साप्ताहिक संवाददाता
नेपालका हरेकजसो सहरमा कोइलामा पोलेको मासु (सेकुवा) बेचिएको पाइन्छ । होटलहरूको बाहिर नै खुला ठाउँमा मगमग बासना आउने गरी पोलिएका यस्ता सेकुवा खान मासु पारखीहरूको भीड लागेको देखिन्छ । यद्यपि यसरी तयार पारिएको मासुको सेवनले धेरै किसिमका सरुवा रोगदेखि प्राणघातक क्यान्सरसम्म लाग्ने सम्भावना भएको चिकित्सकहरू दाबी गर्छन् ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. राजेन्द्र बराल कोइलामा पोलिएको मासुमा हुने रियाक्सनबाट उत्पन्न हुने तत्वले पाचन प्रक्रियासम्बन्धी क्यान्सरको जोखिम बढाउने कुरा बताउँछन् । ‘आगोले डढाएको मासुमा क्यान्सर लगाउने तत्वहरू हुन्छन् ।’ बराल भन्छन् ‘भरिसक्के यस्तो मासु नखानु नै बेस हुन्छ, यदि सकिँदैन भने सेतो (कुखुरा वा माछा) को सेकुवा खान सकिन्छ । रातो मासु (चौपायाको) नै खाने भए उसिनेर मात्र खानु उपयुक्त हुन्छ ।’
त्यसो त यसरी पोलीने मासुको गुणस्तर पनि विश्वसनीय हुँदैन । राम्रोसँग नपाकेको मासु सेवन गर्दा फुड प्वाइजनदेखि लिएर कतिपय सरुवा रोगको सिकार हुनुपर्ने डा. शेरबहादुर पुन बताउँछन् । ‘नपाकेको मासु शरीरले पचाउन गाह्रो हुन्छ र फुड प्वाइजनको सम्भावना हुन्छ ।’ डा. पुन भन्छन्– राम्रोसँग नपाक्दा पशुमा भएका रोगका किटाणु मानिसको शरीरमा सोझै सर्न सक्छन् । पोलेको मासुमा धूवाँ पनि हुने हँुदा त्यसले शरीरका भित्री अंगमा असर गर्ने सम्भावना पनि त्यति नै हुने उनको भनाइ छ ।
काठमाडौं जस्तो धूवाँ–धूलोयुक्त सहरमा बाहिर खुला ठाउँमा राखेर बनाइने सेकुवामा फोहोर तथा माटो र दूषित जीवाणुको संक्रमणको पनि त्यति नै सम्भावना हुन्छ । यस्तो सेकुवा खाएको केही घण्टामै पेट गडबड हुने, आउँ पर्ने, झाडाबान्ता आउने जस्ता समस्या देखा पर्ने वीर अस्पताल आकस्मिक कक्षका प्रमुख डा. केदार सेन्चुरी बताउँछन् ।
चर्चित सेकुवाघर
बाजेको सेकुवा, काठमाडौंका विभिन्न ठाउँ
नरेको सेकुवा, मीनभवन
पुष्कर सेकुवा, पुतलीसडक
धराने सेकुवा, अनामनगर
याङ्गतारु सेकुवा, कपन
किशोर कुमारको सेकुवा, सिनामंगल
नखीपोटको सेकुवा, नखिपोट
टाउन टप लामा सेकुवा, सिनामंगल
भेटघाट सेकुवा, अनामनगर
मनकामना सेकुवा, पुरानो बानेश्वर
माइकल बाजेको सेकुवा कर्नर, शंखमूल
नोर्बुको सेकुवा, गणेशस्थान
तास एन्ड सेकुवा महल, टेकु
द थकाली भान्सा एन्ड सेकुवा क्याफे
नयाँ बानेश्वर