साप्ताहिक संवाददाता
सामाजिक संजालमा भिडियो स्ट्रिमिङ साइटका रूपमा युट्युबको अलग्गै किसिमको क्रेज छ । आफूलाई सेलिब्रेटी बनाउन र राम्रै आम्दानी गर्न सकिने यो प्लेटफर्ममा आउन अहिले जो कोही चाहिरहेका छन् ।
लन्डनस्थित एक कार्यालयमा प्रशासनिक क्षेत्रमा कार्यरत कार्ना रोवलीलाई युट्युबको क्रेजले यति तानेको छ कि उनले आफूले गरिरहेको राम्रो जागिर नै त्यागेर युट्युबमा करिअर थालिन् । खानाकी सौखिन कार्नाले युट्युबमा एकै स्थानमा बसेर धेरै भन्दा धेरै क्यालोरी भएको खाना खाने कार्यक्रम चलाउने निधो गरेकी छिन् । उनले म्याकडोनाल, ग्रिग्स, पिज्जा हट, चाइनिज टेकवे आदिका बढी क्यालोरी हुने खानेकुरा खाएर भिडियो तयार गर्छिन् । उनी एक बसाइमा न्यूनतम पनि ५५ हजार क्यालोरी खान्छिन् ।
यसरी एकै स्थानमा बसेर धेरै क्यालोरी भएको खाना खादै भिडियो बनाउने चलन दक्षिण कोरियाबाट प्रारम्भ भएको हो । स्थानीय भाषामा यसलाई माकब्याङ भनिन्छ । यसरी भिडियो बनाउँदा दर्शकका अगाडि सेलिब्रेटी त भइएला तर त्यसले स्वास्थ्यमा पुर्याउने समस्याका बारेमा भने यी प्रस्तोताहरू अनभिज्ञ नै छन् ।