म १८ वर्षीया युवती हुँ । महिनावारी हुँदा मेरो पेट निकै दुख्छ । गाउँघरका जेठाबाठाहरू भन्नुहुन्छ, महिनावारीमा धेरै पेट दुख्ने केटीको शिशु हुँदैन । के यो सत्य हो ? मेरो पनि शिशु हुँदैन त ? यसको समाधान के होला ?
- ८३४४६
पहिलो पटक महिनावारी भएपछि केही समयसम्म यो नियमित नहुन सक्छ । त्यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन्, जस्तो कि पेट फुलेजस्तो हुने चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने थकाइ लाग्ने, चिडचिडापन, प्यास लाग्ने, खानपिनसम्बन्धी रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निनेजस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई Premenstrual Tension Syndrome भनिन्छ ।
महिनावारी हुँदा किन पेट दुख्छ ?
प्राय: सबैजसो किशोरीले महिनावारी हुँदा धेरथोर पीडाको अनुभव गरेकै हुुन्छन् । आधाजसो महिलाले त बेस्सरी नै पेट दुखेको गुनासो गर्छन् । महिनावारीको यस्तो पेट दुखाइलाई dysmenorrhea भनिन्छ । यस्तो किसिमको पीडा तल्लोपेट, pelvic area कम्मर, ढाडको तल्लो भाग वा तिघ्रातिर समेत सर्न सक्छ । महिनावारीमा तल्लो पेट दुख्दा सामान्य दैनिक जीवन नै खलबलिन सक्छ ।
महिनावारी हुँदा रगत बाहिर पठाउन पाठेघरमा छिन–छिनमा संकुचन आउँछ र पीडा अनुभव हुन्छ । किशोरावस्थामा पाठेघरको मुख केही खुले पनि तुलनात्मक रूपमा सानै हुने भएकाले वयस्क अवस्थाको भन्दा बढी दुख्छ । समय बित्दै गएपछि वा शिशु जन्माइसकेपछि पाठेघरको मुख पर्याप्त मात्रामा ठूलो हुने भएकाले त्यति धेरै पीडा महसुस हुँदैन । महिनावारी हुँदा रगत निस्कने क्रममा पाठेघरको भित्री परत तुहिने क्रममा prostaglandin भनिने रसायन निस्कन्छ, जसले रक्तनसामा संकुचन ल्याउँछ र पाठेघरलाई आवश्यक रक्तप्रवाहमा कमी आई अक्सिजनको मात्रामा कमी आउँछ । यो प्रक्रियाले पनि पीडा दिन्छ । यी दुवै प्रक्रिया महिनावारी चक्रकै अन्तरङ्ग प्रक्रिया भएकाले यसलाई प्राकृतिक नै मानिन्छ । यस्तो स्थितिलाई Primary Dysmenorrhea भनिन्छ ।
तपार्इंले आफ्नो महिनावारी चक्रका बारेमा केही लेख्नुभएको छैन । स्वस्थ महिलामा यस्तै ३ देखि ५ दिनसम्म योनिबाट रगत आउने र २८–३० दिनको चक्रीय रूपमा अर्को महिनावारी हुन्छ भन्ने कुरा त तपाईंलाई थाहै होला । यस्तो चक्र केही चाँडोमा २१ दिनदेखि बढीमा ३५ दिन सम्म हुनुलाई सामान्य नै मानिन्छ । तपाईंले पनि अनुभव गर्नुभएकै होला, पहिलो पटक महिनावारी भएपछि केही समयसम्म यो नियमित नहुन सक्छ । त्यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन्, जस्तो कि पेट फुलेजस्तो हुने, चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन, प्यास लाग्ने, खानपिनसम्बन्धी रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निने जस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई Premenstrual Tension Syndrome भनिन्छ ।
किशोरावस्थामा तल्लो पेटको पीडा कम गर्न के गर्ने ?
पीडा भैरहेका बेला आरामको आवश्यकता पर्छ, त्यसैले थप आराम गर्ने अर्थात् सुत्ने प्रयास नै गर्नुभए हुन्छ, तर पेट नदुखेका बेला भरसक अरूझैं दैनिक घरेलु कार्य वा अध्ययनमा व्यस्त रहनुपर्छ । व्यक्तिगत सरसफाइ तथा कब्जियत हुन नदिन विशेष ध्यान पुर्याउनुपर्छ । नुनको सेवन कम गर्दा शरीरमा जम्मा हुने पानी कम हुने भएकाले पनि केही सजिलो हुने कुरा बताइन्छ ।
पीडा कम गर्न तातो वस्तु जस्तै : hot water bottle वा बाक्लो कपडा तताएर सेक्न सकिन्छ । तातो पानीले नुहाउँदा पनि पीडा कम गर्न मद्दत मिल्छ । कुनै तातो पेय पिउन सकिन्छ वा वा पेटमा हल्का मालिस गर्दा पनि पीडा कम गर्न सकिन्छ । महिनावारी भएका बेला कसरत वा व्यायामले पनि पीडा कम गर्न सकिन्छ । औषधीको सेवन गरेर पनि यस्तो पीडा कम गर्न सकिन्छ ।
अति नै दुखेको स्थितिमा घरेलु उपाय वा सिटामोलजस्ता औषधीको सेवन पर्याप्त नहुन सक्छ । त्यस्तो अवस्थामा चिकित्सकको सहयोग लिनु आवश्यक हुन्छ । आवश्यकता हेरी चिकित्सकले केही कडा किसिमका औषधी, पिसाब लगाउने औषधी वा हार्मोन भएका औषधी दिन सक्छन् । पाठेघरको मुखलाई ठूलो पारेर गरिने उपचार किशोरीहरूमा प्रयोग गरिंदैन । कतिपय महिलामा गर्भधारण गरेर सामान्य रुपमा (योनिमार्गबाट नै) सन्तान जन्माउँदा यो समस्या पूर्ण रुपमा समाधान भएको पाइएको छ ।
के शिशु जन्माउन सकिँदैन ?
किशोरीहरूमा पेट दुख्ने प्रमुख कारण Primary Dysmenorhea हुन्छ । यस किसिमको स्थितिमा शिशु जन्माउन सक्ने अर्थात् भनौं प्रजनन क्षमतामा कुनै नकारात्मक असर पर्दैन ।
किशोरावस्थामा विरलै मात्र हुने भए पनि पाठेघर वा त्यसवरिपरिका अङ्गमा कुनै रोग वा विकार भएको अवस्थामा तल्लो पेट दुख्नुलाई Secondary Dysmenorrhea भनिन्छ । पाठेघरको टयुमर, पाठेघर तथा वरिपरिको अङ्गको सक्रमण एवं इन्डोमेट्रियोसिसजस्ता स्थिति पीडाका कारण हुन सक्छन् । यस्तो स्थितीमा भने प्रजनन क्षमतामा नकारात्मक असर पर्न सक्छ । त्यसैले तपाईंले उल्लेख गर्नुभएजस्तो जेठाबाठाहरूले भनेको कुरामा पूरै सत्यता नभए पनि केही हदसम्म सत्यता छ ।
समाधानका लागि तपाईंको पीडाको प्रमुख कारण निक्र्यौल गर्नुपर्छ । यसका लागि तपाईंले स्त्रीरोग विशेषज्ञको सहायता लिनुपर्ने हुन्छ । स्त्रीरोग विशेषज्ञको सल्लाहमा विभिन्न किसिमको परीक्षण गराउनुपर्ने हुन सक्छ । कुनै खराबी नभए अनावश्यक रूपमा चिन्ता लिनु पर्दैन । केही खराबी देखिएको स्थितिमा
भने खराबीअनुसार उपचार गराउनुपर्ने हुन्छ । यसका लागि तपाईंलाई स्त्रीरोग विशेषज्ञले नै सहयोग गर्नुहुनेछ ।