न्यायतिर निमा
प्यूठानको दुर्गम गाउँमा जन्मिएकी निमा गिरीले वकालत सपना पनि सोचेकी थिइनन् । पढेर राम्रो जागिर खानुपर्छ भन्ने सोच थियो । त्यसैले वित्तीय संस्था उनको लक्ष्य थियो । त्यसैलाई मध्यनजर गरेर फाइनान्समा मास्टर्स गरिन् । पढाइ सकेर जब गाउँ गइन्, उनको जीवनले नयाँ मोड लियो चिनजानकी एक महिलाले सम्बन्ध बिच्छेदका लागि गरेको संघर्ष र त्यसबेला कतैबाट सहयोग नपाएको देखेपछि उनको ध्यान कानुनतिर मोडियो ।
उनको कानुन अध्ययनको एउटै उद्देश्य हो– न्याय नपाएका महिलालाई न्याय दिलाउनु र भुइँमान्छेको आवाज उठाउनु । ६ वर्षअघि लाइसेन्स लिएर वकालत थालेकी फौजदारी मुद्दाहरू लड्छिन् । आर्थिक अभावका कारण अदालतको ढोकासम्म पुग्न नपाएका मुद्दामा उनको ध्यान जान्छ । त्यस्ता मुद्दामा उनी बिना शुल्क काम गर्छिन् ।
निमा न्यायिक समितिको सूचीकृत प्रशिक्षक पनि हुन् । गाउँपालिकाका उपाध्यक्ष र उपमेयरलाई न्यायिक कक्षा दिन विभिन्न ठाउँ पुग्छिन् । उनको सोच छ– कोही न्यायबाट वञ्चित नहुन् । न्याय ढिलो हुनु न्याय नपाउनु सरह हो भन्ने मान्यता राख्ने उनी भन्छिन्, ‘अदालती प्रक्रिया झन्झटिलो र ढिलो हुँदा आरोपित व्यक्तिलाई समाजले दोषी ठानिसक्छ । त्यसैले अदालती प्रक्रियालाई छिटो र दुरुस्त बनाउनुपर्छ ।’
महिला हिंसा र भेदभावका घटनाकाविरुद्ध सक्रिय उनी अधिकारकर्मी पनि हुन् । ४ वर्षअघि ‘नेपालको महिला आन्दोलन’ पुस्तक प्रकाशित गरेकी उनी लेखनमा पनि उत्तिकै सक्रिय छिन् । उनको अनुभवले भन्छ, ‘पढेरभन्दा परेर बढी सक्षम भइन्छ । सक्षम व्यक्तिले वकालत गर्नुपर्छ । कमजोर भइयो भने न्याय दिन सकिदैन ।’
कानून दिवसको अवसर पारेर निमालाई साप्ताहिकले मध्यपृष्ठमा प्रस्तुत गरेको छ ।
सिर्जना दुवाल श्रेष्ठ

निमा गिरीका थप तस्बिरहरु

थप ब्लोअप