साप्ताहिक संवाददाता
निर्देशक टर्न अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का आज शुक्रबारबाट रिलिज भएको चलचित्र ‘घामड शेरे’ मार्फत एक साथ पर्दामा देखिएका छन् । सम्बन्धमा श्रीमान श्रीमती यो जोडी यसअघि चलचित्र ‘दुई रुपैंया’को गीत ‘कुटुमा कुटु’मा मात्र सँगै देखिएका थिए । हेमराज विसीको निर्देशनमा बनेको यो चलचित्रमा निश्चल र स्वस्तिमा साली भेनाको चरित्रमा छन् ।
डेब्यू चलचित्र ‘होस्टेल’बाटनै आफ्ना चलचित्रमा सहरीया कथा पस्कँदै आएका निर्देशक हेमराज चलचित्र ‘घामड शेरे’मा ग्रामीण परिवेशलाई प्रस्तुत गर्दैछन् । ‘वर्षौ विदेशमा कमाएको पैसाले गाउँमै खेतीपाती गर्ने योजना बोकेर गाउँ फर्किएको एक युवकको जीवनमा आउने उतारचढावलाई चलचित्रमा देखाएका छौं’, हमराज भन्छन्, ‘चलचित्रमा निश्चलले घामड चरित्र निभाएका छन् । जो जिद्धि, एकसुरे, अरुले भनेको नसुन्ने र नटेर्ने शैलीको हुन्छ । उसको काम नै घामड किसिमको हुन्छ ।’
निर्देशक बिसीले चलचित्र छायांकन भएको स्थान सुर्खेतमा एक व्यक्तिले आफूले किनेको खेत खोलालाई बगाएपछि खोलालाई नै मुद्धा हालेको कथा सुनेकोले त्यही कथाबाट प्रेरित रहेर चलचित्र बनाएको खुलाए । ‘यो घटना सही हो या गलत के हो भन्ने थाहा छैन । तर सुर्खेतमा यो कथा अहिले पनि चर्चित छ’, हेमराजको दाबी छ, ‘चलचित्रको कथाको माग अनुसार नै निश्चल र स्वस्तिमालाई अनुबन्धित गरेका हौं । चलचित्रको स्क्रिप्ट पढेपछि स्वस्तिमाले आफ्नो स्थानमा अर्को अभिनेत्री राख्न सिफारिस पनि गरिन् । तर मैले सालीको चरित्रमा स्वस्तिमा बाहेक अन्य कोही देखिनँ ।’
अभिनेता निश्चल अभिनेत्री स्वस्तिमासँग काम गर्दा शुरुमा केही अप्ठ्यारो भए पनि विस्तारै सहज हुँदै गएको बताउँछन् । ‘यो प्रस्ताव हेमराजले ल्याउँदा मलाई अनौठो लागेको थियो । स्वस्तिमाले मान्ने हो या होइन भन्ने डर लागेको थियो । चलचित्रमा हामी साली भेनाको चरित्रमा छौं । सासु ज्वाईको चरित्रमा भएको भए पक्कै गाह्रो हुन्थ्यो’, निश्चल भन्छन्, ‘चलचित्रको कुरा गर्दा प्रेमकथाको चलचित्र होला भन्न लागेको थियो । त एक्कासी स्क्रिप्ट सुनाएपछि म झसंग भए । मैले सोचेको भन्दा अर्कै चरित्रमा काम गर्नुपर्ने अवस्था आयो । हुन त यो चरित्र केही हदसम्म ममा पनि मिल्छ ।’
अभिनेत्री स्वस्तिमा चलचित्रमा गाउँमा अंग्रेजी पढाउने छुच्ची र केही बोल्ड चरित्रमा छिन् । ‘मैले यो चरित्र अन्य अभिनेत्रीले नै गर्न सक्छ भनेर उसको नाम सिफारिस गरेको थिएँ । तर निर्देशकले मलाई नै उपयुक्त पात्र ठान्नुभयो । चलचित्रमा निश्चल पनि छ भन्ने सुन्दा चलचित्रमा काम गर्दा रमाइलो हुन्छ कि जस्तो लागेको थियो । तर यसलाई दर्शकले स्वीकार्लान् या नस्वीकार्लान् भन्ने डर पनि थियो’, स्वस्तिमा भन्छिन्, ‘आफ्नो बुढाको साली बनेर अभिनय गर्दा असहज भएन ।’
चलचित्रमा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारको अभिनय छ ।