साप्ताहिक संवाददाता
नरेन्द्र भाट लामो समयदेखि कतारलाई कर्मथलो बनाइरहेका अनुभवी व्यक्ति हुन् । उनी एनआरएन कतारको कार्य समिति सदस्य हुँदै महासचिव (२००६–२००९), अध्यक्ष (२००९–२०११), क्षेत्रीय संयोजक (२०११–२०१३), आइसिसी सल्लाहकार (२०१३–२०१५) तथा हाल आइसिसी मानार्थ सदस्य छन् ।
तपाईं कतार बसेको कति भयो ?
१७ वर्ष भयो ।
कुन सिलसिलामा पुग्नुभएको थियो ?
सुरुमा घुम्न भनेर गएँ । पाँच–छ महिनापछि साथीले व्यापार गरौं भनेपछि व्यापारमा हात हालियो । निर्माणका कामहरूमा लागियो । हामीले सडक, भवन आदि संरचना बनाउने कम्पनि सुरु गर्यौं ।
कतारको अनुभव कस्तो रह्यो ?
कतार अरू देशभन्दा भिन्न छ । फरक संस्कृति छ । शान्ति–सुरक्षा राम्रो छ । हामी विदेशमा बस्नेहरूले जन्मभूमिजत्तिकै अनुभूति गर्न नपाए पनि त्यति बिरानो पनि लाग्दैन । ३५ वर्षअघिदेखि नेपालीहरूले कतारलाई आफ्नो कर्मथलो बनाइरहेका छन् । नेपालमा रोजगारीको अवसर नपाएको हुनाले बाध्य भएर कतार जानुपरेको हो । कतार र नेपालबीच राम्रो सम्बन्ध छ । वैदेशिक रोजगारीमा भएका कमी–कमजोरीहरू सुधारिनेछन् भन्ने सम्झौता भएका छन् । यहाँ सबैले कानुनको अनुभुति गर्न पाउँछन् ।
कतारमा रोजगारीका लागि के–कस्ता सम्भावना के–के छन् ?
सर्भिस तथा हस्पिटालिटीको क्षेत्रमा नयाँ–नयाँ सम्भावनाहरू छन् ।
कतारमा नेपालीहरू कुन–कुन पेसामा छन् ?
कतारमा इन्जिनियर ४ सय, एकाउन्टेन्ट २ हजार, सुपरमार्केट सेल्स एक्जिक्युटिभमा १ हजार ५ सय, कतार एयरवेजमा १ हजार ५ सय तथा सेक्युरिटी डिपार्टमेन्टमा १ हजारजति नेपाली छन् । त्यस्तै डाक्टर, होटलमा म्यानेजर, कुक तथा सेफहरू पनि राम्रै संख्यामा छन् ।
कतारबाट नेपालमा कति रेमिट्यान्स भित्रिन्छ ?
नेपाल भित्रिने रेमिट्यान्सको ३० प्रतिशतको हाराहारीमा खाडी राष्ट्रको योगदान हुन्छ जहाँ ४ देखि साढे ४ लाख नेपाली छन् । रेमिट्यान्समा योगदान दिने मुलुकमध्ये कतार पनि प्रमुख मुलुक हो ।
कतारले नेपालमा लगानी गर्ने तयारी गरिरहेको छ कि ?
आउने मार्चमा नेपालमा एउटा सेमिनार हुँदैछ । कतारमा हाम्रा राजदूतले लगानीकर्ताहरूलाई नेपाल निम्त्याउने प्रयास गरिरहनुभएको छ । लगानी भित्र्याउन दूतावास तथा व्यवसायीहरूले आ–आफ्नो तर्फबाट प्रयास गरिरहेका छन् । हाइड्रो, एयरपोर्टका साथै पर्यटकीय क्षेत्रमा लगानी गर्ने कुरा भैरहेको छ ।