साप्ताहिक संवाददाता
आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन् । यस्तै एउटा घटना ललितपुरमा भएको छ । आमा मृत्यु भएको बहाना बनाएर लकडाउनको पास लिई गाडीमा यात्रु ओसारेको फेला परेको छ ।
लकडाउनको समयमा झुठो विवरण पेश गरी सवारी पास बनाएर प्रयोग गरेको पाइएपछि ललितपुरबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा घर भई ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारायण चौधरी, सोही नगरपालिका घर भएका ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र सोही नगरपालिका–५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।
शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकाले काजक्रिया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो विवरण पेश गरी सवारी पास लिएको खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले बसको पास लिएर ३० जना यात्रु बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।