साप्ताहिक संवाददाता
आगामी ४ माघमा देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘गरुड पुराण’मा अभिनेता कर्मा शाक्यलाई २ फरक भूमिकामा देख्न पाईने भएको छ । उनले यो चलचित्रमा तन्नेरी र प्रौढको भूमिका एकसाथ निर्वाहा गरेका छन् । अभिनेताका रुपमा युवा भूमिका निर्वाह गरेका कर्मा प्रौढ भूमिकामा पनि देखा पर्ने निर्माण पक्षले जनाएको छ । कर्माले निर्वाहा गरेका दुबै भूमिकाका फरक फरक तस्बिर सार्वजनिक भएका छन् ।
निर्देशक सुवास कोइरालाका अनुसार गरुड पुराणमा कर्मा २५ वर्षिय तन्नेरी भूमिकामा छन् । यो भूमिका अनुसार उनी प्रेमीको भूमिकामा छन् । यिनै कर्माले यो चलचित्रमा ६० वर्षको भूमिका पनि निर्वाह गरेका छन् । तर यो प्रौढ भूमिकाको बारेमा उनले खुलासा गरेका छैनन् । निर्देशक कोईरालाले यसबारे प्रकाश पारेका हुन् । सिनेमामा यो भूमिका निर्वाह गर्न उनलाई निकै गाह्रो परेको थियो । तर दुबै भूमिकामा न्याय गरेको सुवासले बताएका छन् ।
कर्माको दोहोरो भूमिकाका बारे कोईरालाले भने,‘उनको युवा भूमिका मुख्य हो भने प्रौढ भूमिका सहायक हो । तर युवा भूमिका निर्वाह गर्न जती सजिलो थियो प्रौढ भूमिका त्यत्तिकै चुनौतीपूण भए पनि दुबै भूमिकालाई कर्माले सफल बनाएका छन् । ’
सुवास कोईरालाले निर्देशन गरेको गरुड पुरुण हास्य प्रधान चलचित्र हो । चलचित्रमा कर्मासँगै नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियंका सिंह, कमल देवकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।
आकाश बराल, बिनोद खतिवडा र सुवासले लेखेको यो चलचित्रको कथा कसम नेपालले तयार गरेका हुन् । चलचित्रमा अजित प्रजापति र अशोक गौतमको लगानी रहेको छ । यो चलचित्रमा सुसन प्रजापतिको छायांकन, कोसिस क्षेत्रीको संगीत, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।