वदेश तथा विदेशका जति नै सुन्दर ठाउँको भ्रमण गरे पनि पोखराभन्दा सुन्दर ठाउँ मैले अन्त कहीं फेला पारिनँ । प्राकृतिक सौन्दर्यले भरीपूर्ण पोखरालाई म असाध्यै प्रेम गर्छु ।
चटपटे र पानीपुरी
धेरैलाई अचम्म लाग्न सक्छ, म चटपटे र पानीपुरी भनेपछि हुरुक्क हुने मान्छे हुँ । बाटोमा यी दुई चिज बेच्न राखिएको देखें भने आफूलाई नियन्त्रण नै गर्न सक्दिनँ । फुर्सद छ भने यी दुई खानेकुराको स्वाद लिन तयार भैहाल्छु । घरमा हप्ताको एकपटक जस्तो चटपटे र पानीपुरी बनाएर खाएकै हुन्छु ।
श्रीकृष्ण श्रेष्ठ
उहाँलाई म कति प्रेम गर्छु भन्ने कुरा शब्दमा वर्णन गर्न सक्दिनँ । आज मसँग उहाँको सम्झनाबाहेक अरू केही छैन । त्यही सम्झनाकै कारण म जीवित पनि छु । यो जीवनभर म उहाँलाई प्रेम गरिरहनेछु ।